ताजा अपडेट »

रुरुक्षेत्रकाे तीनमुखे पुल सञ्चालनमा

मंगलबार, ०६ बैशाख २०७९, १९ : २५
28 Shares

तम्घास। पूर्व मुख्यसचिव लीलामणि पौडेललाई २०३३ सालमा रिडीखोलामा बगाएको स्मरण गर्नुहुँदै बनाइएको पुल सञ्चालनमा आएको छ । विद्यार्थी हुँदा अध्ययन गरेर फिर्ता हुँदा उनलाई रिडीखोलाले बगाएको थियो ।

रिडीको पारी स्याङजाको कारीकोटमा हनुमानको मूर्ति भए पनि त्यो मूर्ति हेर्न जान पुल नभएकै कारणले अँध्यारोमा परेको र स्याङजासँगको सम्बन्ध नै नभएजस्तो हुने गरेकाले पनि पुलको आवश्यकता बढेको उनको भनाइ छ ।

वि।सं।२०६९ सालदेखि तीनमुखे पुलको अवधारणा र २०७१ साल मङ्सिर १५ गते सो पुल शिलान्यासपछि अहिले सञ्चालनमा आउँदा रुरुक्षेत्रको पहिचान स्थापित भएको छ । तीन वटै जिल्लाहरुको सम्बन्धलाई थप विस्तार गर्न र पर्यटकीयस्थल बनाउन यो तीनमुखे पुलले मद्दत गरेको छ ।
नयाँ डिजाइन भएकाले तत्कालीन इन्जिनियरले जोखिम मोलेर काम गर्न डराएकाले केही समय निर्माणमा ढिलाइ भएको पौडेल बताउँछन् । नेपालकै आकर्षक नमूना पुल निर्माणले तीन जिल्लाबीच थप सम्बन्ध बढ्ने र आन्तरिक पर्यटकमा समेत वृद्धि हुने उनको दाबी छ ।

यता, रुरुक्षेत्रका स्थानीय चुरामणी तिमिल्सेनाले तीनमुखे पुल बनेपछि पर्यटकको मुख्य केन्द्रबिन्दु पुल बनेको प्रतिक्रिया दिए ।

अन्य कुनै स्थानमा यस्तो पुल नभएकाले अवलोकन गर्न आउने भएकाले पर्यटनसँगै धार्मिक क्षेत्रको पनि थप प्रचारप्रसार हुने बताए । यो सँगै यहाँका होटल व्यवसायीहरु पनि फस्टाउँदै जाने र पैदल यात्रीहरुका लागि तीन जिल्ला जान र आउन थप सहज हुने उनको भनाइ छ ।

अहिले सो पुलमा फोटो खिच्न र टिकटक बनाउन आउँनेहरुको भीड लाग्ने गरेको उनले बताए । पुलले गुल्मीको रुरुक्षेत्र गाउँपालिका १ रिडी, स्याङ्जाको कालीगण्डकी १, कारिकोट चण्डिभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका १४ अर्गली जोडेको छ ।
कालीगण्डकीमा बनाएको झोलुङ्गे पुलको मुख्य पिलर १७७।४ मिटर लम्बाइमा तीन जिल्लाको मध्य भागको दुरीमा रहेको छ । मध्य भागमा रहेको पिलरबाट हरेक जिल्लामा पुग्न बराबर दूरी छ ।

तत्कालीन नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेल र गुल्मी क्षेत्र नम्वर–२ का सांसद चन्द्र भण्डारीले शिलान्यास गरेको पुल निर्माण सम्पन्न भएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका प्रमुख भरत अर्यालले जानकारी दिए।

पुल निर्माणको जिम्मा नयाँबाटो, रुबिना, मना जेबीले पाएको थियो । नौ करोड ८८ लाख २६ हजार ३३२ रुपियाँमा ती संस्था र स्थानीय पूर्वाधार विभाग सस्पेन्सन ब्रिज डिभिजन पुल्चोकबीच सम्झौता भएको थियो ।तीन पटक सम्म म्याद थप गरी कार्य सम्पन्न भएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले जनाएको छ ।-तिलाचन पाण्डे/ गोरखापत्र

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।