ताजा अपडेट »

श्रमिकको स्वास्थ्य र सुरक्षा

आइतबार, १८ बैशाख २०७९, ०९ : ००
26 Shares

आइएलओका अनुसार अहिले विश्वमा करिब २ अर्ब ७० करोड श्रमिकहरु कार्यरत छन् र श्रमिकहरुले आफ्नो जीवनको एक तिहाइ समय कार्यस्थलमा बिताउने गरेका छन् । लामो समय कार्यस्थलमा बिताउने भएकोले श्रमिकहरुको कार्यस्थलको सुरक्षा र व्यवसायजन्य स्वास्थ्यलाई आधारभूत मानव अधिकार मान्ने गरिन्छ । यति हुँदाहुँदै पनि ब्यवसायिक प्रतिष्ठान र असंगठित क्षेत्रमा काम गरेका अरु धेरै श्रमिकहरु कार्यस्थलको असुरक्षित र अस्वस्थ वातावरणको कारणले काम छोडेका, अंगभंग भएका, दिर्घरोगहरु बोकेर बाँचेकाहरुको संख्या समुदाय उल्लेख्य मात्रामा देखिन थालेका विभिन्न अध्ययनहरुले देखाएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार कामको सिलसिलामा २ करोड ७० लाख मानिस दुर्घटनामा पर्ने र दुर्घटनामा परेर हरेक वर्ष विश्वमा दुईलाख मानिसको ज्यान जाने तथा एक करोड ६० लाख अपांग हुने गरेका छन् । यस्तै जोखिमपूर्ण कामबाट हरेक वर्ष विश्वमा ४ लाख ४० हजार श्रमिकको स्वास्थ्यमा असर पर्ने गरेको तथ्यांक छ ।

गत आर्थिक वर्षसम्म नेपालमा साना, मझौला र ठूला गरी ८,३८४ उद्योग दर्ता भएका छन् । प्रति उद्योग ७५जनाको दरले सबै उद्योगमा कूल ६ लाख २४ हजार ६६० जना श्रमिकहरु कार्यरत रहेको अनुमान छ ( आर्थिक सर्भेक्षण २०७७÷७८) । नेपालका अधिकांश उद्योगहरु पुरानो परम्परागत प्रविधिमा आधारित छन् ।

यस्ता उद्योगहरुले पर्याप्त मात्रामा धँुवा ,धुलो, ताप, रासायनिक पदार्थ, ध्वनि जस्ता हानिकारक पदार्थहरु उत्सर्जन गरिरहेका छन् । अस्वस्थकर र असुरक्षित कार्य वातावरणमा काम गर्नु हुँदैन भन्ने थाहा भएपनि गरिबी र बेरोजगारीको कारणले मजदुरहरु आफ्नो स्वास्थ्यमा उद्योग भित्रको वातावरणाले प्रतिकुल असर पारिरहदा पनि जागिर जाला भन्ने डरले आफ्नो जीवनलाई नै जोखिममा पारेर काम गर्न बाध्य भएको जिफन्टले सन् २०११ मा गरेको श्रमिकहरुको ब्यवसायजन्य स्वास्थ्य र सुरक्षा सम्बन्धि एक अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

नेपालमा श्रमिक र उद्योगका सञ्चालक ब्यवस्थापकहरुको सम्बन्धलाई स्पष्ट बनाउने र श्रमिकहरुको हकहितको व्यवस्था गर्नको लागि बनेको श्रम ऐन २०७४ ले श्रमिकहरुको व्यवसायजन्य सुरक्षा र वातावारणिय स्वच्छताको अधिकारलाई स्पष्ट ढंगले तोकेको छ ।

श्रम ऐन २०७४को दफा ६८मा कार्यस्थलमा सुरक्षा र स्वास्थ्य सम्बन्धी उचित प्रबन्ध गरी काम गर्ने सुरक्षित वातावरण बनाउने, कार्यस्थलमा रासायनिक, भौतिक वा जैविक पदार्थ वा उपकरणको प्रयोग, सञ्चालन, सञ्चय र परिवहन गर्दा सुरक्षा र स्वास्थ्यमा प्रतिकूल असर नपर्ने व्यवस्था मिलाउने, श्रमिकलाई आवश्यकता अनुसार सुरक्षा र स्वास्थ्य सम्बन्धी आवश्यक सूचना, जानकारी र तालिम प्रदान गर्ने, श्रमिकलाई उपकरण वा कामसँग सम्बन्धित रासायनिक, भौतिक वा जैविक पदार्थको प्रयोग र सञ्चालनका सम्बन्धमा आवश्यक तालिम र जानकारी उपयुक्त भाषामा दिने, कार्यस्थलमा सुरक्षित रुपमा प्रवेश गर्ने तथा निस्कने समुचित व्यवस्था गर्ने र श्रमिकलाई आवश्यकता अनुसार व्यक्तिगत सुरक्षा साधन उपलब्ध गराउने जस्ता वातावरणिय स्वास्थ्य र सुरक्षा सम्बन्धि प्रावधानहरुको ब्यवस्था गरिएको छ ।

श्रम ऐनमा उल्लेखित प्रावधान अनुसारको श्रमिक सुरक्षा र स्वास्थ्यको व्यवस्था नगर्ने उद्योग संचालकलाई दण्ड सजाय हुने व्यवस्था ऐनले गरेको भएपनि अहिले सम्म यो विषयलाई ब्यवसाय संचालकहरुले गम्भिरतापूर्वक लिएको पाइँदैन । कामको शिलसिलामा कुनै मजदुर दुर्घटनामा परेमा गुपचुपमा सामान्य उपचार र क्षतिपूर्ति दिएर पठाउने भएकोले समस्याको बारेमा धेरैलाई थाहा नै हुँदैन । ब्यवसायिक प्रतिष्ठानको प्रदुषण र अस्वस्थ वातावरणको असर श्रमिकहरुमा ढिलो देखिने भएकोले श्रमिक र श्रमिक संगठनहरुले ब्यवसायजन्य स्वास्थ्य र सुरक्षाको पक्षमा सशक्त ढंगले आवाज उठाएको पाइँदैन ।

