ताजा अपडेट »

झलनाथ खनालकै क्षेत्रमा कांग्रेसद्वारा गठबन्धन अस्वीकार

सोमबार, ०५ बैशाख २०७९, १९ : ४५
6 Shares

इलाम ।  इलामको सूर्योदय नगरपालिकाको नेपाली कांग्रेसका वडा सभापतिले स्थानीय तहको निर्वाचनमा कसैसँग गठबन्धन गर्न नसकिने घोषणा गरेका छन् । कांग्रेसको १४ वटै वडाको वडा सभापतिको बैठकले गठबन्धन गर्न नसकिने घोषणा गरेका हुन् । 

गठबन्धन कार्यान्वयन भएमा सूर्योदयको प्रमुख नेपाल कम्युनिस्ट पार्टी नेकपा एसले पाउने सम्भावना थियो । जिल्ला तहमा भइरहेको बैठकमा पनि नेकपा एसले सूर्योदयको प्रमुखमा दाबी गर्दै आएको थियो । 

नेकपा एसका सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्ने सूर्योदयमा नेकपा एसबाट रणबहादुर राईनै उम्मेदवार हुने चर्चा थियो । राई यसअघि नेकपा एमालेबाट नगरपालिकामा निर्वाचित भएका थिए । 

नेकपा एमाले विभाजन हुँदा राई सहित एमालेबाट निर्वाचित बहुसंख्यक जनप्रतिनिधि नेकपा एसमा गएका थिए । त्यसैले सूर्योदयमा नेकपा एसले प्रमुखमा दाबी गर्दै आएको थियो ।  तर, कांग्रेसका वडा सभापतिले गठबन्धन अस्वीकार गर्ने निर्णय गरेपछि सूर्योदय नगरपालिकामा गठबन्धन धरापमा पर्ने देखिएको छ । 

सूर्योदय नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्षसमेत रहेका वडा सभापति लेखनाथ खड्काको अध्यक्षतामा भएको बैठकले गठबन्धन नेपाली कांग्रेसका सदस्य तथा मतदाताको भावना विपरीत रहेको ठहर गरेको छ । 

वडा सभापतिहरूको बैठकले गठबन्धन भए सैद्धान्तिक र व्यवहारिक पक्षमा समेत समन्वय हुन नसक्ने, केन्द्रको निर्देशन अनुसार सूर्योदयमा गठबन्धन गर्न आवश्यकता र अवस्था समेत नरहेको वडा सभापतिहरूले निष्कर्ष निकालेका छन् । 

इलामको अन्य पालिकामा समेत गठबन्धन हुने सम्भावना न्युन बन्दै गएको छ । कांग्रेस नेतृत्वको गठबन्धनमा सहभागी हुँने नेकपा माओवादी केन्द्र र नेकपा एसले स्थानीय तहको निर्वाचनमा बढि सिट दावी गरेको भन्दै कांग्रेस नेताहरुले असन्तुष्टि सार्वजनिक गर्न थालेका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।