ताजा अपडेट »

निर्वाचनमा खटिने प्रहरीलाई हतियारदेखि सञ्चार सेटसम्म अभाव, भत्तासमेत काटियो

मंगलबार, २७ बैशाख २०७९, १६ : ५६

काठमाडौं । स्थानीय तह निर्वाचनमा नेपाल प्रहरी अभावै अभावकाबीच खटिएको छ । २०७४ सालको निर्वाचनमा सात दिन बराबरको भत्ता पाएको नेपाल प्रहरी अहिलेको निर्वाचनमा त्यो पनि कटौती भएको छ ।आर्थिक मन्दिका कारण सरकारले सुरक्षा निकायलाई दिइँदै आएको निर्वाचन सुरक्षा भत्ता कटौती गरेको हो । एकातिर भत्ता कटौतीको सामना गरिरहेको नेपाल प्रहरी अर्कोतिर हतियारदेखि सञ्चारसेटसम्मको अभावमा छ । 

निर्वाचनमा खटिँदा आवश्यक पर्ने साना हतियार नेपाल प्रहरीसँग नहुँदा नेपाली सेनाबाट मागेको छ । त्यस्तै झण्डै १५ हजार सञ्चार सेटको पनि अभाव देखिएको छ । त्यसका लागि प्रहरीले पुराना बिग्रिएका मर्मत सम्भार गरेर काम चलाएको छ । त्यस्तै व्यक्तिगत फोनको प्रयोग गरेर समेत काम चलाइरहेको छ । निर्वाचनको मिति घोषणा भएसँगै प्रहरीले हतियार र सञ्चार सेट किन्नको लागि सरकारसँग माग गरेको थियो । तर, सरकारले माग बमोजिम बजेट नदिएपछि प्रहरीले सेनासँग हतियार मागेको हो । 

नेपाल प्रहरीमा हालै एक हजार २०० जति प्रहरी वरिष्ठ नायव निरीक्षक थपिएका छन् । थपिएका प्रहरी जुनियर अधिकृतहरूका लागि हतियारको अभाव भएको प्रहरीले जनाएको छ ।  त्यस्तै प्रहरीले केही थान सञ्चार सेट पनि नेपाली सेनासँग मागेर काम चलाइरहेको छ । सरकारले यस पटक निर्वाचन सुरक्षामा खटिने सुरक्षाकर्मीलाई दिइने भत्तासमेत कटौती गरेको छ ।

२०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिएका सुरक्षा कर्मचारीहरूलाई सात दिनको भत्ता उपलब्ध गराइएको थियो । तर, अहिले त्यो कटौती गरिएको प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बताए । सीमित स्रोत साधनका बाबजुत प्रहरी निर्वाचन सुरक्षामा खटिएको छ । सवारी साधन, हातहतियार, सञ्चार उपकरण लगायतका स्रोत साधानको अभाव देखिएको हो । अभावका बाबजुत व्यवस्थापन गरेर निर्वाचन सुरक्षाको काम भइरहेको प्रहरी प्रवक्ता केसीले बताए । 

देशभर रहेका १० हजार ७५६ मतदानस्थल छन् । तीमध्ये दुई हजार ९४६ मतदान स्थल अतिसंवेदनशीलको रूपमा वर्गिकरण गरिएको प्रवक्ता केसीले बताए ।  प्रहरीले उपत्यकाबाट नाै हजार ६०० प्रहरी बाहिरी जिल्लामा खटाएको छ । स्थानीय तह निर्वाचनका लागि नेपाली सेना र सशस्त्र प्रहरीले पनि गस्ती सुरु गरेको छ । मंगलबारबाट नेपाली सेना र सशस्त्र प्रहरी हरेक मतदान केन्द्रमा खटिएका छन् । हरेक पालिकामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले मोबाइल गस्ती पनि थालेको छ ।

मंगलबारबाट गाउँपालिका, नगरपालिका र महानगरपालिकामा सुरक्षा चुनौती अनुसार सुरक्षाकर्मी परिचालन गरिएको प्रवक्ता केसीले बताए । नेपाली सेनाले पनि हरेक पालिकामै पुरेर सुरक्षा गस्ती थालेको छ । बाहिरी सुरक्षा र आपत्‌कालीन अवस्थामा सेना तैनाथ रहने गरी गृह मन्त्रालयले सुरक्षा व्यवस्था मिलाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।