ताजा अपडेट »

सिद्धार्थनगर नगरपालिकाका उम्मेद्वारहरुको एजेण्डा परम्परागत

सोमबार, १९ बैशाख २०७९, १४ : ५३
8 Shares

भैरहवा । सिद्धार्थनगर नगर पालिकाका उम्मेदवारहरुले फेरी पनि सतही रुपमा घोषणा पत्र बनाएर निर्वाचनमा होमिएको नगरवासीहरुले आरोप लगाएका छन् । अहिले पनि ठोस एजेण्डा बिना नगरको बिकासमा परम्परागत तरिकाले नै प्रतिवद्धताहरु सार्वजनिक गरेको नगरवासीले सार्वजनिक कार्यक्रममै मेयर पदका प्रत्याशीहरुको आलोचना गरेका छन् ।

भैरहवा मर्निङ्ग वाक ग्रुपद्वारा सोमबार भैरहवामा आयोजित मेयर पदका उम्मेदवारहरु संग गरेको अन्र्तक्रिया कार्यक्रममा नगरवासीले मेयर प्रत्याशीहरु प्रति रोष ब्यक्त गरेका छन् । कार्यक्रममा सहभागी सिद्धार्थ होटल एशोसिएसनकाका अध्यक्ष समेत रहेका नगरवासी सिपी श्रेष्ठले नेकपा एमालेका उम्मेदवार डाक्टर रामप्रसाद बस्याललाई अहिले सम्म निस्क्रिय रहेको निर्वाचनको समयमा मात्र सक्रिय भएको आरोप लगाए । “मुलुकले यत्रो कोभिडको महामारी झेल्यो, चिकित्सकको आवश्यकता भएको समयमा तपाई कहाँ हुनुहुन्थ्यो ?” श्रेष्ठले बस्याललाई सोझो प्रश्न गरे “अहिले निर्वाचनको समयमा झुलुक्क देखिएर भोट माग्ने, तपाईलाई भोट किन दिने ?”

श्रेष्ठको यो आक्रोश डाक्टर बस्याल प्रति मात्र थिएन उनले पूरानो पार्टी छोडेर आएका नया पार्टीबाट मेयर बनेका उम्मदेवारलाई पनि उस्तै प्रश्न तेस्र्याए । नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार बनेका ईश्तियाक अहमद खाँनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान सभाको सदस्य समेत बनाएको र त्यसको गुन तिर्नु पर्ने सट्टा उल्टै पार्टी परित्याग गरि कांग्रेसबाट उम्मेदवार बनेको भन्दै उनले अक्रोश ब्यक्त गरे । उनको यहि आक्रोश नेपाली कांग्रेस परित्याग गरि जनता समाजवादी पार्टी प्रवेश गरेका मात्रिका प्रसाद यादव प्रति पनि रहयो । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सागर प्रताप राणलाई सर्वसाधारणले भेट्नै मुश्किल रहेको उनले आरोप लगाए ।

कार्यक्रममा यो आक्रोश श्रेष्ठको मात्र थिएन । कार्यक्रममा बोल्ने अधिकांश नगरवासीले सबै उम्मेदवार प्रति लक्षित रिस पोखेका थिए । साहित्यकार समेत रहेका रुद्र ज्ञवालीले उम्मेदवारहरुबाट उति साह््रो पराम्परावादी योजना तथा कार्यक्रम आउने अपेक्षा नरहेको टिप्पणी गरे । “गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल सञ्चालन संगै मलाई लागेको थियो यो नगरको अन्र्तराष्ट्रियकरण कसरी गर्न सकिन्छ र यसको नविकरण कसरी गर्न सकिन्छ, यसलाई नया शहर कसरी बनाउन सकिन्छ ।” ज्ञवालीले भने “तर त्यो कुरा कतैबाट आएन, कुनै पनि उम्मेदवारले नगरको गुरुयोजना पनि बनाएको देखिएन ।”

