ताजा अपडेट »

निर्वाचन आचारसंहिताविपरीत बालबालिकाको प्रयोग

बुधबार, २१ बैशाख २०७९, १५ : १५
4 Shares

बारा । बारामा निर्वाचन आचारसंहिताविपरीत बालबालिकाको प्रयोग गरिएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचन आचारसंहिताविपरीत १८ वर्षभन्दा मुनिका बालबालिका राजनीतिक कार्यक्रममा प्रयोग भएका देखिएको छ । 

निर्वाचन कार्यालयले उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरिसेको छ । स्थानीय तहको निर्वाचन भयरहित तथा निष्पक्ष रुपमा सम्पन्न गर्न गत २५ चैत्रदेखि निर्वाचन आचारसंहिता पनि लागु गरिएको छ । तर, बारामा निर्वाचन आचारसंहिता उल्लंघन भइरहँदा पनि सम्बन्धित पक्ष मुखदर्शक बनेको पाइन्छ । 

आचारसंहितामा निर्वाचन प्रचार कार्यमा १८ वर्ष मुनिका बालबालिकालाई प्रयोग गर्ने नमिल्ने, भोज भतेर गर्ने नपाइने, कुनै पनि पार्टीको चिह्न अंकित कपडा लगाउन नपाइने जस्ता विषय समावेश छन । तर, बारामा उम्मेदवारी दर्ता गरिएको दिनदेखि नै उम्मेदवारहरूले भोजभतेर र बालबालिकाको प्रयोग गरिरहेको देखिएको छ । 

कांग्रेस, एमाले, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपालसहित सबै पार्टीको चुनाव चिह्न अंकित पोशाक लगाएर हिँडेका कार्यकर्ताहरू पनि बजारमा छ्यापछ्याप्ती भेटिएका छन् । उम्मेदवारहरूले आचारसंहिताविपरीत आफ्नो चुनावी प्रचारप्रसारमा बालबालिकालाई प्रयोग गरेको पाइएको छ । उम्मेदवारहरूले बालबालिकालाई पर्चा वितरणदेखि भित्तामा पोस्टर टाँस्नसमेत प्रयोग गरेको देखिन्छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।