ताजा अपडेट »

रुपन्देहीमा पत्रकारहरुले गलत सूचना फैलाएको गुनासो आयोः महासंघ

बुधबार, २१ बैशाख २०७९, १६ : ५७
2 Shares

बुटवल । नेपाल पत्रकार महासंघको रुपन्देही शाखाले रुपन्देहीमा पत्रकारहरुले नै गलत सूचना फैलाउने, भ्रमपूर्ण गतिवधिमा संलग्न भएको गुनासो आएको जनाएको छ । पत्रकार महासंघले आज एक विज्ञप्ति प्रकाशित गर्दै निर्वाचनका बेलामा भावनात्मक, उत्तेजित हुँदै सामाजिक सञ्जालमा टिका टिप्पणी गर्ने, बिषयलाई अतिरञ्जित हुने गरि समाचार सम्प्रेषण गर्ने जस्ता आचार संहिता विपरितको कार्य नगर्दा निर्वाचन पश्चात पनि पत्रकारको रुपमा सम्मान प्राप्त गर्न सकिने स्पष्ट पारेको छ ।

महासंघले विज्ञप्ति मार्फत बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पत्रकार आचार संहिताको पूर्ण पालना गर्दै तटस्थ भूमिका निर्वाह गर्न आफ्ना सम्पूर्ण सदस्यलाई आहृवान समेत गरेको छ ।

यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पत्रकार आचार संहिताको पूर्ण पालना गर्दै तटस्थ भूमिका निर्वाह गर्न नेपाल पत्रकार महासंघ रुपन्देही सम्पूर्ण सदस्यलाई हार्दिक आहृवान गर्दछ । नेपाली पत्रकारको साझा संस्था महासंघले सदैव साझा र तटस्थ भूमिका निर्वाह गरिरहेको स्मरण गराउदछौं ।

निर्वाचनको संघारमा भइरहेका गतिविधि र भूमिकालाई महासंघ रुपन्देही शाखाले नजिकबाट नियालिरहेको छ । निर्वाचन जति जति नजिक आइरहेको छ, त्यतिकै पत्रकारहरुले आचार संहिताको पालना पूर्ण रुपमा गर्न जरुरी छ । महासंघको सदस्यता प्राप्त गरेकाहरु उम्मेद्वार बनेको हकमा केन्द्रीय सर्कुलर अनुसार कामकारवाही गरेको जानकारी समेत गराउदछौं । निर्वाचन आचारसंहितामा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक म्यासेन्जर, ट्विटर, युट्युव र इन्स्टाग्राम जस्ता विद्युतीय माध्यमको प्रयोग गरी कुनै पनि सामग्री प्रकाशन, प्रसारण वा संप्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा सेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने उल्लेख छ ।

यो व्यवस्थाको पालना गर्दै सत्य, तथ्य, निष्पक्ष र तटस्थ सूचना संप्रेषण गर्ने पत्रकारको मूल दायित्वको हेक्का राखिदिन महासंघ सबैमा आग्रह गर्दछ । केहि दिनयता रुपन्देहीमा पत्रकारहरुले नै गलत सूचना फैलाउने, भ्रमपूर्ण गतिवधिमा संलग्न भएको गुनासो आएकाले निर्वाचन आचार संहिताको पूर्ण पालना गरि पत्रकारिताले सामाजिक रुपमा प्राप्त गरेको प्रतिष्ठालाई हेक्का राख्न पुन स्मरण गराउदछौं । निर्वाचनका बेलामा भावनात्मक, उत्तेजित हुँदै सामाजिक सञ्जालमा टिका टिप्पणी गर्ने, बिषयलाई अतिरञ्जित हुने गरि समाचार सम्प्रेषण गर्ने जस्ता आचार संहिता विपरितको कार्य नगर्दा निर्वाचन पश्चात पनि पत्रकारको रुपमा सम्मान प्राप्त गर्न सकिन्छ ।

अन्यथा निर्वाचनको मुखमा गरिएका गतिविधिले आफैलाई लज्जित बनाउनेछ । निर्वाचनका समयमा महासंघका सदस्यहरूको भूमिकाको अनुगमन गरी यथार्थ विवरण संकलन गर्न महासंघको आचारसंहिता तथा अनुगमन विभाग र अनुशासन विभागले अनुगमन गरिहेको जानकारी पनि गराइन्छ । निर्वाचनका बेला रुपन्देहीका पत्रकारहरुलाई सहजै रिर्पोटिङ गर्ने वातावरणका लागि जिल्ला प्रशासन, निर्वाचन आयोग तथा सम्बन्धित पालिकाकाको निर्वाचन अधिकृतको कार्यालयहरुलाई समेत अनुरोध गर्दछौं ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।