ताजा अपडेट »

भ्रष्टाचार शून्य, असम्भव कुरा नगर्ने सिद्धार्थनगरमा गठबन्धनको संकल्प

विहीबार, २२ बैशाख २०७९, २० : ५१
2 Shares

भैरहवा ।  सिद्धार्थनगरमा गठबन्धनका उम्मेदवारले नगरको विकासका लागि असम्भव कुरा गरेर नगरवासीलाई भ्रममा नपार्ने बताएका छन् ।  

सत्ता साझेदार गठबन्धनका तर्फबाट स्थानीय तह निर्वाचनमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवारले बिहीबार संकल्पपत्र सार्वजनिक गर्दै अन्य दलले पूरा गर्न असम्भव विभिन्न घोषणा सार्वजनिक गरेको जनाउँदै सिद्धार्थनगर नगरपालिका प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार इस्तियाक अहमद खान र माओवादीबाट उपप्रमुख पदकी उम्मेदवार कमल थापाले कार्यकालमा पूरा गर्न सकिने वाचा समेटेर संकल्पपत्र जारी गरेको बताए । 

‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, हाम्रो सिद्धार्थनगर नगरपालिका’नारा तय गरिएको उनले बताए । नगरका सबै कार्यालयलाई सेवाग्राही  मैत्री बनाउने उनीहरूको जोड छ । ‘निर्वाचन पूरा भएको ६ महिनाभित्र नगरपालिकाको दीर्घकालीन योजना तर्जुमा गरेर काम थाल्नेछौं,’ संकल्पपत्र सार्वजनिक गर्दै खानले भने, ‘नगरपालिका तथा प्रत्येक वडामा गुनासो तथा उजुरी पेटिका राखिने छ ।’

नगरपालिकाको शिक्षा स्तरोन्नतिका लागि विशेष योजना तय गर्ने उपप्रमुख पदकी प्रत्याशी थापाले बताइन् । ‘नगरभित्रका सामुदायिक विद्यालयमा पठन–पाठन गर्ने विद्यार्थी कक्षा १२ सम्म नि:शुल्क शिक्षाको नीति अवलम्बन गरिनेछ,’उनले भनिन्, ‘अध्ययनसँगै स्वआर्जनका लागि प्राविधिक क्याम्पस सञ्चालन गरिनेछ ।’ 

उच्च शिक्षा अध्ययनका लागि गरिब, पिछडिएका वर्ग तथा अल्प सङ्ख्यक समूहका छात्र–छात्रालाई छात्रवृत्तिको व्यवस्था गरिने उनले बताइन् । ‘विद्यालयमा छात्रालाई नि:शुल्क सेनेटरी प्याड वितरण गरिनेछ,’उनले भनिन्,‘बेरोजगार तथा युवाका लागि सीप मूलक तालिम केन्द्र स्थापना गरिनेछ ।’ नगर प्रमुख पदका प्रत्याशी खानले मदरसा शिक्षालाई समयानुकूल बनाइने बताए । नगर क्षेत्रमा कक्षा १० सम्म पढेका विद्यार्थीलाई रोजगारको लागि वायरिङ, प्लम्बिङ, कुक, वेटर, कटाई, सिलाई बुनाई आदि सिपमूलक तालिमको लागि व्यवस्था गरिने प्रमुख पदका उम्मेदवार खानले बताए । 

नागरिकलाई तन्दुरुस्त राख्न अर्ग्यानिक तरकारी उत्पादनमा जोड दिने उनले बताए । त्यसका लागि नगरपालिका भित्रका खाली जमिनमा विषादी र रासायनिक मल प्रयोग नगरी तरकारी उत्पादनलाई बढवा दिने बताए । यस्ता खेतीमा नीजि क्षेत्रले लगानी गर्ने र विपन्नले उत्पादन गर्ने नीति ल्याउने खानले जानकारी दिए ।

गठबन्धनले कृषि तथा पशुपालनलाई पनि जोड दिएको छ । कृषकलाई आवश्यकता अनुसार बिउ, मल, औषधी समयमा नै सर्व सुलभ रूपमा उचित मूल्यमा उपलब्ध गराउने नीति सार्वजनिक गरेको छ ।  निजी क्षेत्र र नागरिकलाई लाभ मिल्ने गरी नगरको कर व्यवस्थापन गरिने जनाएको छ ।

'कर बढाउने नीतिभन्दा दायरा बढाई राजस्व वृद्धि गर्ने नीति अवलम्बन गरिने छ,’ घोषणा पत्रमा लेखिएको छ,‘जनताको करबाट उठेको रकमलाई अनावश्यक रुपमा खर्च गरिने छैन ।’ 

महिलाद्वारा सञ्चालित साना तथा लघु उद्योग स्थापना गरी नयाँ व्यवसाय सञ्चालन गर्न आउने उद्योगीहरूलाई पाँच वर्षसम्म ५० प्रतिशत स्थानीय करमा छुट दिइने उल्लेख छ । खेल क्षेत्रको विकासका लागि प्रत्येक वडामा खेल मैदानको व्यवस्था गरिने संकल्पपत्रमा उल्लेख छ । 
फोहोरमैला व्यवस्थापन तथा सर सपाइका लागि दीर्घकालीन योजना बनाएर समाधान गर्ने नगरभित्रका सबै सडक, ढल, नाला तथा  सार्वजनिक शौचालयको  नियमित सरसफाइ गरिने गठबन्धनले जनाएको छ । 

‘वातावरण तथा विपद् व्यवस्थापनका लागि नगर क्षेत्रमा रहेको सार्वजनिक स्थलमा वृक्षारोपण गरिनेछ र प्रत्येक सडक किनारमा हरियाली कायम हुने गरी बिरुवा लगाइने उल्लेख छ,' घोषणापत्रमा लेखिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।