ताजा अपडेट »

दाङमा एमाले र गठबन्धन दलहरुले टुङ्गो लगाए उम्मेदवारको नामावली

आइतबार, ११ बैशाख २०७९, २१ : ०४
4 Shares

दाङ । दाङको दुई स्थानीय तहका लागि सत्ता गठबन्धन र नेकपा एमालेले मेयर र उपमेयरको उम्मेद्धारको टुंगो लगाएका छन् । जसमध्य तुलसीपुर उपमहानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी र नेकपा एमालेको तर्फबाट निवर्तमान जिल्ला अध्यक्ष टीकाराम खड्काबिच प्रतिस्पर्धा हुने भएको छ ।

कांग्रेसका तर्फबाट २०७४ सालको निर्वाचनमा गिरी नेकपा एमालेका घनश्याम पाण्डेसंग तुससीपुरको मेयरमा पराजित भएका थिए । गिरी नेपाली काँग्रेसबाट २०५६ सालमा निर्वाचित पूर्व सांसद समेत हुन् । उनी दुई कार्यकाल नेपाली काँग्रेस दाङको जिल्ला सभापति समेत भइसकेका नेता हुन् । गिरी स्वर्गिय नेता खुमबहादुर खड्काको अनुयायी मानिन्छन् । अहिले गिरी कांग्रेस सभापति शेरबहादुर देउवासंग निकट पनि मानिन्छन् ।

त्यस्तै नेकपा एमालेका टिकाराम खड्का राजनीतिक रुपमा बर्गिय राजनीतिको प्रतिनिधित्व गरेका ब्यक्तिका रुपमा परिचित छन् । उनी रोल्पा हुँदै दाङमा किसान आन्दोलनका रुपमा परिचय बनाएका नेता हुन् । खड्का अहिलेसम्म कुनैपनि लाभको पदमा नपुेको नेताको रुपमा चिनिन्छन् ।

त्यस्तै सत्ता गठबन्धनबाट तुलसीपुरको उपमेयरमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज जोगबहादुर राना मगर र नेकपा एमालेको तर्फबाट समाजसेवी स्यानी चौधरीबीच प्रतिस्पर्धा हुने भएको छ । हक्की स्वभावका मानिने राना मगर यसअघि नेकपा एमाले दाङको उपाध्यक्ष र कार्यबहाक अध्यक्षको भूमिका निर्वाह गरि सकेका नेता हुन् ।

त्यस्तै नेकपा एमालेले उपमेयरमा भने राजनिति भन्दा फरक पृष्ठभूमिका नयाँ अनुहार ल्याएको छ । असहाय बालबालिकाको क्षेत्रमा काम गर्दै आएकी श्यानी चौधरीलाई एमालेले उपमेयरको उम्मेदवार बनाएको छ । चौधरीले तुलसीपुर ६ डुम्रीगाउँमा ‘दिदी घर’ संस्था सञ्चालन गर्दैै आएकी छन् । उनका आफ्नै बालबालिका नभए पनि उनले सडक र असहाय बालबालिकालाई संरक्षण दिदै आएकी छन् । उनीसँग अहिले २४ जना बालबालिकाले आश्रय लिएका छन् ।

यसैबीच घोराही उपमहानगरपालिकाको मेयरका लागि सत्ता गठबन्धनबाट नेकपा एकीकृत माओवादीका केन्द्रीय सदस्य तथा जिल्ला सहइञ्चार्ज हेमराज शर्मा (डायमण्ड) र नेकपा एमालेका तर्फबाट पुनः नरुलाल चौधरी बिच कडा प्रतिस्पर्धा हुने भएको छ । घोराहीका अहिलेका मेयर नरुलाल चौधरी पुनः नेकपा एमालेबाट मेयरका उम्मेदवार बनेका छन् । उनी एमालेका पोलिटब्यूरो सदस्य पनि हुन ।

२०७४ सालको निर्वाचनमा उनका निकटत प्रतिद्धन्दी नेपाली काँग्रेसका नेता भूपबहादुर डाँगी भने पाँच बर्षपछि उपमेयरका उम्मेदवार बनाइएका छन् । सत्ता गठबन्धन अनुसार नेकपा एकीकृत माओवादीका केन्द्रीय सदस्य तथा जिल्ला सहइञ्चार्ज हेमराज शर्मा (डायमण्ड)लाई मेयरमा अघि सारिएको छ । सत्ता गठबन्धनको केन्द्रिय निर्णय अनुसार नेपाली काँगे्रसको भागमा उपमेयर परेपछि डाँगी उपमेयरमा भिड्न लागेका हुन् ।

त्यस्तै एमालेले घोराहीको उपमेयर पनि नयाँ अनुहारलाई ल्याएको छ । घोराहीको उपमेयरमा हुमा डिसीलाई उपमेयर बनाएको छ । एमालेले जिल्लाका दुई उपमहानगरपालिकाको उपमेयरमा नयाँ अनुहारका साथै महिलालाई उम्मेदवार बनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।