ताजा अपडेट »

एमाले चुनावी प्रचारमा महिलाहरुको उत्साहजनक सहभागिता

शुक्रबार, २३ बैशाख २०७९, १४ : ५८
16 Shares

रुपन्देही । बुटवल उपमहानगरपालिका -१३ जितगढीकी जमुना सुवदीलाई अहिले पार्टीको प्रचारका लागि घरदैलो गर्न भ्याइनभ्याइ छ । स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट बुटवल उपमहानगरको प्रमख पदका उम्मेदवार बाबुराम भट्टराई र उपप्रमुख पदका उम्मेदवार सावित्रा अर्याल तथा वडाका उम्मेदवारलाई जिताउन उहाँ रातदिन नभनेर लागि परेका छन् ।

वडाको निर्वाचन कमिटी सदस्य रहनुभएकी सुवेदी अहिले मात्रै होइन पार्टीका हरेक अभियान र गतिविधीमा संलग्न रहँदै आएका छन् । “हामीलाई त उत्सव आए जस्तै भएको छ , दिनरात नभनी नाच्दै गाउँदै प्रचारमा खटिएकी छु”, उनी भन्छन् । बुटवल १३ कै सरस्वती मरासिनी पनि पार्टीको प्रचारमा सक्रिय ढंगले लाग्नुभएको छ । एमालेका वडा अध्यक्षका उम्मेदवार शोभाखर पोखरेल सहितको टिमलाई विजयी बनाउन वडाबासीसँग मत माग्दै उनी पाँच दिनदेखी घरदैलोमा व्यस्त छिन् । व्यवसाय सञ्चालनको जिम्मा श्रीमानलाई लगाएर उनी प्रचारमा छिन् । “घरको काम राती सकेर पनि पार्टीको प्रचारमा लागेकी छु । प्रचारले गर्दा समयमा खान र बस्न भ्याइएको छैन”, मरासीनीले भने । पार्टी निर्माण र प्रचारमा खेलेको भूमिकाको एकदीन मूल्यांकन गर्ने अपेक्षाका साथ उनी खटिएकी छिन् ।

बुटवल ११ की दिलकुमारी भट्टराई पनि उम्मेदवारहरुसँग घरदैलोमा छिन् । बुटवलको सबैभन्दा धेरै मतदाता रहेको क्षेत्रलाई आफ्नो पक्षमा पार्न उनी वडा अध्यक्ष रामचन्द्र क्षेत्रीसहितका एमालेका उम्मेदवारहरुलाई सघाइ रहेकी छिन् । अहिले स्थानीय तहको निर्वाचनमा मात्रै होइन यसअघिका निर्वाचनमा पनि उनी प्रचारको काममा निकै खटिइन् । । “कुनै पनि हालमा पार्टीले चुनाव जित्नुपर्छ एउटा इमान्दार कार्यकर्ताको हैसियतले उम्मेदवारलाई जिताउनु मेरो कर्तव्य हो भनेर लागेकी छु ” माझगाउँ क्षेत्रको घरदैलोमा भेटिकी भट्टराईले भनिन् ।

तिलोत्तमा नगरमा पनि चुनावी प्रचारमा महिलाको उपस्थिती बाक्लो छ । एमालेबाट नगरका प्रमुख पदका उम्मेदवार मोहन चापागाइँ र उपप्रमुखका उम्मेदवार जागेश्वरदेवी चौधरी सहित वडाका उम्मेदवारलाई जिताउन महिलाहरुको रस्साकस्सी छ । सैनामैना नगरको घरदैलोमा पनि महिलाहरु सक्रियतापूर्वक लागेका छन् । प्रमुख पदका उम्मेदवार चित्र कार्की र उपप्रमुख पदका उम्मेदवार बिना रानाको पक्षमा भोट माग्दै महिलाहरुले दिनहुँ घरदैलो गरीरहेका छन् ।

वडा स्तरमा पनि एमाले उम्मेदवारहरुको घरदैलोमा महिला सहभागिता राम्रो रहेको उपप्रमुख पदका उम्मेदवार राना बताउँछन् । लुम्बिनी साँस्कृतिक १० की मञ्जु ढकाललाई पनि चुनावी प्रचार गर्न भ्याइ नभ्याइ छ । एमालेका प्रमुख पदका उम्मेदवार रमावती यादव र उपप्रमुख कल्पना हरिजन सहित वडाका उम्मेदवारलाई जिताउन उनी घरदैलोमा व्यस्त छिन्। देवदहमा पनि एमाले उम्मेदवारका पक्षमा मत माग्दै महिलाहरु उत्साहजनक रुपमा घरदैलोमा जुटेका छन् । प्रमुख पदका उम्मेदवार ध्रुब खरेल र उपप्रमुख पदका उम्मेदवार विद्यालक्ष्मी गुरुङको पक्षमा महिलाहरुको लहर छ ।

