ताजा अपडेट »

लुम्बिनीको बाँकेमा पुन: मतदानको अवस्था नआउने गरी काम गर्न मतदान अधिकृतलाई निर्देशन

शुक्रबार, २३ बैशाख २०७९, २० : २५
4 Shares

नेपालगञ्ज । लुम्बिनी प्रदेशको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बाँकेका आठ वटै स्थानीय तहमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई पुनः आफ्नो मतदान केन्द्रमा मतदान गर्नु नपर्ने गरी कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।

आगामी वैशाख ३० मा सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई एकदिने प्रशिक्षणमा मतदान केन्द्र र मतदान सामाग्रीको सुरक्षाको बारेमा जानकारी मूलक प्रशिक्षण दिँदै उनले सो निर्देशन दिएका हुन् ।
 
बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीले तालिममा सहभागी मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आफू खटेको मतदान केन्द्रको सुरक्षा तथा आफूलाई दिइएको जिम्मेवारीको बारेमा गहन भएर कार्यसम्पादन गर्न निर्देशन दिए ।

उनले भने, ‘तपाईंहरूलाई खटाईंएको मतदान केन्द्रमा पुगेर आफूलाई तोकेको जिम्मेवारी सफलता पूर्वक कार्य सम्पन्न गरेर फर्कनु होला । त्यसको लागि आफूले गर्न हुने र नहुने सबै कुरा आभारसहितले निर्दिष्ट गरे अनुसार नै गर्नु होला ।’ उनले स्पष्ट शब्दमा निर्वाचनमा खटिने कर्मचारीलाई कुनै पनि उम्मेदवार वा दलको निकट भएर काम नगर्न र पक्षधरता नदेखाउन निर्देशन दिए ।

उनले मतदान केन्द्रमा मोबाइल लिन नपाइने, तथा निर्वाचन आचार संहिताको बारेमा सर्वदलीय छलफलमा स्पष्ट पारेर काम अघि बढाउन, सुरक्षा निकाय पनि साथमै हुने र दुवैको काम स्पष्ट तोकिएकोले समन्वयमा काम गर्न निर्देशन दिए । ‘तपाईंलाई खटाइएको केन्द्रमा पुन मतदान गर्न नपर्ने गरी कार्य सम्पादन गरेर फर्कनु होला,’ उनले भने ।

सो अवसरमा मुख्य निर्वाचन अधिकृत तथा बाँके जिल्ला अदालतका वरिष्ठतम न्यायाधीश खडानन्द तिवारीले शान्तिपूर्वक मतदान सम्पन्न गराउनको लागि खटिने सबै मतदान अधिकृत सहायक मतदान अधिकृत र कर्मचारीहरूको दायित्व अत्यन्त बढी हुने भएकोले चनाखो भएर निष्पक्ष तरिकाले आफूलाई तोकेको जिम्मेवारी बहन गर्नको लागि आग्रह गरे ।

उनले मतदान केन्द्रमा कुनै पनि विवाद र मतदान प्रक्रियामा आउने अवरोधलाई पन्छाउँदै शान्तिपूर्वक मतदान गर्ने वातावरण बनाउने जिम्मा पनि मतदान अधिकृतकै हुने भएकोले आफ्नो कार्य कुशलताको प्रदर्शन गरी तोकिएको जिम्मेवारी पुरा गर्न आग्रह गरे ।

जिल्ला निर्वाचन अधिकृत रमा पन्तले बाँकेका आठ वटै स्थानीय तहमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई एकैपटक प्रशिक्षण गर्न नसकिने भएकोले बिहीबार कोहलपुर, नरैनापुर, खजुरा, शुक्रबार नेपालगञ्ज, जानकी र डुडुवा र शनिबार बैजनाथ र राप्तीसोनारीमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिने गरी समय तालिका बनाइएको जानकारी दिइन् ।

मतदान अधिकृत, सहायक मतदान अधिकृतलाई मतदान केन्द्रको निर्माण, आचारसंहिता, मतदान केन्द्रको सुरक्षा,लगायतको विषयमा प्रशिक्षण प्रमुख जिल्ला अधिकारी खत्री, मुख्य निर्वाचन अधिकृत तिवारी, अनुसन्धान उपनिर्देशक नागेन्द्र गिरीलगायतले प्रशिक्षण दिएका थिए । 

बाँकेमा ८ वटा पालिकामा रहेका १ सय ३६ मतदान केन्द्र र ३ सय ७९ मतदान स्थलका लागि ३ सय ७९ मतदान अधिकृत, सहायक मतदान अधिकृत ७ सय ५८, अन्य सहायक कर्मचारी १ हजार १सय ३७ र मतदान अधिकृतले स्थानीय स्तरमा राख्ने स्वयमसेवकहरू प्रति मतदान केन्द्रमा ३ का दरले १ हजार १ सय ३७ जना जिल्लाका सबै मतदान केन्द्रमा खटिने भएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।