ताजा अपडेट »

एमाले उम्मेदवारहरुले प्रस्तुत गरे बुटवल बनाउने सात संकल्प

शनिबार, १७ बैशाख २०७९, १५ : ४७
8 Shares

बुटवल । बुटवल उपमहानगरपालिकाको विकासका लागि सात संकल्पसहित एमालेका उम्मेदवारहरु चुनावी मैदानमा होमिएका छन् । बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि अहिलेको नेतृत्वले शुरु गरेका महत्वपूर्ण आयोजनालाई निरन्तरता दिदै मुख्यतः सात योजनालाई अघि सारेको हो ।

‘हामीले धेरै कुरा भनेर होइन, धेरै काम गरेर जनतालाई विकासको अनुभूति गराउनु छ, एमालेका बुटवल मेयर उम्मेदवार बाबुराम भट्टराईले भने, -‘५ वर्षमा मुख्य सात एजेण्डालाई लिएर बुटवलको आधुनिक विकास गरेर देखाउनेछौं ।’ एमालेले बुटवललाई आर्थिक केन्द्रका रुपमा विकास गर्ने पहिलो एजेण्डा बनाएको छ । आर्थिक राजधानी निर्माणका लागि प्रदेश सरकारले समेत संकल्प गरेको थियो । उपमहानगरले त्यसलाई आत्मसाथ गर्दै यो एजेण्डालाई अगाडि बढाएको हो । आर्थिक राजधानी निर्माणका लागि उद्योग, ब्यापारलाई अनुकुल वातावरण वनाउने, शिक्षा, स्वास्थ्य र पर्यटनका अपार सम्भावनालाई उजागर गर्ने, त्यस अनुरुपका पूर्वाधार वनाउने योजना एमालेका छन् । मोतिपुर औद्योगिक करिडोरलाई प्रभावित नागरिकको हक सुरक्षित हुने गरी कार्यान्वयन गर्न सक्दा धेरै ठूलो जनशक्ति खपत गर्न सकिने विश्वास उम्मेदवारहरुलाई छ ।

आर्थिक केन्द्र बनाउनका लागि निर्यातको ठूलो हिस्सा लिने उद्योगको प्रवर्द्धन गरिने मेयर यम्मेदवार भट्टराईले बताए । निजी क्षेत्रलाई काम गर्ने वातावरण बनाउने नीति रहेको उनले बताए । स्थानीय उत्पादनलाई लेवलिङ तथा प्याकेजिङ गरी पहिचानमा जोड दिइ ब्राण्डिङ्ग गर्ने, साना तथा घरेलु उद्योगको स्थायित्व, विकास र प्रवद्र्धनका लागि सहयोग र समन्वय गर्ने नीति एमालेको छ ।

स्थानीय कच्चा पदार्थको उपयोग बढाउने, बुटवलको हाटबजारलाई आधुनिक बजारको रूपमा विकास गर्नका लागि जमिनमुनि भूमिगत बजार र माथि पार्किङ्ग रहने गरी नेपालकै नमुनायोग्य बहुउद्देश्यीय बजार केन्द्र बनाउने योजना छ । रोजगारदाता र श्रमशक्तिका बीच समन्वय गर्नका लागि स्थापित मजदुर बैंक पोर्टल एपलाई प्रभावकारी बनाई श्रम आपूर्ति र रोजगार व्यवस्थापनको कार्य गर्ने योजना पनि रहेको छ ।
दोश्रो एजेण्डामा बुटवल ऐतिहासिक र पुरातात्विक महत्वलाई उजागर र संरक्षण गर्दै पुरानो बटौलीलाई परम्परागत वजारको रुपमा स्थापित गर्ने रहेको छ ।

‘पुरानो बुटवललाई ऐतिहासिक सम्पदा वस्तीको रुपमा विकास गरेर पर्यटकीय क्षेत्रको रुपमा स्थापित गर्न सकिन्छ । त्यो गर्नुपर्छ, उपमेयर उम्मेदवार साबित्रादेवि अर्याल भन्छिन,-‘अंग्रेजलाई परास्त गरेको जितगढी किल्ला र मणिमुकुन्दसेनको शितकालिन दरवार पुरातात्विक महत्वको हिसावले अर्थपूर्ण छन् । यिनको विकास, संरक्षण र सम्वन्धनका लागि केही प्रयास भएका छन् जसलाई अझै ब्यवस्थित र नयाँपन गराउनुपर्ने छ ।’
बर्तमान नगरपालिकाको नेतृत्वले जितगढी किल्लाको डीपीआर बनाएको त्यसलाई तुरुन्त कार्यान्वयन गरिने योजना आगामी नेतृत्वको हुनेछ । १ करोड १० लाख वर्ष पुरानो मानव अवशेष विषयलाई स्थापित गर्दा पनि बुटवलको पहिचान बढाउन सकिने अर्यालले बताइन ।

चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष एवं केन्दीय सदस्य टंकप्रसाद पोखरेल बुटवलको परम्परागत शहरलाई आधुनिक र ऐतिहासिकतालाई प्रवर्द्धन गर्ने नीति जनप्रतिनिधिमा हुनुपर्ने बताउछन् । जीतगढीलाई पर्यटनसंग जोडर बुटवलको प्रवर्द्धन गर्नुपर्ने उनको सुझाव छ ।

एमालेले तेश्रो एजेण्डामा तिब्र भइरहेको बसाई सराईको व्यवस्थापनलाई लिएको छ । बसाईसराईसँगै हुने जनघनत्वलाई आवश्यक आधरभूत पक्षको विकासमा योजनाबद्ध काम गर्ने नीति एमालेले बनाएको छ । उच्च र गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिने, स्वास्थ्य उपचारको सहज पहुँच भएको र रोजगारीका पर्याप्त सम्भावना भएको यो क्षेत्र हुनुले बसाई सराईको चाप बुटवलमा छ । यसका लागि पर्याप्त जग्गाको अभाव छ । भएको जग्गालाई ब्यवस्थापन गरेर आधुनिक र ब्यवस्थित सहर वसाल्नुको विकल्प नभएकाले मोतिपुर र सेमलारमा आधुनिकर शहर निर्माणको सम्भाव्यता खोजिने योजना उम्मेदवारले बनाएका छन् । बहुतले घर वनाएर नयाँ आवासको ब्यवस्था गर्ने योजना र लगानीको वातावरण उपमहानगरले बनाउने हो । यसले बुटवललाई आधुनिक बनाउने विश्वास उम्मेदवारमा रहेको छ ।

बुटवललाई विकासको मानक बनाउने चौथो एजेण्डा एमालेले सार्वजनिक गरेको छ । काठमाण्डौंपछि तेस्रो बरियताको शहरमा नाम आउने बुटवललाई आधुनिक र अन्तर्राष्ट्रिय शहर बनाउने दायित्व आफूहरुले लिने एमालेका उम्मेदवारले जनाएका छन् । पूर्वाधार विकास तथा मर्मत सम्भारका लागि पूर्वाधार विकास तथा व्यवस्थापन बोर्ड गठन गरिने, बुटवलका मुख्य सडक र राजमार्गहरूलाई हरियाली, सफा र उज्यालो बनाउने, बुटवलदेखि एयरपोर्ट हुँदै लुम्बिनीसम्मको पर्यटकीय पर्यावरणमैत्री यातायात सेवा सञ्चालन गरिने योजना छ ।

सुकुम्वासी, अब्यवस्थित वसोवास व्यवस्थापन अर्काे एजेण्डा एमालेले बनाएको छ । ‘धेरैलाई लाग्छ सुकुम्बासी र अव्यवस्थित बसोबास बुटवलको समस्या हो । तर यो समस्या हैन समाधान हो, मेयर उम्मेदवार भट्टराई भन्छन,-‘भूई तहका मान्छेको ब्यवस्थापन गर्दा यो अझै ब्यवस्थित हुन सक्छ । उनीहरु यहाँ किन आउन खोज्छन् भन्दा खेरी यहाँ वाँच्न सकिन्छ । वाँच्न सक्ने वातावरण बुटवल आफैले गरेको छ भने यसलाई थोरै मात्र ब्यवस्थापन गर्दा सहरको आवश्यकता पूरा हुन सक्छ ।’ यो आवश्यकता पूरा गर्नका लागि वुटवलले संघ, प्रदेशसमेतलाई प्रयोग गरेर काम गर्ने एमालेको योजना छ ।

सीप, योग्यता र क्षमता भएका ब्यक्तिलाई विदेशिनबाट रोक्ने अर्काे एजेण्डा एमालेको छ । ती जनशक्तिलाई स्वदेशमै रोक्न सक्ने स्पष्ट खाका ल्याइने उम्मेदवारको भनाई छ ।

रुपन्देही जिल्ला गौतमवुद्वको पवित्र भूमि हो । अन्तरराष्ट्रिय विमानस्थल वनिसकेको अवस्थामा धेरै अवसर सिर्जना हुनेभन्दै त्यसबाट बुटवलले फाइदा लिने गरी योजना बनाइएको मेयर भट्टराईले बताए । ‘बुटवल नजिकै हिल स्टेशन बनाउने प्रसस्त आधार छन, तिनाउमा जल पर्यटनको व्यवस्थापन गर्न सकिन्छ, यसमा हामीले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति बनाउनेछौं, उनले भने । बुटवलको विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले आधुनिक बुटवल निर्माणमा पनि निजी क्षेत्र मैत्री नीति अंगिकार गरिने उनले बताए ।

बुटवलमा सुरक्षा, सहज यातायात व्यवस्थापन, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाका एजेण्डा प्राथमिकतामा रहेको उपमेयर प्रत्यासी अर्यालको भनाई छ । आधुनिक बुटवल निर्माणका लागि लैंगिकमैत्री वातवरण बनाउने जिम्मेवारी आफूहरुले लिने उनले बताइन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।