उता सिद्धार्थनगरमा एमालेको चुनावी प्रचारमा महिला सहभागिता उत्साहजनक छ । प्रमुख पदका उम्मेदवार डाक्टर रामप्रसाद बस्याल र उपप्रमुख पदका उम्मेदवार उमा अधिकार जिताउँ अभियानमा महिलाहरु एकताबद्ध भएर लागेको छन् । स्थानीय तहको निर्वाचन आउन अब आठ दिन मात्रै बाँकी छ । निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्न विभिन्न राजनीतिक दलहरु प्रचार प्रसारमा जुटेका छन् । समय धेरै नभएकाले पार्टीका उम्मेदवारहरुलाई मत माग्न भ्याइ नभ्याइ छ । उम्मेदवारहरुले आफ्ना कार्यकर्ताका साथमा मतदाताका घरमा पुगेर मत मागिरहेका छन् । टोलटोलमा पार्टीका गित, नारा, झण्डा र ब्यानरले उल्लासमय वातावरण बनेको छ । टोल नगर निर्वाचनले रंगिएको छ । पार्टीका गितमा नाच्दै उम्मेदवार र कार्यकर्ताले मत माग्ने गरेका छन् ।

पार्टीले गरेको घरदैलो, सभा र जुलुसमा सबैभन्दा धेरै सहभागिता महिलाको छ । खासगरी एमाले पार्टीको प्रचारमा महिला सहभागिता धेरै छ । महिलाहरुको उत्साहजनक सहभागिताले प्रचार कार्य प्रभावकारी बनेको छ । नेकपा एमाले लुम्बिनी प्रचार विभाग प्रमुख डिआर घिमिरे भन्छन्, “हेर्दा लाग्छ महिलाहरुको सक्रियताले गर्दा पार्टीको प्रचार धानिएको छ । पार्टीलाई जिताउन यस क्षेत्रका महिलाहरु दिन रात नभनेर लागी परेका छन्, यसको मूल्यांकन पार्टीले गर्नुपर्छ । ” स्थानीय तहको अहिलेको निर्वाचनमा मात्रै होइन यसअघि भएका निर्वाचनमा पनि महिलाहरुको सहभागिता उत्साहजनक नै हुने गथ्र्यो । त्यसो त पार्टीका सभा, जुलुस र अन्य कार्यक्रममा पनि महिलाको उपस्थिती बाक्लो छ भन्नुहुन्छ, राजनीतिकर्मी टिका कटेल । “घरको काम थाँती राखेरै प्रचारमा लागेकी छु ”, खरेल भन्छन् ।

संबिधानले सुनिश्चित गरेको पालिकाको प्रमुख तथा उपप्रमुख मध्ये महिला हुनुपर्ने प्राबधानलाई अहिले जिल्लाका सत्ता पक्षीय गठबन्धनले लत्याएका छन् । जिल्लामा पाँच दलबिच गठबन्धन भएपछि पालिकाका प्रमुख र उपप्रमुखमै पुरुष उम्मेदवार बनेपछि गठबन्धनका महिलाहरु भने असन्तुष्ट छन् । उनिहरुले जुन पार्टीको आएपनि उपप्रमुखमा महिलालाई स्थान दिन आग्रह गरेका थिए । नेतृत्व तहका महिलाले यो कुरा पार्टीमा उठाए पनि कारबाहीको डरले बाहिर बोल्ने गरेको पाइएको छैन ।

“पार्टीलाई परेका बेला खम्बा बने उभिने महिलाहरुको योगदानको सबै पार्टीले मूल्यांकन गर्नुपर्छ”, राजनीतिकर्मी देवी वाग्ले भने ।
प्रचारलाई प्रभावकारी बनाउन महिलाहरु सबै पालिकामा कस्सिएका छन् । दोहोरो तेहेरो जिम्मेवारी पुरा गरेर पनि पार्टीको घरदैलोमा महिलाहरुको सहभागिता उल्लेखनीय रहेको राजनीतिकर्मी ज्ञानु केसी बताउछिन् । “पार्टीका अभियान सफल बनाउन महिलाको भूमिका महत्वपूर्ण हुन्छ, महिलाको यो भूमिकाको पार्टीले मूल्यांकन गरेर स्थान दिन कञ्जुस्याइँ गर्नु हुदैन”, उनी भनछिन् । जिल्लामा ६ लाख ३२ हजार ३६० जना मतदाता छन् । जसमध्ये ३ लाख ८ हजार ५७४ जना महिला र तीन लाख २३ हजार ७७८ जना पुरुष मतदाता रहेका छन् । स्थानीय तहको निर्वाचनमा यहाँ ३८ दलले चुनावी प्रतिस्पर्धा गर्दै छन् । निर्वाचनका लागि रुपन्देहीमा सात सय मतदान केन्द्र र दुई सय आठ मतदान स्थल तोकिएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।