ताजा अपडेट »

तिलोत्तमामा एमालेको योजना : सबै माध्यमिक विद्यालयमा नर्स

शनिबार, १७ बैशाख २०७९, १८ : ३१
2 Shares

बुटवल । एमालेले रुपन्देहीको तिलोत्तमाका नगरपालिकाका सबै माद्यामिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम लागू गर्ने योजना अगाडि सारेको छ ।

विद्यार्थीको स्वास्थ्य चेकजाँचलाई मध्यनजर गर्दै एमालेले उक्त योजना अघि सारेको जनाएको हो । चुनावी प्रतिबद्धता पत्रमार्फत एमालेले नर्स कार्यक्रम लागू गरी विद्यालयमा अध्ययनरत विद्यार्थीको स्वास्थ्य चेकजाँचको व्यवस्था गर्ने र प्राथमिक उपचारको समेत प्रबन्ध गर्ने योजना ल्याएको छ ।

हाल तिलोत्तमा नगरपालिकाभित्रका १२ वटा सामुदायिक माद्यामिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम लागू भएको छ । आगामी पाँच वर्षभित्रमा सबै माद्यामिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम विस्तार गर्ने र यसका लागि संघ र प्रदेश सरकारसँग समन्वयात्मक पहल गरिने प्रतिवद्धतापत्रमा उल्लेख छ ।  

त्यसैगरी मावि तहको पाठ्यक्रममा कृषि विषयलाई समावेश गर्ने योजना पनि एमालेले अगाडि सारेको छ । त्यस्तै निजी स्रोतबाट नियुक्त गरिने शिक्षकहरूलाई न्यूनतम परिश्रमिक उपलब्ध गराउने नीति लागू गर्न सबै विद्यालयमा अनुगमन गरिने एमालेको प्रतिबद्धता छ ।

त्यसैगरी एमालेले तिलोत्तमा नगरपालिका-१४ मा सिटी कलेज सञ्चालनार्थ भवन निर्माण भइसकेकाले आगामी वर्ष प्राविधिक तथा व्यावसायिक तालिम केन्द्र (सिटिइभिटी) बाट सम्बन्धन प्राप्त गरी विभिन्न विधामा कक्षा सञ्चालन गरिने जनाएको छ । त्यस्तै विद्यार्थीहरूमा नैतिक तथा व्यावहारिक शिक्षा प्रदान गर्ने योजना पनि एमालेको छ । 'यसका लागि अतिरिक्त कक्षा वा विषय सञ्चालन गर्न र एक विद्यालय एक पुस्तकालय तथा वाचनालय स्थापना गर्न प्रोत्साहित गरिने छ,' एमालेको प्रतिवद्धतापत्रमा लेखिएको छ ।

एमालेका मेयर पदका उम्मेदवार मोहन चापागाईंले घोषणापत्रमा उल्लेख गरिएका कुरा कार्यान्वयन गरेरै छाड्ने बताए । 'हामीले प्रतिवद्धतापत्रमा काल्पनिक कुरा लेखेका छैनौं, सबै कुरा कार्यान्वयन गर्न सकिने खालका छन्, नगरबासीलाई साथमा लिएर हाम्रा योजना अगाडि बढाउँछौं,' उनले भने ।

त्यस्तै तिलोत्तमा नगरपालिकामा रहेको संस्कृत विद्यापीठको पनि प्रवर्द्धन गरिने एमालेले जनाएको छ । सामुदायिक विद्यालयमा कायम हुनुपर्ने शिक्षक विद्यार्थी अनुपातलाई व्यवस्थित गरिने पनि एमालेको योजना छ ।

शिक्षामा लैंगिक असमानताको उन्मूलन गर्ने र शारीरिक अशक्तता भएका व्यक्तिलगायत जोखिममा रहेका व्यक्तिहरू, आदिवासी तथा जनजाति र जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकालाई सबै तहको शिक्षा तथा व्यावसायिक तालिममा समान पहुँच सुनिश्चित गरिने एमालेको प्रतिवद्धतापत्रमा उल्लेख छ ।

दिगो विकास तथा दिगो जीवन शैली, लैंगिक समानता र सांस्कृतिक विविधता संरक्षणका लागि शिक्षामा दिगो विकास प्रवर्द्धनात्मक आवश्यक ज्ञान तथा सिप प्राप्त गर्ने कुरालाई सुनिश्चित गरिने एमालेले बताएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।