ताजा अपडेट »

गठबन्धनमा समन्वय गर्न सम्बद्ध दलको सचिवालय क्रियाशील रहने

शनिबार, २४ बैशाख २०७९, ०८ : १८
6 Shares

काठमाण्डौं । पाँच दलीय सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनका क्रममा विभिन्न पालिकाहरूमा गठबन्धनका दलहरूबीच असमझदारी सिर्जना भएमा आपसी समन्वयमा समस्यालाई तत्काल समाधान गर्न सम्बद्ध दलका सचिवालय क्रियाशील रहने जनाएको छ ।

नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति सचिवालयका संयोजक एवं पार्टी केन्द्रीय सदस्य नानु बाँस्तोलाको अध्यक्षतामा गठबन्धनमा सामेल राजनैतिक दलका सचिवालय पदाधिकारी एवं सदस्यहरूको बैठकले सो निर्णय गरेको हो । बैठकले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र सौहाद्र तबरले सम्पन्न गराउन गठबन्धनमा रहेका सबै राजनैतिक दलबीच आपसी समन्वय र समझदारीका आधारमा अगाडि बढाउन प्रतिबद्ध रहने निर्णय गरेको छ ।

यसैगरी गठबन्धनमा रहेका दलहरूबीच आपसी समझदारीमा दिइएका उम्मेदवार विरुद्ध गठबन्धनभित्रैका दलबाट दर्ता भएका उम्मेदवारी तत्काल निष्क्रिय गराउन आवश्यक पहल गर्न सम्बन्धित दलको नेतृत्व समक्ष आग्रह गर्ने र त्यस्ता उम्मेदवारबारे हरेक दलले एक अर्कालाई जानकारी गराउने निर्णय गरिएको छ ।

स्थानीय तह निर्वाचनका क्रममा विभिन्न पालिकाहरूमा गठबन्धन दलबाहेक अन्य राजनैतिक दलसँग असहमति वा असमझदारी उत्पन्न भएको परिस्थितिमा गठबन्धनमा रहेका दलरूरुबीच मतैक्यता कायम गरी समस्या समाधान गर्न सचिवालय क्रियाशील रहने जनाइएको छ ।

बैठकमा कांग्रेसका बाँस्तोला, नेकपा (माओवादी केन्द्र)का डोरप्रसाद उपाध्याय, नेकपा (एकीकृत समाजवादी)का लक्ष्मण केसी, जनता समाजवादी पार्टी नेपालका लालबहादुर तामाङ र राष्ट्रिय जनमोर्चा हिमलाल पुरी उपस्थित थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।