नगरवासीले उम्मेदवारको घोषणा सतही र परम्परागत भएको आरोप लगाईरहदा उनिहरुले निशुल्क रुपमा सेफ्टी ट्याङ्की सफा गराउने देखी ५० प्रतिशत कर छुट सम्मका एजेण्डा पेश गरेका थिए । भैरहवा नगरपालिकामा अहिले दलगत र स्वतन्त्र गरि १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अधिकांशका घोषणापत्रमा करछुट गराउने देखी शिक्षा, स्वास्थ्य, कृषि, सरसफाई, खानेपानीका ठुला ठुला वाचाहरु गरिएका छन । तर ती कामहरु कसरी पुरा गर्ने भन्ने बिषयमा कसैसंग कुनै ठोस योजना भने रहेको पाईन्न ।

थमन पुन (कुलेन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)

कार्यक्रमको सुरुमा बोलेका नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का तर्फबाट प्रमुख पदका उम्मेदवार थमन पुन (कुलेन्द्र) ले आफुले पहिलो प्राथमिकतामा स्वास्थ्य राखेको बताए । उनले स्वास्थ्यको साथै महिनाको ५ हजार लिटर खानेपानी निशुल्क गर्ने जनाए । यसै गरि युवा श्रम गठन गरि नगरमा रहेका युवाहरुको अवश्था बारे जानकारी लिने बताए । खेलकुद र खेलाडीलाई सम्बोधन गरिने बताउदै उनले आफ्नो पारिश्रमिक एकल महिला र अति विपन्नहरुको सेवामा खर्च गर्ने बताए ।

सागर प्रताप राण, राष्ट्रिय प्रजातन्त्र पार्टी

आयोजकले चिठ्ठा थुतेर बोलने रोलक्रम छुट्टयाएको थियो । यसै क्रममा चिठ्ठाको हिसाबले पाचौं तर उपस्थितिको दृष्टिले दोश्रो रोलक्रममा बोल्ने मौका पाएका राप्रपाका सागर प्रताप राणले आयोजक संस्थाका संस्थापक अध्यक्ष विजय गोविन्द श्रेष्ठले सुरुमै औल्याएका समस्याहरुलाई समाधान गर्ने बताए । मेयर पदका बलियो उम्मेदवार रहेको राणाले आफु विजयी भए नगरमा उपलब्ध विज्ञहरुका सुझाव अनुसारको शहर बनाउने प्रतिवद्धता जनाए । नगरको विकासमा एडिबीको महत्वपूर्ण योगदान रहे पनि यसले नगरको समग्र समस्या समाधान नगरेको उनको तर्क थियो । गलत डिजाईनका कारण नगर अहिले डुबानमा रहेकोले आफले पानीको उचित निकासमा पहल गर्ने उनले जनाए ।

राणाले अहिले नगरपालिकाले चर्को कर असुलीरहेको आरोप लगाउदै आफु मेयरमा विजयी भए यस्ता करमा ५० प्रतिशत सम्म कटौती गर्ने योजना सुनाए । यति मात्र नभई महिला उद्यमीहरुको लागी थप १२ प्रतिशत कटौती गर्ने आफ्नो एजेण्डा रहेको राणाको भनाई छ ।

हिरालाल धामी, राष्ट्रिय जनमोर्चा

राष्ट्रिय जनमोर्चाका तर्फबाट मेयर पदका प्रत्याशी हिरालाल धामीले अहिले प्रशासनिक खर्चमा ८४ प्रतिशत भन्दा बढी रकम खर्च भई रहेको कारण बिकास निर्माणका काम अवरुद्ध रहेको बताए । उनले आफु पार्टीको केन्द्रिय रणनिति अनुसार नै उम्मेदवारी दिएको सोही अनुसार नगरको विकासमा होमिने बताए ।

