ताजा अपडेट »

आईजीपी नियुक्तिमा वरीयता मिचिएको भन्दै दुई एआईजी अदालत जाने तयारीमा

आइतबार, १८ बैशाख २०७९, १४ : २५

काठमाडौं । सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेपछि दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ले अदालत जाने तयारी गरेका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपीमा नियुक्त गरेपछि एआईजीद्वय विश्वराज पोखरेल र सहकुलबहादुर थापा अदालत जाने तयारीमा लागेका हुन् । त्यसका लागि उनीहरूले छलफल थालेका छन् । 
 
पोखरेल र थापा एआईजी बनेको एक वर्षपछि मात्रै सिंह एआईजीमा नियुक्त भएका थिए । त्यसैले पोखरेल र थापाले वरिष्ठता र कार्यसम्पादनका आधारमा आफू महानिरीक्षक हुनुपर्ने माग गर्दै अदालत जाने तयारी गरेका हुन् । गृह मन्त्रालयले समेत विश्वराजलाई पहिलो नम्बरमा राखेर आईजीपी बढुवाका लागि सिफारिस गरेको थियो । तर, प्रधानमन्त्री शेरबहादुर देउवाको दबाबमा सिंहलाई आईजीपी बनाइएको हो । 

आईजीपी नियुक्त गर्ने विषयमा प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाँणबीच मतभेद थियो । गृहमन्त्री खाँण पोखरेललाई नै आईजीपी नियुक्त गर्नुपर्ने अडानमा थिए । देउवाले सिंहलाई नै आईजीपी बनाउने बताएका थिए । आईजीपी नियुक्तिको विवाद पाँचदलीय गठबन्धनको बैठकमा समेत पुगेको थियो । जहाँ शीर्ष नेताहरू पनि विभाजित देखिएका थिए । 

प्रधानमन्त्रीको प्रस्तावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहमत देखिएका थिए । गृहमन्त्रीको प्रस्तावमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहमत थिए । आईजीपी नियुक्तिको विषयमा नेताहरूबीच सहमति जुट्न नसकेपछि प्रधानमन्त्री देउवा आफ्नै अडानअनुसार अघि बढेका हुन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।