ताजा अपडेट »

भैरहवामा व्यवस्थित फोहोर प्रशोधन केन्द्र बनाउन पहल गर्छु : पुन

शनिबार, १७ बैशाख २०७९, २२ : २९
4 Shares

भैरहवा । नेकपा एकीकृत समाजवादीले सिद्धार्थनगर नगरपालिकामा घरदैलो सुरु गरेको छ । शनिबारबाट वडा नम्बर २ देखि घरदैलो सुरु गरिएको पार्टीका नगर अध्यक्ष रामबहादुर बस्नेतले जानकारी दिए ।

मेयर पदका उम्मेदवार कुलेन्द्र पुन, वडा नम्बर २ का वडाध्यक्ष पदका उम्मेदवार सुनिलकुमार पुनसहित वडासदस्य समूहले घरदैलो गरेको थियो । घरदैलो सुरुवातका दिन पार्टी कार्याकर्ता, शुभेच्छुक तथा स्थानीय उल्लेख्यनीय सहभागिता रहेको समाजवादीले जनाएको छ ।

घरदैलोका क्रममा वडाबासीले एकीकृत समाजवादीको नीति, सिद्धान्त तथा उम्मेदवारहरुले वडा एवं नगरमा आफूले अघि सारेका योजनाबारे स्थानीयलाई जानकारी गराएका थिए । स्थानीयले समाजवादीले अघि सारेका शिक्षा, स्वास्थ्य, नगर विकास, लक्षित समुदायको उत्थानलगायतका मुद्दा राम्रा भएको प्रतिक्रिया दिएको नगर पार्टीका युवा नेता सार्दुलमयुर कसौधनले जानकारी दिए ।

घरदैलोका क्रममा मेयरका उम्मेदवार पुनले वडा नम्बर दुईलाई हरियाली, सुफासुग्गर र यहाँको स्वास्थ्य तथा शिक्षामा आफूले जिते सुधारका काम गर्ने बताए । सुगम जिल्ला भएर पनि यो वडामा राम्रो शैक्षिक संस्था, सरकारी स्वास्थ्य सुविधा नभएको बताउँदै पुनले आफू निर्वाचत भए स्थानीयको सल्लाहसुझाव अनुसार यी क्षेत्रमा काम गर्ने बताए ।

नगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसक्दा वडाबासीलाई सास्ती भएको भन्दै मेयर उम्मेदवार पुनले व्यवस्थित फोहोर प्रशोधन केन्द्र बनाउन लागि पर्ने जनाए । नगरपालिकाले वडानम्बर दुई डण्डा नदीको छेउमा अहिले फोहोर फ्याँक्दै आएको छ । जसले गर्दा स्थानीयले दुर्गन्धको सामाना गर्नु परिरहेको छ । पुनले आफ्नो पहिलो प्राथमिकता नै फोहोर व्यवस्थापन हुने र दुर्गन्धबाट स्थानीयलाई टाढा राखिने प्रतिबद्धता जनाए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।