ताजा अपडेट »

चुनाव प्रचार–प्रसारको अवधि सकियो, ३० गते शुक्रबार मतदान

मंगलबार, २७ बैशाख २०७९, २१ : १७
4 Shares


भैरहवा । स्थानीय तहको निर्वाचनका लागि मंगलबार राति १२ बजेपछि मौन अवधि लागू गरिएको छ । यससँगै झण्डै एक महिनादेखि भइरहेको प्रचार–प्रसारको अन्त्य भएको छ ।

निर्वाचन आयोगले नगरपालिकाका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यको निर्वाचनका लागि मतदान शुरु हुनुअघि ४८ घण्टा मौन अवधि तोकेको छ । मतदान सम्पन्न नभएसम्म मौन अवधि जारी रहनेछ ।

निर्वाचन धाँधली रहित, स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको छ । आयोगको आचारसंहिताले मौन अवधिमा दल, यसका आबद्ध, उम्मेदवार, संघ संस्था र अन्यलाई राजनीतिक अभियान, सभा÷गोष्ठी आयोजना गर्न नपाइने उल्लेख गरेको छ । मौन अवधिमा, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्षमा वा विपक्षमा सन्देश, सूचना वा प्रचार सामग्री पोस्ट गर्न वा साझेदारी गर्न अनुमति छैन ।

आगामी बैशाख ३० गते नेपालमा ६ महानगर पालिका, ११ उपमहानगर पालिका, २ सय ७६ नगरपालिका र ४ सय ६० वटा गाउँपालिकामा एक साथ मतदान हुदैछ । नयाँ संविधान जारी भएपछिको यो दोस्रो स्थानीय तहको निर्वाचन हो । महिला ८७ लाख ४१ हजार ५ सय ३०, पुरुष ८९ लाख ९२ हजार १० र अन्य १ सय ८३ गरी कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता रहेका छन् ।
रुपन्देही जिल्लामा ३ लाख ८ हजार ५ सय ७४ महिला, ३ लाख २३ हजार ७ सय ७८ जना पुरुष ८ जना अन्य गरि कुल ६ लाख ३२ हजार ३ सय ६० जना मतदाता रहेका छन् ।

राति १२ बजेदेखि सीमा सील : तिवारी
नेपालको स्थानीय निर्वाचनलाई ध्यानमा राख्दै मंगलबार राति १२ बजेदेखि सीमा नाका सिल गरिदैे छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार ७२ घण्टा अत्यावश्यक वस्तु बाहेक अन्य कुनै पनि आवतजावतमा रोक लगाइएको छ । दुई दिनसम्म औषधि, पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तु नेपाल आउन दिइने भएको छ । बाँकी मालवाहक ट्रक र अन्य ट्रकलाई नेपाल प्रवेशमा पूर्ण रोक लगाइनेछ । दमकल, एम्बुलेन्स लगायत बिना अवरोध आउ जाउ गर्न सक्नेछन् ।

तीन घेराको सुरक्षा ब्यवस्था : रेग्मी
रुपन्देहीमा मतदानलाई सफल एवम सुरक्षित बनाउन सुरक्षा घेरालाई ३ तहमा परिचालन गरिएको रुपन्देहीका प्रहरी उपरिक्षक रेविन्द्र रेग्मीले जानकारी दिएका छन् । जिल्लामा सुरक्षित तरिकाले मतदान गराउन म्यादी प्रहरी सहित ३ हजार ८ सय प्रहरी भित्रि सुरक्षामा रहने छन् । यसै गरि मतदान स्थलको बाहिरी सुरक्षामा शसस्त्र प्रहरी र त्यस पछि नेपाली सेना खटिने छ ।

यस बाहेक प्रहरी अधिकृत सहितको नेपाल प्रहरीको गश्ती टोली, शसस्त्र प्रहरीको गस्ती र नेपाली सेनाले पनि गस्ती मार्फत सुरक्षा दिनेछन् । “मतदाताहरुलाई भयरहित, निष्पक्ष, शान्तीपूर्ण तरिकाले अहिले चुनाव हुन्छ ।” एसपी रेग्मीले भने “ ढुक्क संग मतदान गर्न जानुस, केही असुविधा भए प्रहरी कन्ट्रोल १०० वा मेरो निजि नम्बर ९८५७०७५५५५ मा सोझै सम्पर्क गर्नुस ।”

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।