ताजा अपडेट »

बुटवल र तिलोत्तमामा एमाले र गठबन्धनबीच कडा प्रतिस्पर्धा, जित्ने आ-आफ्नै दाबी

आइतबार, १८ बैशाख २०७९, १२ : ३४
10 Shares

बुटवल । बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकामा एमाले र गठबन्धनबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । बुटवलमा जसपाबाहेकको गठबन्धनसँग एमालेको राष्ट्रिय जनमुक्तिसँग तालमेल छ भने तिलोत्तमा नगरपालिकामा एकीकृत समाजवादीबाहेकको सत्ता गठबनधनसँग एमाले एक्लै प्रतिस्पर्धामा छ । गएको स्थानीय तहको निर्वाचनमा दुवै स्थानीय तहमा एमाले विजयी भएको थियो ।

बुटवल उपमहानगरपालिकामा मेयर, उपमेयरसहित १९ वडामध्ये १५ वटा वडामा एमाले विजयी भएको थियो भने तिलोत्तमा नगरपालिकामा मेयर, उपमेयरसहित १७ वडामध्ये १३ वटा वडामा एमालेले जित हासिल गरेको थियो । बुटवलमा करिब २३ सय मतको अन्तर थियो भने तिलोत्तमा करिब दुई हजार सातसय मतको अन्तरले एमालेले मेयरमा जित हासिल गरेको थियो ।

अहिले दुवै स्थानीय तहमा गठबन्धन र एमाले दुवैले आफूले जित्ने दाबी गरेका छन् । बुटवल उपमहानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार बाबुराम भट्टराईले आफ्नो कोही प्रतिस्पर्धी नै नभएको दाबी गरे । ‘बुटवल एमालेको गढ हो, यहाँ एमालेलाई कसैले चुनौती दिन सक्दैन,’ उनले भने । बुटवलको विकासका लागि आफूले अगाडि सारेका एजेन्डालाई यहाँका मतदाताले मन मराएकाले आफ्नो जित सहज भएको उनको दावी छ ।

उता गठबन्धनबाट मेयरका उम्मेदवार बनेका कांग्रेसका बुटवल नगर सभापति खेलराज पाण्डेले गत निर्वाचनमा एमाले २३ सय मतान्तरले मात्र विजयी भएकाले बुटवललाई एमालेको गढ भन्न नमिल्ने बताए । ‘गत निर्वाचनको परिणाम हेर्ने हो भने १२ सय मत यताउता हुनासाथ गठबन्धनको जित हुन्छ, त्यसैले यहाँ एमालेको गढ भन्न मिल्दैन,’ उनले भने ।

उता, तिलोत्तमा नगरपालिकामा पनि एमाले र गठबनधनबीच कडा प्रतिस्पर्धा देखिएको छ । एमालेबाट मेयरका उम्मेदवार बनेका प्रदेश कमिटी सदस्य मोहन चापागाईले आफूले फराकिलो मतान्तरसहित चुनाव जित्ने दाबी गरिरहेका छन् । ‘म यहाँ जन्मे हुर्केको स्थानीय हुँ, सबै नागरिकसँग दिनहुँ घुलमिल भएको छु, यहाँको विकास कसरी गर्नुपर्छ भन्नेबारे मलाई राम्रोसँग थाहा छ,’ उनले भने ।

गठबन्धनबाट मेयरको उम्मेदवार बनेका कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण भने लामो समयदेखि बुटवलमा बस्दै आएका छन् । गएको निर्वाचनमा बुटवलका बासिन्दा खाँणले तिलोत्तमामा चुनाव लडेको भन्दै आलोचना भएपछि केही समयअघि मात्रै उनले तिलोत्तमाको मणिग्राममा घर बनाएका हुन् । ‘मतदातासँग धेरै घुलमिल हुन नपाएपनि यहाँको समस्यासँग म जानकार नै छु, बिगतमा पराजय व्यहोरे पनि यसपाली मतदाताले अवसर दिनुहुन्छ भन्ने कुरामा म पूर्ण विश्वस्त छु,’ खाँणले भने । उनी गृहमन्त्री बालकृष्ण खाँणका सहोदर भाइ हुन् ।

गृहमन्त्रीले दुवै स्थानीय तहको निर्वाचनमा आफ्ना भाइलाई टिकट दिएको भन्दै कतिपय कांग्रेस कार्यकर्ता असन्तुष्ट छन् । उम्मेदवार खाँण भन्छन्, ‘गएको निर्वाचनमा असन्तुष्टी थियो, तर अहिले कांग्रेस एकढिक्का छ ।’  उनले एमालेलाई अहिले सजिलै हराउने दाबी गरे । दुवै उम्मेदवारले अहिले तिलोत्तमाका १७ वटै वडामा घरदैलो गरिरहेका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।