ताजा अपडेट »

अघोषित लोडसेडिङले रुपन्देहीका उद्योगमा उत्पादन ठप्प, घरायसी प्रायोजनलाई प्राथमिकता

शुक्रबार, १६ बैशाख २०७९, १९ : १४
22 Shares

भैरहवा ।  विद्युत प्राधिकरणले उद्योगीलाई विद्युत उपभोग गर्न नदिँदा उत्पादनमा कठौती हुँदै आएको छ । विगत एक महिनादेखि विद्युतको समस्या झेल्दै आएका रुपन्देहीका उद्योगी यो सातबाट २४ घण्टा नै अघोषित रूपमा लोडसेडिङको मारमा परेका छन् । 

अघोषित लोडसेडिङ, लो भोल्टेज, ट्रिपिङलगायतका समस्याका कारण रुपन्देहीका उद्योग बन्द सरह रहेको सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले बताए । 

उद्योगी व्यवसायीको साझा संस्थासमेत रहेको संघमा जिल्लाका उद्योगीले अघोषित विद्युत कटौतीलाई केही निश्चित समय तोकेर भए पनि विद्युत सप्लाई गर्न जोडदार माग गरेका छन् । ३३ केभिए र ११ केभिए औद्योगिक कोरिडोरका उद्योगीमा २४ घण्टा नै विद्युत कटौती हुँदा उद्योग सञ्चालन ठप्प रहेको भन्दै नेपाल विद्युत प्राधिकरण प्रणाली सञ्चालन विभाग, विद्युत कार्यालय बुटवल ग्रिड शाखा र वितरण केन्द्र भैरहवा, बुटवल तथा नयाँमिललाई समेत ध्यानाकर्षण गराएको  छ । 

संघले उत्पादन जस्तो गम्भीर विषयमा केन्द्रित भई राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिने उद्योगलाई गुणस्तरीय तथा निरन्तर विद्युत आपूर्तिको तालिका मिलाएर भए पनि सञ्चालनको वातावरण मिलाउन आग्रह गरेको छ ।

विगत केही दिनको विद्युत अनियमितता र उपकरण नचलाउने भनी अघोषित लोडसेडिङले उत्पादनमा रहेको कच्चा पदार्थ बिग्रेको, बजारमा उत्पादनको अभाव सृजना, मूल्यवृद्धिको डर, मुद्रा सञ्चित न्यून भएको बेला डिजेल किन्न डलर बाहिरिएको अवस्था लगायतका नोक्सानी देशले व्योहोर्नु पर्ने अवस्था आएको छ । 

औद्योगिक कोरिडोरका उद्योगीले विद्युत नहुँदा डिजेलबाट उत्पादन गर्दा लागत बढ्ने भए पनि महालेखा यसलाई बेरुजुमा देखाउने गरेको, लोडसेडिङ तालिका नै लागू गरेर भए पनि सीमित समयावधिमा उद्योग सञ्चालन गरे अभाव पनि सृजना नहुने उद्योगी व्यवसायीहरूको गुनासो छ । 

उद्योगमा विगत एक महिनादेखि दैनिक १२ घण्टा आए पनि अहिले त्यो पनि नआएकोले अघोषित रूपमा लोडसेडिङ नै छ । जसले उद्योग सञ्चालनमा समस्या आएको नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष दीपक कुमार पौडेलले बताए । रुपन्देहीको लुम्बिनी कोरिडोरमा मात्रै २ दर्जन बढी र भैरहवा बुटवल क्षेत्रमा दर्जन बढी उद्योग अहिले बन्द सरहको अवस्थामा पुगेका छन् ।

'देशको समस्या हामी उद्योगी व्यवसायीले पनि बुझेका छौं । बुधबारबाट लोडसेडिङको तालिका आउँदै छ भन्ने जानकारी आए पनि हालसम्म बल्याक आउटमै उद्योग रहेका छन्,' सिद्धार्थ उद्योग वाणिज्य संघका एशोसियट सदस्य विकास गोयनकाले भने । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।