ताजा अपडेट »

बुटवलको द कन्सेप्टमा लाइभ विद लिजेण्ड, 1974 AD ब्याण्डको प्रस्तुती रहने

सोमबार, ०५ बैशाख २०७९, १८ : १०
2 Shares

बुटवल । नेपालको पुरानो र चर्चित ब्याण्ड १९७४ एडीले बुटवलमा प्रस्तुती दिने भएको छ । एएमई गु्रप प्रा.लि.को आयोजनामा ‘लाइभ विद लिजेण्ड फिट १९७४ एडी’ म्यूजिकल जर्नी अन्तर्गत ब्याण्डले बुटवलस्थित द कन्सेप्ट क्लबमा आगामी शुक्रबार प्रस्तुती गर्दैछ ।

शुक्रबार राति बुटवलमा हुने कार्यक्रममा व्याण्डले आफ्ना चर्चित गीत गुराँसै फुल्यो…,सम्बोधन…, परेलीमा लुकाई राखन…,छुँदैन तिम्रो मायाले…,जति माया लाए पनि …,यो मन त मेरो नेपाली….,पहिलो जूनिमा…,चौबन्दी चोली… लगाएत करिब २ दर्जन गीत प्रस्तुत गर्ने द लाइभ विद लिजेण्ड यात्राका म्यानेजर अनुप प्रधानले बताए ।

द लाइभ विद लिजेण्डको पहिलो संस्करण भएको बताउँदै कार्यक्रममा २० वर्ष भन्दा पुराना व्याण्डहरुलाई समेट्दै आगामी वर्षहरुमा पनि देशव्यापी प्रस्तुतीलाई निरन्तरता दिने म्यानेजर प्रधानले बताए । पहिलो संस्करणमा पुरानो र चर्चित ब्याण्ड १९७४ एडी रोजाइमा परेको बताउँदै पहिलो प्रस्तुती काठमाण्डौंमा भइसकेको उनले बताए ।

‘नेपालका पुराना तथा चर्चित व्याण्डहरुको प्रस्तुती देशव्यापी रुपमा दिने उद्देश्यका साथ एएमई ग्रुपले ‘द लाइभ विद लिजेण्ड’ सुरुवात गरेको छ । जस अन्तर्गत पहिलो प्रस्तुती काठमाण्डौंमा भएको छ । बुटवलस्थित द कन्सेप्ट क्लबमा आगामी शुक्रबार हुने प्रस्तुती दोस्रो हो । त्यसैगरी शनिबार पोखरामा हुँदैछ ।

शुक्रबार हुने प्रस्तुतीका लागि तयारी तिव्र रहेको द कन्सेप्ट पव एण्ड क्लबका निर्देशक अतित थापाले बताए । उनले भने ‘हामीले बुटवलमा राष्ट्रिय स्तरका अधिकांश व्याण्ड र कलाकारमार्फत प्रस्तुती गराइसकेका छौं । यो हालसम्मकै ठूलो व्याण्ड हो । १९७४ एडी व्याण्डको प्रस्तुती हुनु हाम्रो लागि गर्वको विषय र कार्यक्रमलाई सफल बनाउनु दुबै महत्वपूर्ण हुन् ।

कार्यक्रममा ७ सय बढी संगीतप्रेमीहरुलाई सहभागिता गराउने लक्ष्य रहेको उनले बताए । कार्यक्रममा प्रवेशका लागि टिकट सिस्टम रहेको र पहिल्यै बुकिङमा रु एक हजार लाग्ने र सोही दिन क्लबबाटै लिए रु १५ सय लाग्ने उनले बताए ।

लाइभ म्यूजिक र व्याण्ड प्रस्तुतीका लागि बुटवलको चर्चित क्लब , द कन्सेप्टले कोरोना महामारीपछि आफ्नो संरचना र डेकोरेशन परिपर्वन पनि गरेको बताउँदै पुनः सञ्चालनको जानकारी दिन पनि वृहत कार्यक्रम आयोजना गरिएको उनले बताए ।

५० देखि ८० सम्मको दशकमा निकै सक्रिय र चर्चा कमाउन सफल १९७४ एडी ब्याण्डका मेन भोकलिष्ट एड्रिन प्रधान हुन् । उनका लाखौं फ्यानहरु रहेका छन् । त्यसैगरी व्याण्डमा बाँसुरीमा मनोज सिंह रहेका छन् । उनी अन्तराष्ट्रिय ग्रामी अवार्ड प्राप्त गर्ने पहिलो कलाकार हुन् ।

त्यसैगरी व्याण्डमा मनोज केसी (गितारमा),निराकर याकथुमबा(बेसमा) ,सञ्जय श्रेष्ठ (ड्रममा) लगाएत रहेका छन् । कोरोना महामारीपछि नेपालमा सञ्चालित यो कार्यक्रम ठूलो रहेको बताउँदै उत्साहजनक सहभागिता रहेको र बुटवलमा पनि भव्य रुपमा सफल हुने कार्यक्रमका म्यानेजर अनुप प्रधानले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।