ताजा अपडेट »

निर्वाचनमा होमिन वुद्धिजिवीहरुलाई एमाले उपाध्यक्ष पौडेलको निर्देशन

शनिबार, १७ बैशाख २०७९, १४ : ०७
6 Shares

बुटवल । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले निर्वाचनमा होमिन बुद्धिजिवीहरूलाई आग्रह गरेका छन् । बुद्धिजिवी र पेशागत क्षेत्रको निर्देशनलाई जनताले सहज रुपमा मान्ने भन्दै मतदातालाई गोलबन्द गर्न आग्रह गरे ।

एमाले बुद्धिजिवी तथा पेशागत उपसमितिले शनिवार बिहान बुटवलमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै पौडेलले आइरहेको स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवारहरूलाई जिताउने गरी खटिएर लाग्न निर्देशन दिए । उनले ‘न्युट्रल’ मतदातालाई ‘कन्भिन्स’ गर्न बुद्धिजीवीहरूको ठूलो भूमिका हुने बताए ।  ‘अब निर्वाचन आउन धेरै दिन बाँकी छैन, सम्पूर्ण आफ्ना व्यक्तिगत कामलाई थाती राखेर निर्वाचनमा सबै उम्मेदवारहरूलाई जिताउन लाग्नुहोस्,’ उपाध्यक्ष पौडेलले भने, ‘आजदेखि मतगणना शुरू नहुँदासम्म तपाईंहरू लागे मतदाताहरू ‘कन्भिन्स’ हुन्छन् । पार्टी सबै उम्मेदवार जिताउने प्रमुख दायित्व पेशागत र बुद्धिजीवी क्षेत्रका साथीहरूमा छ ।’  पौडेलले बुटवलमा राष्ट्रिय जनमुक्ति पार्टीसँग पनि चुनावी तालमेल भएको भन्दै मतदाता शिक्षा आवश्यक रहेको समेत बताए ।

‘एमालेका उम्मेदवारसँगै जनमुक्ति पार्टीका उम्मेदवारहरू कहाँ-कहा उम्मेदवार हुनुहुन्छ त्यसको जानकारी मतदातालाई आवश्यक छ,’ उनले भने, ‘एमालेका उम्मेदवारको भन्दा जनमुक्तिका उम्मेदवारको कम भोट आए मान्य हुने छैन ।’  बुटवलमा निर्माणाधीन ठूला विकासका पूर्वाधारहरू सम्पन्न भए यहाँको विकास लगभग सकिने समेत बताए । उनले एमाले जनप्रतिनिधि निर्वाचित भएपछि शासक होइन सेवक बनेर काम गर्दै जनता र सरोकारका विषयमा काम गर्दै आएको बताए ।
एमाले लुम्बिनी प्रदेश उपाध्यक्ष तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले नगरको विकास र भिजन एमालेसँग मात्र रहेको बताए । नगरलाई नयाँ पहिचान समृद्ध बुटवलको नारा एमालेले मात्र पूरा गर्न सक्ने बताए ।

राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला सदस्य थर्क बहादुर बाह्रघरेले तालमेलले एमाले र जनमुक्तिको जित सुनिश्चित रहेको बताए । पेशागत तथा बुद्धिजीवी परिचालन समितिका संयोजक खगराज शर्माको अध्यक्षता एमाले लुम्बिनी प्रदेश प्रचार विभाग सदस्य इन्दिरा अर्यालको स्वागत तथा पेशागत तथा बुद्धिजीवी परिचालन समितिका सह–संयोजक रमेश पाण्डेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।