उद्योग संचालकहरुले श्रम ऐन २०७४ले तोकेको स्वास्थ्य र सुरक्षा सम्बन्धि सुविधाहरु आफ्नो उद्योगमा व्यवस्था गर्दा उद्योगहरु श्रमिक मैत्री बन्नुको साथै श्रम विवादमा कमि आइ उद्योगले अधिकतम श्रमिक उत्पादकत्व हासिल गर्न सक्ने र यसले उद्योग संचालकहरुले लगानी भन्दा धेरै गुणा प्रतिफल हासिल गर्न सक्छन् । श्रमिकहरुको स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्नुलाई धेरै उद्योग संचालकहरुले अतिरिक्त भारको रुपमा लिने गरेको समेत पाइन्छ ।

तर, औद्योगिक नीति २०६७ र औद्योगिक व्यवसाय ऐन २०७३ ले उद्योगले आफ्नो श्रमिक तथा कर्मचारीको दिर्घकालिन हित एवम् भलाईको लागि गरेका खर्चहरु आयकर प्रयोजनको लागि खर्च कट्टी गर्न पाउने व्यवस्था गरिएकोले श्रमिकहरुको स्वास्थ्य, वातावरणिय स्वच्छता र सुरक्षाका उपायहरु अपनाउदा उद्योग संचालकलाई कुनै भार नपर्ने गरि यस्ता कार्य गर्न सकिने भएपनि सन्चालकहरुले यसलाई खासै वास्ता गरेको देखिन्न ।

श्रमिकको कार्यस्थललाई स्वस्थ, सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन पहिलो पटक राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य नीति, २०७६ ल्याएको छ । श्रमिकको सुरक्षा, स्वास्थ्य र कार्य वातावारनामा सुधार गर्नु, कार्यस्थलमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि जोखिम न्युनिकरण गर्नु, र यसको उचित प्रावधानद्वारा उत्पादन बढाउनु यस नीतिका उद्देश्यहरु रहेका छन् । यस नितिमा कार्यस्थलमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सुनिस्चित गर्न रोजगारदाता र श्रमिक दुवै पक्षलाई जिम्मेवार एवम् जवाफदेही बनाउने, व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यका असल अभ्यास गर्र्ने रोजगारदातालाई प्रोत्साहन र सम्मान गर्ने, न्यून जोखिमयुक्त मेशिनको प्रयोगलाई प्रोत्साहित गर्ने जस्ता कार्यनीतिहरु तय गरिएको छ ।

यसैगरी कार्यस्थलमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य व्यवस्थापन प्रणाली लागू गरिने र इजाजत प्राप्त परीक्षकबाट व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य परिक्षण गरिने कुरा पनि सो नीतिमा उल्लेख गरिएको छ । पाँच–पाँच वर्षमा पुनरावलोकन गर्ने गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तय गरेको उक्त नीतिलाई व्यवहारिक रुपमा कार्यान्वयनमा ल्याउन सकियो भने नेपाली श्रमिकहरुले कार्यस्थलमा भोग्नु परिरहेको स्वास्थ्य र सुरक्षा जोखिम पक्कैपनि कम हुनेछ ।

सम्पूर्ण मानवलाई बचाउन र समुन्नत बनाउन श्रमिक वर्गको अतुलनीय योगदान रहेको हुन्छ । समाजलाई चलाउने यिनै श्रमिक वर्ग बाध्यता र अज्ञानताको कारणले गर्दा कार्यस्थलको वातावरणबाटै असुरक्षित र अस्वस्थ बनेर कष्टकर जीवन विताउन र अकालमा मृत्युवरण गर्न बाध्य छन् । अहिले स्थानीय तहको निर्वाचनको सरगर्मी चढेको छ ।

नेपालका सबै दलहरुले आर्थिक, सामाजिक र वातावरणीय क्षेत्रको लागि आफ्ना प्रतिवद्धताहरु सार्वजनिक गरिरहेका छन् । श्रमिकवर्गबाटै नेतृत्व तहमा पुगेका नेताहरु सबै दलहरुमा छन् । यति हुदाहुदै पनि दलहरुका घोषणा पत्र र चुनावी प्रतिवद्धतामा श्रमिकहरुको वातावरणीय स्वास्थ्यका कुराहरु पर्न सकेका छैनन् । देशमा उत्पादन र अर्थातन्त्रलाई जोगाउने महत्वपूर्ण भूमिका खेलिरहेका श्रमिकहरुप्रति दलहरुको वेवास्था वास्तवमै दुखद कुरा हो ।

श्रमिकलाई असुरक्षित र अस्वस्थकर वातावरणमा काम गर्न बाध्य पार्नु उनीहरुको लागि मात्र नभएर व्यवसाय सञ्चालक र समाजको लागि दिर्घकालिन रुपमा निकै घातक हुनेछ । त्यसैले कार्यस्थलमा प्रचलित ऐन, कानून र नीतिहरुले व्यवस्था गरे अनुसारको व्यवसायजन्य सुरक्षा र स्वास्थ्यका उपायहरु अपनाएर उच्च उत्पादन र दिगो समृद्धि सुनिश्चित गर्न ढिलो गर्नु हुँदैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।