ताजा अपडेट »

तिलोत्तमा वनवाटिका: साढे ११ करोडको भ्यू टावर बन्यो, सडक बनेन

शनिबार, १० बैशाख २०७९, १० : ४५
20 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ शंकरनगरस्थित वनवाटिकामा साढे ११ करोडमा १० तले बहुउद्धेश्यीय भ्यू टावर निर्माण भएको छ । ०७४ चैत्र १५ गते शिलान्यास गरिएको उक्त भ्यूटावर चार वर्षमा निर्माण सम्पन्न गरेर यहि चैत्र १५ गते पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।

तर, सो भ्यूटावर अवलोकनका लागि मुख्य सडकबाट त्यहाँ जाने सडक भने जीर्ण छ । सडक भरी खाल्डै–खाल्डा छन् । सो सडक भएर वनवाटीका जाँदा धुलोले बाटो नै नदेखिने अवस्था छ । सडकको धुलोका कारण दायाँ–बायाँका व्यवसाय राम्रोसँग सञ्चालन गर्न नपाएको व्यापरिहरु गुनासो गर्दछन् । वनवाटिका जाने सडक साँघुरो भएपछि आफूहरुले ४/५ वर्ष पहिलादेखि नै सडक फराकिलो बनाउन माग गरिएको शंकरनगर वनवाटिका सडकका अध्यक्ष ओमप्रकाश खरेल बताउँछन् । अहिले २७ फुट रहेको सडकलाई विस्तार गरी ३७ फुटमा विस्तार गर्ने काम भइरहेको उनले बताए ।

तिलोत्तमा–२ स्थित शंकरनगरस्थित वनवाटिका सिद्धार्थ राजमार्ग अन्तरगत भैरहवा–बुटवल सडक खण्डबाट करिब साढे १ किलोमिटर उत्तरमा पर्दछ । वनवाटिका जाने सडक मध्ये १ किलोमिटर सडकको अहिले निर्माण काम भइरहेको छ भने बाँकी ५ सय मिटर सडक कहिले बन्ने हो अहिलेसम्म केही टुङ्गो छैन् । शंकरनगर वनवाटिका सडकका अध्यक्ष खरेलले विद्युतका पोलका कारण केही समयसम्म रोकिएको काम अहिले पोल हटाएपछि तीव्र गतिमा भइरहेको बताए । सडकमा रहेका सबै पोल हटाएर सडकको दायाँ बायाँ तर्फ नयाँ पोल र तार राख्नु पर्ने भएकाले तत्काल विद्युत प्राधिकरणले बजेट उपलब्ध गराउन नसक्दा केही समय काम रोकिएको बताए ।

सकडको पश्चिम तर्फको तार र पोल फेर्न विद्युत प्राधिकरणले ५० लाख र उत्तर तिरका लागि तिलोत्तमा नगरपालिकाले २० लाख बजेट उपलब्ध गराएको अध्यक्ष खरेलले बताए । समयमा नै विद्युतको पोल सार्ने काम र बजेट उपलब्ध गराएको भए सडक निर्माण अहिलेसम्म सकिने उनी बताउँछन् । सडक निर्माणको लागि आफूहरु नै भौतिक पूर्वाधार मन्त्रालयमा गएर बाँकी ५ सय मिटर सडकको लागि बजेट दिन आग्रह गरेको बताए ।मन्त्रालयले अहिले भइरहेको काम समयमा नै सम्पन्न भए दिने नत्र तत्कालै नदिने जवाफ दिएको अध्यक्ष खरेल बताउँछन् ।

‘म लगायत समितिका साथिहरु बाँकी ४/५ सय मिटर सडक निर्माण लागि बजेटको माग गदै भौतिक पूर्वाधार मन्त्रायल गएका थियौँ। मन्त्रालयले अहिले भइरहेको काम समयसीमा भित्रै सम्पन्न भए तत्काल बाँकी सडक निर्माणका लागि बजेट उपलब्ध गराउने भने छ ।;–अध्यक्ष खरेलले भने । तिलोत्तमा नगरपालिका–२ का अध्यक्ष दधिराम गौतमले सो सडक निर्माणका लागि ५ करोड बजेट प्रदेश सरकारबाट बिनियोजन भएको बताए । तर, ठेक्का लगाउने क्रममा घटी घटाउमा ३ करोड २४ लाखमा १ किलोमिटरको ठेक्का हालेकाले बाँकी ५ सय मिटर सो काम सम्पन्न गरेपछि निर्माण हुने बताउँछन् ।

निर्माण कम्पनीले समय भन्दा पहिला काम सकेको भए बाँकी रकमले काम अगाडि बढाउन सकिने भए पनि निर्माण पहिला नसकिने भएकाले अर्को आर्थिक वर्ष लगत्तै बाँकी सडकको काम सुरु हुने बताउँछन् ।‘बाँकी रहेको रकमले काम अगाडि बढाउन सकिन्थ्यो । तर, सरकारले अहिले रोकेको छ । सरकारले जे जति ठेक्का लगाएको छ । त्यो सकेपछि काम अगाडि बढाउने भनेको छ । यसकारण बाँकी ५ सय मिटर सडकको काम गर्न पाइएन् ।’–अध्यक्ष गौतमले भने । वनवाटीकामा पर्यटकीय क्षेत्र भएकाले आर्थिक वर्षको सुरुवातसँगै बाँकी काम अगाडि बढाउनु पर्ने आवश्यकता रहेको र सोही अनुसार नै काम अगाडि बढ्ने अध्यक्ष गौतमको दाबी रहेको छ ।

यस्तै सडक निर्माणको जिम्मा लिएको बाबुल आर.ए.जेवि कन्ट्रकशनका सञ्चालक चित्रबहादुर श्रेष्ठले ३÷४ महिना अघि नै काम सक्ने योजना भएपनि सफल हुन नसकेको बताए । ‘सडक निर्माणको समयसीमा त जेठ महिनाको अन्त्यसम्म हो । म सम्झौताको अवधी भन्दा धेरै छिटो काम सक्ने गरी कामलाई अघि बढाएको थिए । विद्युतको पोल हटाउन ढिला गर्दिदा मेरो योजना सफल भएन् । पोल सार्न विलम्ब नभएको भए यो सडक ३÷४ महिना अघि नै सम्पन्न भइसकथ्यो।’–उनले भने ।

अहिलेसम्म सडकको करिब ४० प्रतिशत मात्रै काम सम्पन्न भएको बाबुल आर.ए.जेविका सञ्चालन श्रेष्ठले बताए । ‘अहिले सडकका दुवै तर्फको काम सम्पन्न भईसकेको छ । अब पार्किङ टायलको काम भइरहेको छ । त्यसपछि सडकमा मिस्कटको काम सुरु गर्दर्छौ।’–उनले भने । काम गर्न अहिले केही समस्या नभएकाले जसरी पनि आफूले निर्माणको सम्झौता भन्दा अघि नै काम सम्पन्न गर्ने दाबी गरे ।

भैरहवा–बुटवल सडकखण्डदेखि तिलोत्तमा नगरपालिका–२ वनवाटिका जाने १ किलोमिटर सडक निर्माणको जिम्मा बाबुल आर.ए.जेवि कन्ट्रकशन, तिलोत्तमाले ३ करोड २४ लाख १७ हजार रुपैयाँमा ठेक्काको जिम्मा लिएको थियो । बाबुल आर.ए.जेवि कन्ट्रकशनसँग २०७८ साल जेठ २७ गते १ वर्ष भित्रमा अर्थात् २०७९ जेठ २७ गतेभित्र काम सक्ने गरी सम्झौता भएको थियो ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।