ताजा अपडेट »

आर्थिक संकटबीच श्रीलंकामा औषधिको मूल्यमा ४० प्रतिशत बृद्धि

आइतबार, १८ बैशाख २०७९, १० : ५०
4 Shares

कोलम्बो । आर्थिक संकटसँग जुँधिरहेको श्रीलंकाले सामान्य रूपमा प्रयोग हुने औषधिको मूल्यमा तीव्र वृद्धि गरेको छ । यो ६ हप्ताकाे अवधिमा दोस्रोे बृद्धि हो । एन्टिबायोटिक्स, निश्चित पेन किलर्स र मुटुसम्बन्धी औषधिको मूल्यमा ४० प्रतिशत बृद्धि गरिएको हो । श्रीलंकामा औषधिको चरम अभाव देखिएको छ । आपूर्तिको लागि विदेशमा नै निर्भर गर्नुपर्ने बाध्यता छ । 

सरकारले खाद्यान्न र औषधिहरूसहित केही आवश्यक वस्तुहरूको आयातमा प्रतिबन्ध लगाएको थियो । ‘यो सरकारले स्वेच्छाले गरेको निर्णय होइन’, श्रीलंकाका सञ्चार मन्त्री नालाका गोदाहेवाले भने । रुपैयाको अवमूल्यन र अधिकांश औषधि निजी क्षेत्रबाट आयात हुने भएकाले सरकारसँग विकल्प नभएको उनले बताए । मूल्य बृद्धि नगरे गम्भीर अभाव हुन सक्ने उनले बताए । औषधि अभावले तोकिएभन्दा कम औषधि किन्न बाध्य भएको भन्दै स्वास्थ्यकर्मी चिन्तित छन् । 

‘अवस्था निकै खराब छ । कहिलेकाहीँ एन्टिबायोटिकहरू पाँच दिनको लागि निर्धारित गरिन्छ । तर, अहिले मेरा ग्राहकले दुई/तीन दिनको लागि मात्र एन्टिबायोटिक मागिरहेका छन्’, कोलम्बोमा फार्मेसी चलाउने रुचिरा हेवावासमले भनिन् । 

उच्च मूल्य तिर्न इच्छुक र सक्षम भएकाहरूका लागि पनि केही औषधिहरूको आपूर्ति कम भएकोमा केही चिन्तित छन् । मध्य रत्नपुरा जिल्लामा बस्ने वेलुपिल्लई विग्नेश्वरन विगत एक वर्षदेखि गम्भीर न्यूरोलोजिकल डिसअर्डरबाट पीडित आफ्नी बहिनीका लागि औषधिको ट्याब्लेट खोजिरहेका छन् । 

‘हामीले धेरै फार्मेसीहरू खोज्यौँ तर औषधिहरू उपलब्ध छैनन् । डाक्टरहरूले हामीलाई फरक औषधि नखान सल्लाह दिएका छन् ।  हामी हाम्रा साथीहरूमार्फत भारतबाट औषधि ल्याउँदै छौँ,’ उनले भने ।-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।