ताजा अपडेट »

एमालेकाे जित निश्चित छ, गठबन्धनसँग डराउनु पर्ने कारण नै छैन : एमाले सचिव विश्वकर्मा

आइतबार, १८ बैशाख २०७९, १६ : ४९
6 Shares

बुटवल । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य छबिलाल विश्वकर्माले गठबन्धनसँग एमाले डराउनु पर्ने स्थिती वा कुनै कारण नरहेको दाबी गरेका छन् । अधिकांश स्थानीय तहमा एमालेले जित दर्ता गर्दै बहुमत हासिल गर्ने दाबी गर्दै सोही अनुसार लाग्न नेता कार्यकर्तालाई निर्देशन गरेका छन् ।

नेकपा एमाले स्याङ्जा–रुपन्देही सम्पर्क मञ्चले आइतबार बुटवलमा आयोजना गरेको अगुवा कार्यकता भेलामा बोल्दै विश्वकर्माले निर्वाचनमा एमालेलाई हार्ने छुट कतैपनि नभएको बताउँदै सबै उम्मेवारहरुलाई विजयी गराउने गरी लाग्न निर्देशन गरे । ‘अर्को पटकको निर्वाचनमा एमालेका बिरुद्ध कसैले उम्मेदवारी दिने हिम्मत गर्न नसक्नेगरी पराजित गर्ने छौं ।’–विश्वकर्माले नेता कार्यकर्तालाई निर्देशन गर्दै भने, ३० गतेसम्म व्यक्तिगत, पेशागत सबै कामलाई थाती राखेर पार्टीलाई जिताउन लाग्नुस् ।’

कार्यक्रममा बोल्दै एमालेका तर्फबाट बुटवलको मेयर पदका उम्मेदवार बाबुराम भट्टराईले आफ्नो जितसँगै ‘समृद्ध बुटवल, खुसी जनता’को संकल्पलाई पूरा गर्ने उल्लेख गरे । एमाले विरुद्ध जतिसुकै मोर्चाबन्दी र गठबन्धन भए पनि आफ्नो जित निश्चित भएको उनले बताए । बुटवलमा पहिलो पटक निर्वाचित स्थानीय सरकारका जनप्रतिनिधिहरुले सुरु गरेका योजनाहरु पूरा गर्ने र नयाँ योजना लागू गर्नेगरी फेरी एमालेकै नेतृत्वमा बुटवललाई आर्थिक केन्द्रको रुपमा बिकास गरिने उल्लेख गरे ।

उप मेयर उम्मेदवार सावित्रा अर्यालले बुटवलमा विगतको सरकारले महिला अधिकार तथा समानताका साथै रोजगारका क्षेत्रमा गरेका कामहरुलाई थप व्यवस्थित र वृहत बनाउँदै लैजाने उल्लेख गरिन् । कार्यक्रममा लुम्बिनी प्रदेश प्रचार बिभाग सदस्य दिनेश पाण्डे, स्याङ्जा–रुपन्देही सम्पर्क मञ्चका अध्यक्ष रोमकान्त पाण्डे, सचिव सन्तोष अर्याल लगायत बोल्दै यस पटकको निर्वाचनमा जसरी पनि एमालेलाई जिताउनका लागि सबै आ–आफ्नो क्षेत्रबाट लाग्नु पर्नेमा जोड दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।