ताजा अपडेट »

निर्वाचनमा मित्रवत प्रतिष्पर्धा आवश्यक

बुधबार, १४ बैशाख २०७९, १६ : ५२
4 Shares

जहानियाँ राणा शासनको अन्त्यसँगै नेपालमा निर्वाचन गर्ने परम्परा शुरु भयो । त्यसपछि सामान्यतः प्रत्येक पाँच वर्षमा नेपालमा निर्वाचनहरु हँुदै आएको छन् । एक दलीय पञ्चायतमा पनि आवधिक निर्वाचन हुन्थ्यो । २०४६ पछि धेरै दलहरुबीच प्रतिस्पर्धा हुनथाल्यो । तत्कालिन राजा ज्ञानेन्द्रले पनि निर्वाचन गरायका थिए । निर्वाचन गर्नुको उद्धेश्य के हो ? केवल नयाँ प्रतिनिधि आउने मात्रै हो । शासकीय प्रभुत्वको नवीकरण मात्रै हो । दलहरु नवीकरण हुनु मात्र हो ।

नयाँ जनमत लिनु मात्र हो । विजय वा पराजय मात्र हो । होइन । यो लोकतन्त्रलाई सबल गर्ने मुख्य काम हो । जनताले मतदान गर्छन् । दलका क्रियाकलापहरु हेरी न्याय दिन्छन् । राम्रो काम गर्ने दललाई धेरैले समर्थन गर्छन् । विजयी बनाउछन् । सत्तामा पुराउछन् । अन्यलाई विपक्षमा । यसरी निर्वाचन मार्फत जनताले दलहरुको औकात अनुसारको साइज दिन्छन् । सार्वभौम जनताको मत मान्न दल बाद्य हुन्छन् । गणतान्त्रीक संविधान जारी भएपछिको दोस्रो स्थानीय तह निर्वाचन अब सन्निकट छ । त्यसपछि प्रदेश र संघको पनि निर्वाचन हुँदैछ ।

जनमतको सही मुल्याङ्कन गर्न निर्वाचन स्वच्छ हुनुपर्छ । यो धाँधली रहित हुनुपर्छ । निर्वाचनमा सबैले स्वतन्त्र रुपमा मत जाहेर गर्न पाउनुपर्छ । यो पावन कार्यमा खटिएका सबैले निष्पक्ष तवरले निर्वाचन सम्पन्न गर्नुपर्छ । दलहरुले निर्वाचन सम्बन्धी आचारसँहितामा रहेर जनतालाई सुशुचित पानुपर्छ । कुनै उत्तेजनामा ल्याउने खालको प्रशिक्षण दिइनु हुँदैन । दलको नियन्त्रणमा मतदाता रहने हुँदा उनीहरुलाई शान्तिपूर्ण रुपमा आफ्नो अमूल्य मत दिन आग्रह गर्नुपर्छ । लोकतान्त्रीक व्यावहार प्रस्तुत गर्न प्रशिक्षित गर्नुपर्छ । मतदाता स्वयम् पनि कुनै उक्साहटमा नआई शान्तिपूर्ण किसिमले मतदानमा सहभागि हुनुपर्छ ।

निर्वाचनमार्फत जनताको अभिमत व्यालट बक्समा प्रकट हुन्छ । जसको अधिक मत हुन्छ उसले विजय हुने अवसर पाउछ । जसको जुन हैसियत छ त्यो प्राप्त हुन्छ नै । निर्वाचनमा सहभागि हुनु नै जनताको मत स्वीकार गर्छु भन्नु हो । जनमतमा विश्वास नलाग्ने दल, समुह वा मतदाता निर्वाचनमा भाग लिनु नै हुँदैन । यसर्थ निर्वाचन बाहुवलको प्रयोग हुने थलो हैन । विभिन्न किसिमका हतकण्डा अपनाउने साँेच भएका दलहरु निर्वाचनमा सहभागि नै हुनु हुँदैन । निर्वाचनमा मशल, मनि, धाक, धम्किको प्रयोग अस्वीकार्य हुन्छ ।

निर्वाचनमा मित्रवत प्रतिष्पर्धा आवश्यक हुन्छ । शत्रुवत व्यावहारले आँफैलाई नै आघात पुराउछ । जनताले सबैका गतिविधिको मुल्याङ्कन गरीरहेका हुन्छन् । विधी र नियम मिच्नेलाई उनीहरुले स्वीकार्दैनन् । जसको जित्ने आधार छ उसले कहिल्यै निर्वाचनमा हुलहुज्जत गर्दैन । बाहुबलको प्रयोग गर्न खोज्नेको जनाधार रहिनछ भन्ने स्वत पुष्टी हुन्छ । कथम्कदाचित एक पटकका लागि विधी मिचेर निर्वाचित भए त्यसलाई जनताले सहर्ष स्वीकार्नु हुदैन । त्यस्ता दल र तिनका उम्मेदवारलाई अर्को निर्वाचनमा नङ्गायरै छाड्नुपर्छ । अधिकतम मतदाता सचेत भएका कारण पनि निर्वाचनहरुमा दलहरुले परम्परागत शैलीका प्रपञ्चलाई त्याग्नु अत्यावश्यक छ । आफू विजय हुनको लागि मतदाताको मन जित्नु नै एक मात्र विकल्प हो ।

