ताजा अपडेट »

स्वच्छ निर्वाचनको वातावरण बनाऔं

विहीबार, २२ बैशाख २०७९, १७ : ५२
26 Shares

‘बैसाख ३० शुक्रबार अरु काम रोकी, मतदान गर्न जाउँ परिचय पत्र बोकी…’ अहिले यो सन्देश गुञ्जिरहेको छ । अर्थात् मतदान गर्ने दिन नजिकिँदै छ । स्थानीय तह निर्वाचन–२०७९ का लागि मुलुक होमिएको छ । निर्वाचनको सुनिश्चितता पछि सुरु भएका गतिविधि तिव्र रुपमा अगाडि बढेका छन् । विभिन्न दलका तथा स्वतन्त्र उम्मेद्वारी दिएका उम्मेद्वारहरु पनि जनता माझ पुगेका छन्। गाउँ, टोल,शहरसहित मुलुकनै निर्वाचनमय भएको छ ।

मुलुक संघीय गणतान्त्रिक पद्धति कार्यान्वयनमा अगाडि बढेपछिको यो दोस्रो निर्वाचन हो । पहिलो निर्वाचन २०७४ का जनप्रतिनिधिको कार्यकालसकिएसँगै आगामी नयाँ नेतृत्वका लागि निर्वाचन हुन गइरहेको हो । मुलुकका ६ महानगर, ११ उपमहानगरसहित २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्थानीय तहका नेतृत्वका लागि यही वैशाख ३० गते निर्वाचन हुँदैछ ।

निर्वाचनबट ती स्थानीय तहका लागि प्रमुख–उपप्रमुख समिति सदय,वडा अध्यक्ष र वडासदस्यसहित ३५ हजार ३ सय २१ जनप्रतिनिधिहरु निर्वाचित हुनेछन् । निर्वाचनका लागि निर्वाचन आयोगले सम्पूर्ण तयारी गरिसकेको जनाएको छ । ३० गते वैशाखमा मतदानका लागि पूर्वतयारी तथा कार्यक्रमहरु सम्पन्न भइसकेको र मतदान तथा मतगणना,नतीजा सार्वजनिकका लागि तयारी गरिरहेको समेत बताएको छ ।

मतदान सफल बनाउनका लागि रुपन्देहीमा २०८ मतदान केन्द्र ७ सय मतदान स्थलहरु तोकिएको छ । त्यसैगरी देशभरका जिल्लामा रहेका १० हजार ७ सय ५६ र विभिन्न स्थानमा २१ हजार ९ सय ५५ मतदान केन्द्र तथा स्थलहरु तोकिएको छ । प्रजातन्त्रिक पद्धतिमा आफ्नो प्रतिनिधि चयन गर्ने बलियो माध्यम र अवसर मानिन्छ निर्वाचन ।

आउँदै गरेको निर्वाचनमा मुलुकभरका १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता सहभागी हुँदैछन् । जसमध्ये ९९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० र १८३ जना अन्य मतदाता रहेका छन् । ७७ जिल्लाका ७५३ स्थानीय तहमा नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनले माहौल निकै तातेको छ । स्थानीयबासी र स्थानीय सरोकारसँग प्रतक्ष्य सरोकार राख्ने यस निर्वाचन र आगामी नेतृत्वको लागि यतिबेला चुनावी तयारी छ ।

निर्वाचनका लागि यतिबेला प्रचार–प्रसारका गतिविधि तिव्र छन्। अर्कोतर्फ प्रचार–प्रसार गर्न दल,उम्मेद्वार,कार्यकर्ता तथा शुभेच्छुकहरुबीच प्रतिष्पर्धानै चलेको छ । निर्वाचनमा विजयी हुन उम्मेद्वारहरु र उनीहरुलाई जिताउन समर्थकहरु मतदाताका घर–घरमा पुगेका छन् । उम्मेद्वारहरु ठूलो समूहसहित आफ्ना घोषणा पत्र, एजेण्डा,नारा र आश्वाशनसहित स्थानीय मतदाताका घर–दौलोमा पुगेका छन् ।

