ताजा अपडेट »

नौ महिनामा सरकारको खर्च ७ खर्ब ९४ अर्ब, पुँजीगत खर्च हुन सकेन

बुधबार, २८ बैशाख २०७९, १६ : ५२
4 Shares

काठमाडौं ।  सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा कुल ७ खर्ब ९४ करोड २६ करोड रुपैयाँ खर्च गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सरकारले २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा उक्त खर्च गरेको हो । 

यस अवधिमा चालु खर्चतर्फ ६ खर्ब २५ अर्ब ५० करोड रुपैयाँ, पुँजीगत खर्चतर्फ १ खर्ब ३ अर्ब ७९ करोड रुपैयाँ र वित्तीय व्यवस्था अन्तर्गतको खर्चतर्फ ६४ अर्ब ९७ करोड रुपैयाँ खर्च भएको राष्ट्र बैंकले जनाएको छ । 

चैतसम्ममा संघीय सरकारको कुल राजस्व ७ खर्ब ८९ अर्ब २६ करोड रुपैयाँ परिचालन भएको छ । यसमध्ये कर राजस्व तर्फ ७ खर्ब २७ अर्ब ७९ करोड रुपैयाँ र गैर कर राजस्व तर्फ ६१ अर्ब ४७ करोड रुपैयाँ परिचालन भएको छ । 

चैतसम्ममा संघीय सरकारले ट्रेजरी विलमार्फत ५० अर्ब रुपैयाँ, विकास ऋणपत्रमार्फत ५४ अर्ब ५० करोड रुपैयाँ र नागरिक बचतपत्रमार्फत ९७ करोड  रुपैयाँ गरी कुल १ खर्ब ५ अर्ब ४७ करोड रुपैयाँ आन्तरिक ऋण परिचालन गरेको छ । 

२०७८ चैत मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा ३ खर्ब ३३ अर्ब ८ करोड रुपैयाँ नगद मौज्दात रहेको छ । २०७८ असार मसान्तमा यस्तो मौज्दात २ खर्ब १८ करोड रुपैयाँ रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।