ताजा अपडेट »

जिम्बाब्वेमाथि नेपालको सहज जित, शृंखला १-१ को स्थितिमा

शनिबार, २४ बैशाख २०७९, १४ : ००
4 Shares


काठमाडौं ।  दोस्रो एकदिवसीय खेलमा शनिबार जिम्बाब्वे ए विरुद्ध नौ विकेटको  सहज जित निकालेसँगै नेपालले शृंखला १–१ को बराबरीमा ल्याएको छ । कीर्तिपुरस्थित टीयू  क्रिकेट मैदानमा जिम्बाब्वेले दिएको ८८ रनको झिनो लक्ष्य नेपालले ११.२ ओभरमा एक विकेट गुमाएर भेट्टायो ।

नेपालको जितमा ओपनर सुनिल धमलाले सर्वाधिक ३८ रन बनाए । सुनिलले ३८ बलमा ६ चौका प्रहार गरे । यस्तै, अविजित रहेका अर्का ओपनर आसिफ शेखले २१ बलमा ६ चौकासहित ३४ रन बनाउदा विनोद भण्डारीले तीन बलमा एक चौकासहित चार रन बनाए । 

जिम्बाब्वे ब्रान्डन मभुटाले एक विकेट हात पारे । 

यसअघि तिव्र गतिका बलरद्वय करण केसी र सोमपाल कामीले कसिलो बलिङ गरेपछि टस हारेपछि ब्याटिङमा निम्त्याइएको जिम्बाब्वे ‘ए’ ले नेपालसामू ८८ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

पहिलो इनिङमा जिम्बाब्वे ‘ए’ ३१.५ ओभरमा ८७ रनमै समेटिएको थियो । 

जिम्बाब्वेका तीन ब्याटरले मात्र दोहोरो  रन जोडेका थिए । जिम्बाब्वेका ओपनर सेफास झुवाओले १० रन बनाउदा जोनाथन क्याम्पबेलले टोलीको खातामा सर्वाधिक २७ रन थपे । यस्तै, अन्तिमसम्म अविजित रहेका ब्राड एभिन्सले २० रन बनाएका थिए ।

जिम्बावेलाई सस्तैमा समेट्न नेपालका करण र सोमपालले समान तीन विकेट लिएका थिए । समान सात ओभर बलिङ गरेका करणले तीन मेडन राख्दै १६ रन खर्चिदा सातै ओभर बलिङ गरेका सोमपालले १६ रन नै खर्चिए । 

यसबाहेक, कप्तान सन्दीप लामिछानेले दुई विकेट लिँदा सागर ढकालले एक विकेट हात पारे । यसअघि शुक्रबार भएको शृंखलाअन्तर्गतको पहिलो एकदिवसीय खेलमा नेपाल तीन विकेटले पराजित भएको थियो । 

शृंखलाको अन्तिम खेल सोमबार हुनेछ । नेपालले पहिलो पटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्रको टिमविरुद्ध क्रिकेट शृंखला खेलेको हो । 

एकदिवसीय शृंखलाअघि नेपालले तीन खेलको ट्वान्टी २० शृंखला खेलेको थियो । उक्त शृंखला १–१ को बराबरीम टुंगिएकाे थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।