ईश्तियाक अहमद खाँन, नेपाली कांग्रेस

नेपाली कांग्रेसका नेता ईश्तियाक अहमद खाँले नगरवासीको सपना सकार पार्न आफुले उम्मदेवारी दिएको बताए । उनले भैरहवालाई ग्रीन, क्लिन शहर बनाउने अभियानमा लागेको बताए । यसको लागी भैरहवामा बोटनिकल गार्डेन बनाउने योजना रहेको उनले कार्यक्रममा सुनाए । यस संगै नगरको समस्याको बिषय रहेको छाडा चौपायाहरुको ब्यवस्थापनको लागी जग्गाको ब्यवस्था गरि कांजीहाउसको निर्माण र त्यसको लागी कर्मचारीहरुको ब्यवस्था गर्ने उनले बताए । खाँनले भैरहवाका सडकहरुमा “सडक मानव” मुक्त बनाउने बताए । भैरहवाको फोहोर ब्यवस्थापनको दिर्घकालीन उपाय खोज्दै नगरलाई प्लाष्टिक मुक्त बनाउने योजना रहेको उनले सुनाए ।

खाँनले स्थानिय कला र संस्कृति झल्किने गरि दैनिक कार्यक्रमको आयोजना गरिने बताए । भैरहवामा अन्र्तराष्ट्रिय बिमानस्थलको सञ्चालन संगै पर्यटकलाई नगरमा टिकाउन यो कार्यक्रमले सहयोग गर्ने उनको विश्वास रहेको छ । यसको साथै सातामा एक पटक बेलहिया हुदै भित्रिने पर्यटकलाई फुलद्वारा स्वागत गरिने योजना उनले सुनाए । यस अतिरिक्त बुद्धभत्ता घरघरमै, बालिका बिमा, वडा वडामा सार्वजनिक शौचालय, स्वच्छ खानेपानी, कृषकहरुलाई मलखाद, बिउउजिनको ब्यवस्था लगायतको योजनाहरु उनले सुनाए ।

मोहम्मद वसिर मुसलमान, लोकतान्त्रिक समाजवादी पार्टी

आक्रामक देखिएका लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार मोहम्मद वसिर मुसलमानले नगरको विकासमा युवाले कहिल्यै अवसर नपाएको बताए । उनले १२ किलोमिटरको हाराहारीमा मात्र रहेको भैरहवाको विकास ३५ बर्षमा पनि हुन नसकेको आक्षेप लगाए ।

उनले ठूला पार्टीका उम्मेदवारहरुले निर्वाचनमा करौडौ रकम खर्च गर्ने गरेको तथा जिते पछि त्यसलाई असुल्न करौडौ भ्रष्टाचार गर्ने गरेको आरोप लगाए । उनले भैरहवाका १५ प्रतिशत गरिब जनतालाई ५ रुपैयामै उपलब्ध हुने गरि खाना उपलब्ध गराईने योजना सुनाए । उनले अहिले युवालाई साथ दिन मतदाताहरुलाई आग्रह गरेका छन् ।

मात्रिका प्रसाद यादव, जनता समाजवादी पार्टी

निर्धारित समय भन्दा ढिलो गरि कार्यक्रम स्थल पुगेका मात्रिका प्रसाद यादवले सबै वडामा सामानान्तर विकास आफ्नो मूल एजेण्डा रहेको बताए । उनले अहिले पनि नगरका ग्रामीण वडाहरु विकासको दृष्टिले पछि परेको बताउदै बिशेष गरि वडा नम्बर ९, १०, ११ लगायतका पिछडीएका वडाहरुलाई समेटेर विकास गर्ने योजना सुनाए ।

भैरहवामा पर्यटकिय क्षेत्रको पहिचान गरि त्यसलाई अगाडी बढाउने र पर्यटक आकर्षित गर्ने उनको योजना छ । भैरहवामा प्राविधिक शिक्षाको लागी संस्था सञ्चालन गर्ने, कृषिमा आधुनिकीकरण, कृषि उपजको उचित बजार ब्यवस्थापनका साथै नगरपालिकालाई भ्रष्टाचार मुक्त गर्ने अभियानमा आफु लाग्ने यादवले सुनाए । यसैगरि प्रत्येक वडामा आकस्मिक सेवा दिने गरि वडा क्लिनिक सञ्चालन गर्ने र सबै वडामा एम्बुलेन्सको समेत ब्यवस्थापन गरिने उनले बताए ।

