ताजा अपडेट »

आँसु नझारी निलेको गास छैन

शनिबार, १७ बैशाख २०७९, १४ : ४७
79 Shares



छोराछोरीहरुमा आशीर्वाद !
आराम छु । आरामको कामना गर्दछु । प्यारा छोराछोरी । उता तिमीहरु काममा व्यस्त छौं। यता तिम्री आमा तिमीहरुलाई सम्झनमा व्यस्त । तिमीहरुलाई याद नगरेको कुनै पल छैन । तिमीहरुलाई नसम्झि पाकेको कुनै छाक छैन । आँसु नझारी निलेको कुनै गास छैन । विरक्त नलागेको कुनै चाड छैन । फिका नलागेको कुनै दिन छैन । मस्तसँग निदाएको कुनै रात छैन । अब मात्र निद्राको औषधि सेवन गर्न मात्र बाँकी छ ।
मेरो पनि मन नै हो । आफ्नो छोराछोरीसँग चाहेको समयमा भेटघाट गर्न नपाउदा मन कँुडिएर आउदो रहेछ । जिउ भारी हँुदो रहेछ । भौतिक अनुपस्थिति सारै खड्केर आउँदो रहेछ । प्रत्येक पल तिमीहरुलाई मेरा हातले अर्गानिक दुध, ध्यू, खुवा, तरकारी, मासु र अन्य खाद्यान्न खुवायको याद आउछ । विशेषगरी वाल्यकालमा एउटै रङ्गका कपडा किनिदिएको मानसपटलमा घुमिरहन्छ ।

एकछाक खाना, एकसरो लुगा र पढाउनका लागि संघर्ष गर्नुपरेको तितो सम्झना आइरहन्छ । त्यो संघर्षको परिणाम स्वरुप तिमीहरु आज आफ्नो पेशामा अब्बल छौँ । समाजमा प्रतिष्ठित भएर बाच्न पाएका छौ । त्यो नै मेरो आत्मसन्तुष्टि हो । फलानोको छोराछोरी भन्दा गर्व लाग्छ । यसमा म केवल आफ्नो कर्तब्य पुरा गरेको मात्र महशुस गरेकी छु ।

मैले कहिल्यै आँफूले दिएको माया वा बलिदानको बदला चाहँदिन । प्रतिफल, फाइदा खोजेकी छैन । पँैचो तिरुन् भन्ने मेरो ध्येय होइन । कहिल्यै छोराछोरीको मायालाई आफ्नो मायासँग मैले तौलेर हेर्दिन । कामै छाडेर मेरो सेवा गर भन्ने इच्छा राख्दिन । तर, यो कुरा बुझ कि आमाको माया अन्यको भन्दा पृथक हुन्छ । भावानात्मक हुन्छ । त्यसैगरी अन्य सबै प्रकारका सम्वन्धहरुमा मेरो र तेरो भनी तौलने गरिन्छ तथापि आमाको मायामा यस्तो बाकांशले कहिल्यै ठाउँ पाँउदैन । त्यसैले तिमीहरुलाई हुर्काएकोमा कुनै कुराको अपेक्षा छैन ।

मिठो मसिनो खाने चाहना छैन । राम्रो लुगाको चाहना छैन । महल चाहिएको छैन । चाहिएको चिज आफ्ना छोराछोरीको समुन्नत भविष्य हो । परिवारमा सुख शान्ति हो । समयको अभाव त छँदैछ । त्यसको बावजूद मसँग दिनको एकाध घण्टा समय बिताउन सके हुन्थ्यो भन्ने हो । सकेसम्म भौतिक रुपमा नै । नसकेमा केवल मलाई सम्झिदिए पुग्छ । स्मृितमा राखिदिए पुग्छ ।

छोराछोरी हो, धन र मन सारै फरक पक्षहरु रहेछन् । यी दुईबीच गोरु बेचेको साइनो पनि रहेन छ । उमेर भएकालाई तुलनात्मक रुपमा केही हदसम्म धनसम्पत्तिले खुसी बनाउला । तथापि त्यो धनले बृद्धलाई थप सुख दिन सक्दो रहेनछ । तिमीहरुले कहिलेकाही बैंकमा पठाएको पैशा कस्ले घर सम्म ल्याउने ? पैशा नै घरमा भएपनि त्यसले केनै गर्न सक्छ र ? कागज रुपी पैशाले बृद्धावस्थामा परेको दुःखमा साथ दिन नसक्दो रहेछ । पैसासँग हाम्रो आत्मियता नहुँदो रहेछ ।

