ताजा अपडेट »

प्रदेश ५ : पाँच महिनामा पाँच प्रतिशत बजेट खर्च

विहीबार, १९ पुस २०७५, १५ : १९
4 Shares

हरिश ढकाल
बुटवल । प्रदेश नम्बर पाँचमा चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा पूँजीगत तर्फ करिब पाँच प्रतिशत मात्र बजेट खर्च भएको छ । कृषि, पर्यटन, उद्योग र ब्यापारलाई समृद्धिको मूूल लक्ष बनाएको प्रदेश सरकारले कुल विकास बजेटको पाँच प्रतिशत मात्र खर्च गरेको छ ।
प्रदेशको पूँजीगत खर्चतर्फ कुल बिजियोजित बजेटमध्ये मंसिर मसान्तसम्म ७ करोड ६६ लाख रुपैयाँ मात्र खर्च भएको छ । समिक्षा अवधीमा बिनियोजित बजेटको करिब ५ प्रतिशत मात्र खर्च भएको प्रादेशिक लेखा नियन्त्रक कार्यालय बुटवलले जनाएको छ । त्यसमा पनि कार्यालय ब्यवस्थापन, तलव, भत्ता, फर्निचर खरिद लगाएतका बिषयमा मात्र बढी खर्च भएको प्रदेश लेखा नियन्त्रक दिपक ज्ञवालीले बताए ।


आर्थिक बर्ष २०७५/०७६ का लागि कुल २८ अर्ब ९ करोडको बजेट प्रक्षेपण गरेको प्रदेश सरकारले बिनियोजन गरेको बजेटमध्ये चालुतर्फ भने करिब १८ प्रतिशत खर्च गरेको छ । कुल बजेटमध्ये चालुतर्फ करिब ८७ करोड ६५ लाख रुपैयाँ खर्च भएको छ । प्रदेश सरकारका अनुसार बजेटमा चालुतर्फ करिब ५ अर्ब ३० करोड र पूँजीगततर्फ झण्डै १८ अर्ब बिनियोजन गरिएको थियो ।
चालु आवका लागि प्रदेश ब्यवस्थापिका, संसद सचिवालयका लागि १६ करोड ४४ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको थियो भने मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयकालागि २१ करोड ४५ लाख १२ हजार रुपैयाँ बजेट बिनियोजन गरिएको थियो । यस्तै सबै भन्दा धेरै आर्थिक मामिला तथा योजना मन्त्रालयका लागि १ अर्ब ५८ करोड ५ लाख ५० हजार रकम बिनियोजन गरिएको थियो भने आन्तरिक मामिला तथा कानूून मन्त्रालयका लागि २१ करोड ९७ लाख ३४ हजार रकम बिनियोजन गरिएको थियो ।


अर्थमन्त्रीको समेत कार्यभार सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले संसद्मा प्रस्तुत गरेको बजेटमा उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका लागि कुल १ अर्ब ११ करोड ६५ लाख ९८ हजार रकम बिनियोजन गरिएको छ भने भुमी ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालय ३१ करोड ८० लाख ५१ हजार ३ सय रुपैयाँ बिनियोजन गरिएको उक्त कार्यालयले जनाएको छ । यस्तै भौतिक पूूर्वाधार विकास मन्त्रालयतर्फ ३९ करोड ८ लाख ८५ हजार रकम रकम छुट्टाइएको छ भने सामाजिक विकास मन्त्रालयतर्फ कुल बजेट १ अर्ब २७ करोड ४३ लाख ५० हजार रुपयाँ बिनियोजन गरिएको प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख दिपक ज्ञवालीले बताए ।


जिल्लागत रुपमा सबैभन्दा बढि बजेट रुपन्देही जिल्लामा चालुतर्फ ३ अर्ब ८२ करोड ४६ लाख ६० हजार ४ सय १३ रुपैयाँ रकम बिनियोजन गरिएकोमा ६० करोड ५६ लाख ९१ हजार ५ सय १० रुपैयाँ खर्च भएको छ । यस्तै पूूँजीगततर्फ करिब १ अर्ब बजेट बिनियोजन गरिएकोमा मंसिर मसान्तसम्म पाँच महिनाको अवधीमा करिब ७ करोड मात्र खर्च गरिएको छ । यस्तै सबैभन्दा कम बजेट बर्दियामा पूँजीगत तर्फ ३८ लाख ५७ हजार बजेट बिनियोजन गरिएकोमा १ लाख ५० हजार मात्र खर्च भएको प्रमुख ज्ञवालीले जानकारी दिएका छन् ।


प्रदेशका दुर्गम पहाडी जिल्लाहरु रोल्पा र गुल्मी जिल्लाका लागि समान रकम ४१ लाख २८ हजार पुँजीगत बजेट बिनियोजन गरिएकोमा दुबै जिल्लामा समिक्षा अवधीमा बजेट खर्च सुन्य देखिएको छ । यसरी झण्डै आधा आर्थिक वर्ष बितिसक्न लाग्दा पनि बजेट खर्च अत्यन्तै न्यून हुनु निराशाजनक रहेको आर्थिक क्षेत्रका विज्ञहरुको धारणा छ । पाँच महिनासम्म पाँच प्रतिशत पनि विकास बजेट भनेर चिनिने पूूँजीगत खर्च हुन नसक्नु समृद्धिका लागि घातक भएको उनिहरुको धारणा छ ।


बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक डा. बाबुराम ज्ञवालीका अनुसार सरकारले जुन उत्साहका साथ बजेट ल्यायो त्यो अनुसार पूँजीगत खर्च गर्न नसक्नु समुन्नत अर्थतन्त्रका लागि साह्रै घातक हो । ज्ञवाली भन्छन्‘पुँजगित बजेट खर्च हुनु भनेको बिकासले गति लिनु हो, समृद्धिको मार्ग प्रसस्त गर्नु हो तर पाँच महिनासम्म पाँच प्रतिशत पनि बजेट खर्च नहुनु दुर्भाग्य हो ।’-बुद्धभूमिबाट

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।