ताजा अपडेट »

निर्वाचनको तयारी तीव्र : संयुक्त निर्वाचन सञ्चालन केन्द्र कार्यान्वयनमा

शनिबार, १० बैशाख २०७९, १७ : १८
14 Shares

काठमाण्डौं । निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनका क्रममा आजदेखि संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) कार्यान्वयनमा ल्याएको छ । आयोगको संयोजकत्वमा गृह मन्त्रालय, विभिन्न सुरक्षा निकाय र सम्बन्धित निकायका उच्चस्तरका प्रतिनिधि रहेको सो केन्द्र आज आयोगको कार्यालय बहादुरभवनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले शुभारम्भ गरे ।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जारी भएको निर्वाचन अनुगमन निर्देशिका र सुरक्षा निर्देशिकाबमोजिम गठित सो केन्द्रबाट नियमित अनुगमन, सूचना आदानप्रदान र निर्वाचन तयारीका क्रममा हुने समस्या तत्काल समाधान गर्ने प्रबन्ध मिलाइएको छ । उक्त केन्द्रको संयोजकमा आयोगका सहसचिव शालिग्राम शर्मा पौडेल रहेका छन् ।

टिप्पणी र आदेश पर्खेर नबस्न निर्देशन

प्रमुख आयुक्त थपलियाले यस केन्द्र सञ्चालनसँगै निर्वाचनको तयारी लगभग पूरा भएको सन्देश मिलेको र अब निर्वाचन हुने नहुने भन्ने शङ्कालाई थन्क्याइदिए हुने स्पष्ट गरे । उनले निर्वाचन व्यवस्थापन र सञ्चालनका लागि जिम्मेवारी र अधिकारका दृष्टिले केन्द्र माथिल्लो निकाय भएकाले कुनै समस्या आइपरेमा टिप्पणी र आदेश पर्खेर नबसी तत्काल सम्बोधन गर्न केन्द्रका अधिकारीलाई निर्देशन दिए । प्रमुख आयुक्त थपलियाले दललाई निर्वाचन आचारसंहिताको पालना गर्न र  तडकभडकपूर्ण प्रचारप्रसार नगर्न आग्रह गर्दै भने, “दल जनताको मनमनमा टाँसिने हो । पर्खालमा टाँसिएका पोष्टरमा होइन । त्यसैले उम्मेदवारी दर्ता गर्न जाँदा तीन÷तीन इञ्चको पार्टीको झण्डा र निर्वाचन चिन्हबाहेक अरु कुरा प्रदर्शन गरिएमा उम्मेदवारी दर्तासँगै उम्मेदवारलाई सङ्कट पनि पर्न सक्नेछ ।”

निर्वाचन सामग्री  ढुवानी  गरी पठाइँदै

आयोगले निर्वाचनको तयारीका लागि आवश्यक सामग्री ढुवानी गरी पठाउन थालेको छ भने वैशाख ११ र १२ गते मनोनयन दर्ता भएपछि मतपत्र पनि ढुवानी गरिने भएको छ । सहसचिव एवं प्रवक्ता शर्माले हालसम्म एक करोड ३६ लाख मतपत्र छपाइ भइसकेको जानकारी दिए । मुलुकभर ७५३ पालिकामा हुने निर्वाचनमा १० हजार ७५६ मतदानस्थल निर्धारण गरिएको छ । तयारीकै क्रममा यही वैशाख ८ गते सबै स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ । आयोगले सर्वसाधारणका लागि निर्वाचनबारे कल सेन्टर पनि सञ्चालनमा ल्याएको छ ।-रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।