निर्वाचनलाई स्वच्छ,मर्यादित र पारदर्शी बनाउन निर्वाचन आयोगले आचारसंहिता पनि जारी गरेको छ । तर,अधिकांश दलहरु,उम्मेद्वार लगाएत कार्यकर्ताहरुले पनि आचारसंहित उल्लंघन गरिरहेका छन् । त्यसैगरी निर्वाचन आचारसंहिता पाललना गर्न मतदाता तथा सर्वसाधारणलाई पनि आयोगले अनुरोध गरेको छ । तर सर्वसाधारणबाट पनि सामाजिक सञ्जालमा निर्वाचन आचारसंहिता विपरित गतिविधिहरु भएका छन् ।

निर्वाचनको समयमा दल र गुटको आधारमा समर्थन र विरोधका गतिविधि तिव्र देखिन्छन् । प्रतिपक्षलाई गालीगलौजदेखि मानहानी र पक्षधरलाई सकारात्मक तथा व्याख्यात्मक प्रचारवाजी र संरक्षण गर्ने प्रवृत्ति रहेको छ । यस्तो प्रवृत्तिले दुई विचार वा फरक विचार राख्ने घरभित्रै वा सहकर्मीहरुबीच पनि प्रष्तिष्पर्धा हुने गर्दछ । अर्कोतर्फ फरक पेशा , छिमेकी लगाएतकाबीच पनि मनमुटाव र अस्वस्थ प्रतिष्पर्धा देखिने गरेको छ ।

निर्वाचन ,दल, उम्मेद्वार र नेतृत्वको बहानामा हुने यस्ता गतिविधिले परिवारमा,सम्बन्धमा,पेशामा प्रभाव पार्दछ । साथै घर,परिवार,कार्यालय,छिमेक र समाजमा पनि वातावरण खल्बलिन्छ । त्यसैगरी निर्वाचन र नेतृत्वमा पनि प्रभाव पर्दछ । जुन कदापी अनुकूल हुँदैन । गणतान्त्रिक पद्धतिमा निर्वाचन जनताका लागि सुवर्ण अवसर हो । ५ वर्षमा आएको पर्व हो । बहुमतले चाहेको उम्मेद्वार र नेतृत्व चयन गर्ने मौका हो । आफ्नो अमूल्य मतले सेवक रोज्ने,स्थानीय अभिभावक छनौट गर्ने महत्वपूर्ण समय हो । गर्ने तसर्थ यस अवसरलाई स्वच्छ,स्वस्थ्,सभ्य र अनुशासनका साथ सफल बनाउनु सबैको दायित्व हो।

तर,निर्वाचनको समयमा मतदाता वा जो कोहीबीभ हुने अस्वस्थ प्रतिष्पर्धा र गलत व्यवहारले दिगो असर गर्न सक्छ । ५ वर्षका लागि एक दिन हुने निर्वाचन अगाडि र निर्वाचनको समयमा हुने असामाजिक क्रियाकलाप र अस्वस्थ प्रष्पिर्धाले आपसी सम्बन्ध,समझदारी र सामाजिक वातावरणमा खलल आउन सक्छ ।

मतदान अगाडि उम्मेद्वार तथा समर्थकहरु प्रतिष्पर्धी भएतापनि मतदान र नतीजा पछाडि पनि जे जस्तो अवस्थामा थिए त्यस्तै हुन् । पराजित हुने उम्मेद्वार पनि त्यही समाजका र विजयी हुनेपनि त्यी समाजका । जसले जितेपनि समग्र क्षेत्रका साझा प्रतिनिधि हुन् र बन्नु पर्दछ । विजयी र पराजितबीच पनि सहकार्य र आपसी सम्बन्ध रहिरहनु पर्दछ । तसर्थ निर्वाचनका नाममा अस्वस्थ प्रतिष्पर्धा नगरौं । निर्वाचनको स्वच्छ वातावरण सिर्जना गरौं । जिम्मेवार नागरिकसँगै मतदाताको भूमिका निर्वाह गरौं ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।