ताजा अपडेट »

म्यादी प्रहरीलाई सम्मानजनक ब्यबहार गर्न गृहमन्त्रीको निर्देशन

मंगलबार, २० बैशाख २०७९, १९ : ३०
4 Shares

भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले स्थानिय तह निर्वाचनकालागि भर्ना भएका म्यादी प्रहरीलाई सम्मानजनक ब्यबहार गर्न निर्देशन दिएका छन् । उनले अस्थायी भर्ना गरिए पनि म्यादी प्रहरीको भुमिका महत्वपुर्ण रहेको र उनिहरुलाई काममा लगाउदा शिष्ट र भद्र ब्यबहार गर्न गरे ।

मंगलबार जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा गृहमन्त्रीको उपस्थितिमा भएको सुरक्षा निकायको बैठकमा उनले सुरक्षा ब्यबस्था चुुस्त बनाउन समेत सुरक्षा निकायलाई निर्देशन दिएका छन् । खाँणले स्थानिय तह निर्वाचनमा मतदाता, मतदानस्थलमा खटिएका कर्मचारी लगायत आमनागरिकको सुरक्षा गर्ने दायित्व सरकारको भएको भन्दै त्यसका लागि सबै तयार रहन निर्देशन दिए । बैठकमा खाँणले चारवटै सुरक्षा निकायको समन्वयमा जिल्लाको सुरक्षालाई व्यवस्थित गरेर लैजान आग्रह गरे । मतदानस्थल, मतपेटिकको सुरक्षामा पनि विशेष ध्यान दिन आग्रह गर्दै मन्त्री खाँणले भने “समन्वय, सहकार्य सबैभन्दा महत्वपूर्ण हुन्छ, तपाइँहरुमा यो हुन जरुरी हुन्छ ।”

उनले सुरक्षा निकायबाट सम्भावित जोखिम अध्ययन गरी अति संवेदनशील, संवेदनशील क्षेत्रहरुको सुरक्षालाई विशेष ख्याल गर्न निर्देशन दिएको गृहमन्त्री खाँणको भनाई उद्धृत गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए । बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरीका लुम्बिनी प्रदेश प्रमुख, नेपाली सेना, राष्ट्रिय अनुसन्धानका अधिकृत एवं रुपन्देही, कपिलवस्तु र नवलपरासीका प्रमुख जिल्ला अधिकारीहरुको सहभागिता थियो । यस्तै, तीनवटै जिल्लाका सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान प्रमुखको पनि सहभागिता थियो ।

रुपन्देहीका प्रमु्ख जिल्ला अधिकारी तिवारीले चारवटै सुरक्षा निकाय र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखले आ–आफ्नो जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए । साथै सुरक्षा अधिकारीले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न लागिपरेको बताएका थिए । रुपन्देहीमा २ सय ८ मतदानस्थल कायम गरिएका छन् । तीमध्ये ६३ अतिसंवेदनशील, ६८ संवेदनशील र ७७ लाई सामान्य सूचीमा वर्गीकरण गरिएको छ । सुरक्षा संवेदनशीलताको आधारमा सुरक्षाकर्मीको व्यवस्थापन गरिने प्रमुख जिल्ला अधिकारी तिवारीले जानकारी दिए । रुपन्देहीमा ६ लाख ३२ हजार ३ सय ६० मतदाता छन् । २०७४ सालको चुनावको तुलनामा करिब १ लाख मतदाता रुपन्देहीमा थपिएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।