डा. राम प्रसाद बस्याल, नेकपा एमाले

नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार डाक्टर राम प्रसाद बस्यालले आफुले पार्टीको र आफ्नो घोषणापत्र प्रत्येक नगरवासीको घर–घरमा पु¥याईने बताए । उनले पार्टी र आफ्नो एजेण्डा सोही घोषणापत्रबाट नागरिकले जान्न सक्ने बताए । डाक्टर बस्यालले अहिले सम्म राष्ट्र वा नगरलाई नोक्सान हुने आफुले कुनै प्रकारको काम नगरेको आधारमा आफुले उम्मेदवारी दिने बताए । उनले अहिले पनि सिद्धार्थनगर नगर पालिकाले प्रयाप्त बिकास गरेको बताउदै आफु विजयी भए त्यसलाई निरन्तरता दिने बताए । यसका साथै उनले सबैको सल्लाह लिएर अगाडी बढने प्रतिवद्धता जनाए ।

हसनरजा मुसलमान (टिपु सुल्तान), राष्ट्रिय जनमुक्ती पार्टी

राष्ट्रिय जनमुक्ती पार्टीका उम्मेदवार हसनरजाले आफसंगै नगर विकासको लागी गांस, बास, कपास, स्वास्थ्य शिक्षा लगायत ४० बुंदे घोषणा पत्र रहेको जनाए । “नगरको विकासको लागी मतदाताले चौकीदार पठाउने कि मालिक ?” आउने बित्तिकै उनले प्रश्न तेस्र्याए “चौकीदार पठाउने भए म जस्ता क्रान्तीकारीलाई पठाउनु ।”

टिपु सुल्तानको नामले जानिएका मुसलमानले आफु नगरको मेयरमा विजयी भए नगरका सेफ्टी ट्यांकीहरु निशुल्क रुपमा सफा गराउने योजना रहेको सुनाए । यसका साथै १३ वटै वडामा मेयर आवास योजना लागु, २५ देखी ५० प्रतिशत सम्म कर छुट, प्रत्येक वडामा खानेपानी र फ्रि वाईफाईको ब्यवस्था गर्ने उनले प्रतिवद्धता जनाए । उनले नगरमा रहेका साविक कुलोहरुको खोजी गरि त्यहा कुलो अथवा बाटो कायम गर्ने योजना सुनाए । यसै गरि नगरमा कपडा बैंकको स्थापना गर्ने उनले बताए । “मलाई मौका दिए मैले सबै समस्या १ बर्षमै समाधान गरि दिने छु ।” टिपुले दावी गरे

ईश्वरी खडका, अटेरी समूह

अन्तिममा बोल्ने पालो पाएकी मेयर पदकी नगरकी एक मात्र महिला उम्मेदवार ईश्वरी खडकाले आफु विजयी नभए पनि “वाच डग” को रुपमा खबरदारी गरिरहने बताईन । अटेरी समूह तर्फबाट उम्मेदवार बनेकी खडकाले नगरमा सैदान्तिकको साथै ब्यहारिक शिक्षामा जोड दिने बताईन । आफ्नो कार्यकालमा बिद्यालयहरुलाई बन्द हडताल मुक्त बनाउने बताईन ।

पार्टीका उम्मेदवारहरुलाई चुने उनिहरुले पार्टीको लागी काम गर्ने बताउदै उनले स्वतन्त्र उम्मेदवार चुने यसले स्वतन्त्रता पूर्वक काम गर्न पाउने खडकाको भनाई थियो । खडकाले आफु विजयी भए बर्षको कम्तिमा १ पटक सबै मतदाताको आगनमा पुग्ने प्रतिवद्धता जनाइन । यसको साथै उनले स्वास्थ्य, खानेपानी, सरसफाई, सम्बन्धि विकास गर्ने बताइन ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा