ताजा अपडेट »

सफल परीक्षण उडानपछि भैरहवाबाट काठमाण्डौं फर्कियो ध्वजावाहक वाइड बडी जहाज

विहीबार, १५ बैशाख २०७९, २१ : ५३
10 Shares


भैरहवा । गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलमा नेपाली ध्वजावाहक नेपाल एयरलाईन्सले सफल परिक्षण उडान पछि पुनः काठमाण्डौं फर्किएको छ । नेपाल एयरलाईन्सको वाईडबडी एयरबस–३३० आज साँझ साढे ५ बजे बिमानस्थलमा सफलतापूर्वक अवतरण गरेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री प्रेम बहादुर आले, मन्त्रालयका सचिव, योजना आयोगका सदस्य, नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक, पर्यटन ब्यवसायी, होटल ब्यवसायी, पत्रकार एवम प्राविधिक टोलीहरु सहित २ सय ५२ जना यात्रु लिएर नेपाल एयरलाईन्सको वाईडबडी जहाज काठमाण्डौं पछि नेपालमै पहिलो पटक भैरहवा अवतरण गरेको छ ।

नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक प्रदिप कुमार अधिकारीले नेपाली हवाई उडानको क्षेत्रमा ७४ वर्ष पछाडि नेपालमा दोश्रो अन्र्तराष्ट्रिय बिमानस्थल सञ्चालनमा आएको बताए । “भगवान गौतमबुद्धको जन्मदिवसको अवसर पारेर जेठ २ गते यस बिमानस्थलबाट ब्यवसायिक उडान हुनेछ ।” अधिकारीले भने “ ५ वर्षभित्र यो फुलफेजमा सञ्चालनमा आउनेछ ।”

बिमानस्थल सञ्चालन संगै नेपालमा बढ्दो हवाईयात्रुको चाप नियन्त्रण गर्न सहज हुने बताए । उनले नेपालमा हवाई यात्रु बढ्दै गएको अवश्थामा ठिक समयमा बिमानस्थल सञ्चालनमा आएको टिप्पणी गरे । भैरहवाको अन्र्तराष्ट्रिय बिमानस्थलले सुद्र पश्चिम लगायतबाट महङ्गो रुपमा शुल्क तिरेर काठ्माण्डौं नै पुग्नु पर्ने बाध्यताको अन्त्य गर्ने अधिकारीको भनाई थियो ।

भैरहवा बिमानस्थलमा बिशेष किसिमको यान्त्रिक उपकरणहरु जडान गरिएको कारण काठमाण्डौंमा अवतरण हुन नसक्ने बिमानहरु पनि यहा अवतरण हुन सक्ने प्राधिकरणको भनाई छ । आजै देखी देशका दुबै अन्र्तराष्ट्रिय बिमानस्थलहरु २४ घण्टा नै सञ्चालन हुने जानकारी दिदै अधिकारीले सबै सरोकारवाला निकायलाई यसमा सहयोग गर्न अपिल समेत गरे । उनले तराई क्षेत्रमा रहेका अन्य बिमानस्थलहरु आज देखी नै रातीको १२ बजे सम्म सञ्चालनको ब्यवस्था मिलाईएको जानकारी दिए ।

नेपाल एयरलाईन्सको बिमान भैरहवामा सफल अवतरण भए पछि यस क्षेत्रका उद्योगी ब्यवसायी, पर्यटन ब्यवसायी तथा सर्वसाधारणले खुशी ब्यक्त गरेका छन् । सोट्टोका प्रदेश अध्यक्ष सञ्जय बजिमयले भैरहवा बिमानस्थलमा भएको सफल परिक्षण उडानले यस क्षेत्रको नया भाग्य रेखा कोरिएको बताए । उनले यसले बिमानस्थल सुरक्षित रहेको र अन्य बिमान कम्पनीहरुलाई आकर्षित गर्ने बताए ।

बिमानको स्वागत गर्न भैरहवाका पर्यटन ब्यवसायी, होटल ब्यवसायी, उद्योग बाणिज्य संघ लगाएतको टोली बिमानस्थल नै पुगेको थियो ।
सफल परिक्षण उडान पछि बिमान राती साढे ९ बजे पुनः काठमाण्डौं फर्किएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।