ताजा अपडेट »

विदेशबाट फर्केका लुम्बिनी र मधेश प्रदेशका १५ सय युवालाई स्वरोजगार बनाइँदै

शुक्रबार, ०९ बैशाख २०७९, १९ : ०१
6 Shares

बुटवल । विदेशबाट फर्केका १५ सय युवालाई स्वदेशमै स्वरोजगारको अवसर प्रदान गरिने भएको छ । मधेस र लुम्बिनी प्रदेशका विदेशबाट फर्किएका युवाहरुलाई सीपमूलक तालीम दिएर स्वरोजगार र उद्यमी बनाइने भएको हो । शुक्रवार शिक्षा पत्रकार समूह द्वारा बुटवलमा आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा यसबारे जानकारी गराइएको हो ।

कार्यक्रममा शिक्षा, विज्ञान युवा तथा खेलकूद मन्त्रालयका सचिव कृष्णप्रसाद पन्थले युवालाई स्वदेशमै स्वरोजगार बनाउने कार्यक्रम प्रशंसनीय रहेको बताए । प्रदेशका निकायहरुसँग समन्वय गरे कार्यक्रम कार्यान्वन गर्न सहज हुने उनको भनाइ थियो । कार्यान्वयन र अनुगमनको चरणमा पनि मन्त्रालयले सहयोग गर्ने उनले बताए ।

पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालयका सचिव महेशचन्द्र न्यौपानेले कार्यक्रम आवश्यक र महत्वपूर्ण रहेको भन्दै तालीम दिन भन्दा पहिले लिन चाहेको तालीम पहिचान गर्नुपर्ने बताए । कस्तो रोजगार चाहेको हो त्यो व्यक्तिको पहिचान गर्न आवश्यक छ भन्दै उनले यस कार्यक्रमलाई प्रदेश सरकार अगाडि सारेका रोजगारीसँग सम्बन्धित कार्यक्रममा पनि जोडन सकिनेमा जोड दिए ।

बिट्रिस काउन्सिल–दक्षता परियोजना टिम लिडरका एरिक विन्थर स्मिड्टले विदेशबाट फर्केका युवालाई स्वरोजगार र पुनः विदेश विदेश फर्कन चाहनेहरुको पनि दक्षता विकास गर्ने लक्ष्य लिएको बताए । यसले स्वरोजगारी र उद्यममा उल्लेख्य प्रभाव पार्ने उनको भनाइ थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा यूएनडीपीले ब्रिटिश काउन्सीलद्वारा व्यवस्थित दक्षता परियोजनाको सहयोग र यूरोपियन युनियनको आर्थिक सहयोगमा यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

बुटवल उद्योग वाणिज्य संघको कार्यबाहक अध्यक्ष दिनेशकुमार श्रेष्ठले बजारमा रोजगार पाएनौं भन्दैगर्दा उद्योगीहरुलाई कामदार पाउन मुस्किल रहेको सुनाए । सीपयुक्त जनशक्ति आजको आवश्यकता रहेको भन्दै उनले नगरपालिका र उद्योग वाणिज्य संघले जब लिंक सञ्चालन गरी रोजगारमा युवालाई जोडने प्रयास थालेको बताए । सिटिइभिटीका निर्देशक दिपक प्रसाद पौडेलले युवाहरुलाइए सीपयुक्त तालीम प्रदान गर्दा सबै क्षेत्रलाई समेट्न आवश्यक रहेको बताए ।

१५ सयलाई दिने सीपयुक्त तालिम हेरेर सिटिइभिटीले पाठ्यक्रम बनाउन तयार रहेको उनको भनाइ थियो । अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले वैकल्पिक शिक्षा प्रदान गरेर विद्यालयको शिक्षा नपाएकाहरुलाई शीप दिन सके उनीहरुलाई उनीहरुलाई उद्यमशीलता प्रदान गर्न सकिने बताए । रिटर्निङ माइग्रेट नेपालका उपाध्यक्ष सीता बस्यालले रिटनिङ माइग्रेटले नवलपरासीमा चिस्यान केन्द्र, प्रदेश स्तरीय एग्रो मार्ट सातै प्रदेशमा बनाउने काम भइरहेको जानकारी गराइन ।

यूएनडीपीका राष्ट्रिय कार्यक्रम प्रबन्धक डा. मुकुन्दमणि खनालले ५ लाख ७२ हजार नेपाली कामदार कोभिडका कारण नेपाल फर्किएका भन्दै उनीहरुलाई सीप र तालीम प्रदान गर्न सके स्वदेशमै स्वरोजगार र उद्यमी बनाउन सकिने बताए । विदेशमा सिकेको सीपलाई केही मात्रामा भएपनि उपयोग गर्न सके देशमा उत्पादन बढाउन सकिने भन्दै फर्निचर, डकर्मी, कूक, बाख्रापालन, वेटर, च्याउ र तरकारी खेती क्षेत्रमा कामदारको माग बढी रहेको बताए ।

त्यसैले दुईप्रदेशका विदेशबाट फर्किएका १५ सय युवालाई रोजगारमूलक सीपयुक्त तालीम दिन लागिएको उनले बताए । कार्यक्रमले सिपको मापन गरी पाठ्यक्रम बनाई रोजगारीका अवसर सुनिश्चित गर्ने उनको भनाइ थियो । कृषि, निर्माण र पर्यटनलाई प्राथामिकतामा राखेर तालिमका प्याकेज बनाइएको उनको भनाइ थियो । कोभिडको कारण रोजगार गुमाएकाहरुलाई रोजगारमा जोड्ने कार्यक्रमको लक्ष्य रहेको उनले बताए ।

उनका अनुसार रोजगारी गुमाएका, १८ वर्ष पूरा भएको, मधेश र लुम्बिनी प्रदेशमा यो कार्यक्रम लागू हुनेछ । अहिले तथ्याङक संकलन भइरहेको र हालसम्म लुम्बिनीमा ५ सय र मधेशमा ३ सय जनाको तथ्याङ्क संकलन भइसकेको उनले जानकारी दिए । कार्यक्रममा शिक्षा पत्रकार समूहका अध्यक्ष कृष्ण मल्लले शिक्षासँगै शिप जोडिनुपर्नेमा जोड दिए । कार्यक्रममा यूएनडीपीकी कल्पना सरकार, इन्जिनियर गुणराज घिमिरे, विदेशबाट फर्केका डिएल शर्मा, सन्तोष अर्याल, शिक्षा पत्रकार समूहका महासचिव रोशन गाउँले लगायतले बोलेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।