लोकतन्त्रको गतिशीलताका लागि निर्वाचन आवश्यक छ । तर कस्तो निर्वाचन ? तानाशाह कालको जस्तो ? पञ्चायती शासनको जस्तो ? कि लोकतन्त्रको जस्तो ? शासक हाबी भएको ? शासकहरूलाई लाग्दो हो, आफ्नो नेतृत्वमा मनपरी चुनाव गर्ने हो । गरीब जनतालाई भुलभुलैयामा पार्ने हो, चुनाव लड्ने हो, जित्ने हो र सत्ता कब्जा गर्ने हो । त्यसैले निर्वाचन जुनसुकै तवरले भएपनि नयाँ प्रतिनिधि छान्नका लागि मात्र हुनु हुँदैन ।

निर्वाचनले जनतामा नयाँपन दिन सक्नुपर्दछ । निर्वाचनले सुशासन, गतिशिलता, लोकतन्त्र, जनताको हक, न्यायलाई सुदृढ बनाउन सक्नुपर्छ ।
निर्वाचनमार्फत जनतामा निहित सार्वभौमसत्ता र राजकीयसत्ता, जनसहभागितामूलक शासकीय अभ्यास, बहुमतको शासन, अल्पमतको कदर, मानव अधिकार र मौलिक अधिकारको प्रत्याभूति, स्वतन्त्र न्यायपालिका, संंविधानवादको अवलम्बन, विधिको शासन, शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलन, जनउत्तरदायी सरकार तथा पूर्ण प्रेस स्वतन्त्रता जस्ता लोकतन्त्रका आधारभूत मूल्य–मान्यताहरूलाई स्वीकार गरी व्यावहारमा ल्याउनुपर्छ । हामीले अपेक्षा गरेको प्रणाली र राजनीतिक सस्कृती पनि बलियो बन्न सक्नुपर्छ ।

यहाँनिर गम्भिर प्रश्न यो छ कि एक थान निर्वाचन मात्र गर्ने कि प्रभावकारी निर्वाचन गर्ने ? निर्वाचन सम्पन्न गर्न सरकार यसका निकायहरु प्राविधिक रुपमा तयार भएर मात्र हुदैन । चुनाव गर्ने सोच भएर मात्र पनि पुग्दैन । राजनीतिक चिन्तन र गम्भिरता हुनुपर्छ । गुणात्मकताका बारे गम्भिर बन्नुपर्छ । साथमा मतदाता सचेत रहनुपर्छ जो निर्वाचनको अनिवार्य सर्त हो । अन्यथा निर्वाचनले लोकतन्त्रलाई झन् बिकृत बनाउछ । त्यसैगरी निर्वाचन मार्फत सही व्यक्ति चुनिनुपर्छ । सबै निर्वाचनहरुमा यस्तो परम्परा बस्नु जरुरी छ ।

स्थानीय निकायको निर्वाचनमा त मतदाता थप सजग हुनुपर्छ । स्थानीय निर्वाचनले सत्ता परिवर्तन गर्ने हैन । राष्ट्रिय अन्तराष्ट्र्रिय छवीमा असर पर्ने पनि हैन । केवल स्थानीय सरोकारका विषयमा फरकपन ल्याउने मात्र हो । पदाधिकारी परिवर्तन गर्ने मात्र हो । स्थानीय निकायमा उम्मेदवारसँग लगभग सबै मतदाताहरु परिचित हुन्छन् । उम्मेदवारको क्षमता पनि केही न केही थाहा हुन्छ । यसर्थ राम्रो उम्मेदवार लागेमा दलको मात्र नाम जपेर बस्नु स्थानीय विकास निर्माण र समृद्धिमा पछाडि पर्नु हो । थाहाँ भएर पनि राम्रो उम्मेदवारलाई भोट नहाल्नु आफ्नै ठाउँलाई हेलत्व गर्नु हो । जसका लागि भोट खसाल्ने सस्कारमा परिवर्तन आवश्यक छ ।

के विगतका निर्वाचनहरुमा मित्रवत प्रतिष्पर्धाको अभ्यास पाइन्छ ? स्वतन्त्र, निष्पक्ष रुपमा चुनाव सम्पन्न भएका छन् ? अधिकतम छैनन् । निर्वाचन कर्मकाण्डी जस्तो सावित हुदै आएका छन् । निर्वाचनमा मनि, मसल र पावरको चरम दुरुपयोग गरीएको पाइन्छ । आफ्ना दल इतरका मतदातालाई बिभिन्न प्रलोभनमा पारेर भुट्न सिकेका छन् दलहरु । पैसाको खोलो बगाएर मतदातालाई आफनो पक्षमा पार्न पल्केका छन् उनीहरु । यस्ता प्रवृत्तिका कारण नेपालका अधिकतम चुनावहरु अपेक्षित विवादरहीत, स्वच्छ भएको पाइँदैन । त्यसैले जसले चुनावलाई लोकतन्त्रको गतिशील अस्त्र मान्दैन, षड्यन्त्रको एक साधन मान्छ । व्यवस्था हैन, लथालिङ्ग चाहन्छ । त्यसैले जनताहरु यस्तो सोँच भएका शासकहरुलाई निर्वाचन मार्फत नै जवाफ दिनुपर्छ । ब्यालेटमार्फत पाखा लगाउन सक्नुपर्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।