ताजा अपडेट »

शुद्धोधनमा जसपाको र्याली

मंगलबार, २७ बैशाख २०७९, ११ : ३६
4 Shares

बुटवल । रुपन्देही जिल्लास्थित शुद्धोधन गाउँपालिकामा जनता समाजवादी पार्टी, नेपाल बलियो प्रतिस्पर्धी बनेको छ । पार्टीले आक्रामक शैलीमा चुनावी प्रचारप्रसार सम्पन्न गरेको छ । सोमबार हजार बढीको संख्यामा जनता उतारेर गाउँपालिकाका सबै वडाहरु परिक्रमा गरी आफ्नो पक्षमा जनमत बलियो रहेको सन्देश दिएको हो ।

संयोगवश सोमबार नेपाली काँग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँण पनि फर्साटिकर चोकमै रहेका बेला जसपाको चुनावी र्यालीले बजार परिक्रममा गरेको थियो । जसपाको शक्ति देखेर स्थानीय काँग्रेसी नेताहरुसमेत छक्कै परेका थिए । यसअघि नेपाली काँग्रेससँग चुनावी गठबन्धनको प्रयास हुँदा नेपाली काँग्रेसले गाउँपालिका उपाध्यक्ष पदमा मात्रै गठबन्धन गर्न सक्ने बताएपछि जसपा एक्लै चुनावी मैदानमा उत्रिएको हो । काँग्रेसले भने नेकपा माओवादीकेन्द्रसँग चुनावी तालमेल गरेको थियो ।

सोमबारको र्यालीलाई जसपाका केन्द्रीय सदस्य एवं शुद्धोधनका लागि चुनावी परिचालन समितिका ईन्चार्ज मनिकर कार्कीले नेतृत्व गरेका थिए । उनले र्याली पश्चातको कोणसभालाई सम्बोधन गर्दै जनता समाजवादी पार्टीको शक्तिलाई कम आँक्नेहरुलाई शुद्धोधनले जवाफ दिने बताउँदै अब नेपालको राजनीतिमा जनता समाजवादी पार्टीले दरिलो हस्तक्षेप गर्ने बताए । उनले शुद्धोधनलाई नमूना गाउँपालिका बनाउने योजना आफूहरुसँग रहेको बताउँदै शुद्धोधनको नेतृत्व जसपाले पाए शुद्धोधनलाई शिक्षा, स्वास्थ्य सेवा प्रवाहमा नमूना बनाउने र कृषि एवं उद्यमशीलतामार्फत त्यहाँको आर्थिक अवस्था उकासी शुद्धोधनलाई समृद्ध बनाउने दाबी गरे ।

कार्यक्रममा पार्टीका जिल्ला कोषाध्यक्ष श्याम चौधरी, गाउँपालिका कार्यसमितका अध्यक्ष तौलेश्वर लोध, जसपाका तर्फबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार भरथरी यादवले शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर काम गरिने बताए । कार्यक्रममा पार्टीका तर्फबाट गाउँपालिका उपाध्यक्ष पदका उम्मेदवार सुनकेशरी थारु, वडा नं। १ का अध्यक्ष पदका उम्मेदवार उदयराज गडेरिया (बाबुराम पाल), वडा नं। ४ का वडा अध्यक्ष पदका उम्मेदवार जित बहादुर घर्ती मगर, ५ का वडा अध्यक्ष पदका उम्मेदवार बिपिन कुर्मी, वडा नं। ६ का अध्यक्ष पदका उम्मेदवार जयशंकर पाठकलगायतले बोल्दै शुद्धोधनमा जसपाको ऐतिहासिक जित हुने दाबी गरे ।

सोमबारको चुनावी र्याली एवं कोणसभासहित जसपाको शुद्धोधनमा चुनावी प्रचारप्रसारको मुख्य कार्यक्रमहरु सम्पन्न भएको चुनावी परिचालन समितिका इन्चार्ज मनिकर कार्कीले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।