सायद संसारमा किनेर धेरै चिज बस्तु पाइन्छ । तथापि सेवा भाव नपाइने रहेछ । अपनत्व पाइदो रहेनछ । यो भावना केवल छोराछोरीबाट पाइने रहेछ । जो आजसम्म आकाशको फल आँखा तरी मर भने जस्तो सावीत भइरहेको छ । दिनानुदिन त्यो आशा पनि मर्ने हो कि भन्ने चिन्ता बढेको छ ।

मलाई तिमीहरुले अपेक्षित सेवा गर्न सकेका छैनौ । तथापि सम्झेका छौ । त्यो नै मेरो लागि अहम् कुरा हो । अझ मूल कुरा त तिमीहरुको आमा बन्न पाउनु नै मेरो सौभाग्य हो । तिमीहरु अझ भाग्यमानी छौ । आमाको माया पाएकै छौ । आफ्नो परिवार, छोराछारीसँगै सुखको संसारमा बस्न पाएका छौँ । केही न केही अर्थोपार्जन गरेकै छौं । अपितु संसारले किटेको त्यो सौभाग्यको वास्तविक अपनत्व मैले पाउन सकेकी छैन । तिमीले जसरी आफ्ना छोराछोरीसँग माया, ममता बाडिचुँडी गर्न पाएका छौ, त्यो अवसर मलाई कहिले मिल्ने ? त्यो सौभाग्य मलाई प्राप्त हुने ?

तिमीहरुले आमालाई आर्थिक रुपमा सुख सयलमा राख्ने प्रयत्न गरेकै छौ । दुःख नपरोस् भनेर सधैँ ध्यान दिएकै छौ । घरमा सुविधामा कमी नहोस भन्ने चाहेकै छौ । तथापि हामी बिरामी पर्दा आफ्नो कर्तब्य निभाउन सकेका छैनौ । चाहिने बेलामा सहारा दिन सकेका छैनौ । आड, भरोसा दिन सकेका छैनौ । यथार्थ यस्तो छ कि गाउँमा अलिअलि बिरामी हुँदा आइहाल्न मिल्दैन ।

त्यसैले उहीबाट चेकजाँच गरेर औषधि सेवन गर्न भन्छौ । अलिक बढी भएमा अस्पताल गएर भर्ना हुन भन्छौ । अलि बढी नै बिसन्चो भएमा आइसियुमै राख्न भन्छौ । अब बाच्ने कि मर्ने भन्ने दोधार भएपछि एकपटक भेण्टीलेटरमा राख्न भन्छौ । जति पैसा लागे पनि उपचारमा कमी नगर्न अस्पताललाई अर्हाउँछौ । लागे पुगे प्रयास गर्न हार गुहार गर्छौ ।

तथापि जब मेडिकल साइन्सले हार खान्छ तब चिन्ता माने मात्रै के गर्ने ? अनि सासै गइसकेपछि मिलाएर आउदा ढिलै हुन्छ । कतिपय तिता अनुभूतिहरु छन् । आफूले जन्माएका, हुर्काएका, पढाएका र असल मानिस बनाएका छोराछोरीहरु नै मर्ने बेलामासँगै छैनन् । अन्तिम सास जाँदा पानी खुवाउन समेत आउन भ्याएनन् । मृत्यु पश्चात मसानघाटमा समेत छैनन् । म सदा सर्वदा यस्तो नहोस भन्ने चाहन्छु ।

मेरी पनि आमा छन् । तिमीहरु पनि आमाबा बनिसक्यौ । यसो कल्पना गरौँ त यो संसारमा आमा नभइदिएको भए यस्तो सुन्दर जीवन पाउन सक्ने थिएनौँ । जे जस्तो भएपनि सबैभन्दा सर्वश्रेष्ठ प्राणीको रुपमा यस धर्तीमा आउन सक्ने थिएनौँ । आज हामीले यो संसारलाई भोग्न पाउने थिएनौँ । संसारलाई अनुभूत गर्न पाउने थिएनौँ । त्यसकारण हाम्रो अर्थात तिम्रो अनि मेरो सृष्टिकर्ता आमाको तुलना कसैसँग पनि हुन सक्दैन ।

आमा त भगवान भन्दा पनि माथि हो । सबैका आमाले आफ्नो छोराछोरीका लागि जीवन नै दिन्छन् । तर हामी किन केवल समय पनि दिन सक्दैनौ ? माया खरिद गर्न पर्ने भौतिक बस्तु पनि हैन । यो मनबाट आउने कुरा हो । समय त व्यावस्थापन गर्ने चिज हो । अतः जन्मदाता आमालाई सदा सर्वदा व्यवहारिक रुपमा नै खुसी बनाउ । मातातिर्थ औँसी २०७९ को अवसरमा सबैमा आशिर्वाद ।
-२०७९ बैसाख १७ गते शनिवार ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।