ताजा अपडेट »

गर्मीले कष्टकर बन्दै जनजीवन, विशेष सतर्कता अपनाउन आग्रह

सोमबार, ०५ बैशाख २०७९, १६ : ०१
20 Shares

भैरहवा । मौसम पूर्वानुमान महाशाखाले बैशाख ५, ६ र ७ गते तराईमा तातो हावा (लु) चल्ने भएको कारण बिशेष सतर्कता अपनाउन अपिल जारी गरेको छ । देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्दा गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन शाखाले अनुरोध गरेको हो ।

यता भैरहवामा अन्य ठाउँभन्दा बढी नै गर्मी हुन थालेपछि जनजीवन कष्टकर बन्दै गएको छ । रुपन्देही लगायतका जिल्लाहरुमा गर्मी बढ्दै गएपछि स्थानियबासीहरुको दैनिकी कार्यमा समेत समस्या आएको छ । नयाँ वर्ष लागेदेखी नै दैनिक भैरहवाको अधिकतम तापमान ४० डिग्री नाघेको छ । जल तथा मौषम बिज्ञान कार्यालय, भैरहवाका अनुसार बैशाख १ गते ४० दशमलव २ डिग्री सेल्सियस, बैशाख २ गते ४० दशमलव ७ डिग्री सेल्सिय, ३ गते ४० दशमलव २ डिग्री सेल्सियस र बैशाख ४ गते ४० दशमलव ४ डिग्री सेल्सियस अधिकतम तापमान पुगेको थियो ।

त्यस संगै पश्चिमबाट चलेको तातो हावाले जनजिवन झन कष्टकर बनेको छ । पर्सि देखी बदली देखिएकोले १–२ दिन तापमान केही कम हुने जल तथा मौसम बिज्ञान कार्यालय, भैरहवाका प्रमुख सुजन सुवेदीले बताए ।

चार–पाँच दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएको छ । वायुमण्डलीय तापक्रममा वृद्धिसँगै तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर निस्किनसमेत समस्या उत्पन्न भएको छ । अत्यधिक गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाज समेत प्रभावित भएको छ । गर्मी बढे पनि यहाका शैक्षिक संस्थाले भने बिदा दिएका छैनन् ।

भिम अस्पताल भैरहवामा गर्मीका कारण अस्पतालमा आउने बिरामीको चाप पनि बढ्दै गएको छ । सामान्य अवश्थामा बिरामी आउने यस अस्पतालमा तुलनात्मक रुपमा अहिले गर्मीकै कारण डेढ गुनाको हाराहारीमा बिरामी आउने गरेको छन् । बिरामीमा पनि बढी प्रभावित बालबालिका देखिएका छन् । अस्पतालका बालरोग बिशेषज्ञ डाक्टर आरिफ हुसेनका अनुसार एक साता अघि लागेको टाईफाईड बिरुद्धको खोप लगाएका बालबालिकामा ज्वरो र झाडा पखालाको समस्या देखिएको बताए ।

अहिले अत्याधिक गर्मीका कारण बच्चाहरुको मुख सुक्ने, पानीको कमि हुने लगायतको समस्या देखिएको कारण उनिहरुलाई झोलिलो पदार्थ खान दिन आग्रह गरेका छन । हुसेनले बालबालिका मात्र नभई अन्यलाई पनि दिउसोको समयमा घाममा नहिन्न र अतिआवश्यक कामले हिन्न परेमा छाता प्रयोग गर्ने, लाम बाहुले लुगा लगाउने प्रशस्त झोल पदार्थ खान आग्रह गरे ।

गर्मी बढ्दा चिसो पेयपदार्थसँगै फलफूल जुसको व्यापार बढेको छ । मध्याह्न र अपराह्न सरकारी कार्यालयसहित बजारमा सर्वसधारणको उपस्थिति पातलिएको छ । स्थानिय बासिन्दाहरुको भनाई अनुसार बिगतको बर्षहरु भन्दा यस बर्ष बढी गर्मी बढेको हो । गर्मीले मानिस मात्र हैनन् पशुपंक्षीहरु समेत प्रभावित भएका छन् ।

गर्मी बढदै गए पछि भैरहवाको भिम अस्पतालले पनि कुनै पनि जोखिम संग जुध्न तयारी अवश्थामा रहेका जनाएको छ । अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष कुल प्रसाद न्यौपानेले पहिला भन्दा अहिले अस्पताल राम्रो हुदै गई रहेको बताए । गर्मीका कारण बिरामीको संख्या अझै बढन सक्ने भएकोले अस्पतालका सबै प्रशासनिक कर्मचारी र स्वास्थ्यकर्मिलाई झर्को नमानी सेवा दिन अनुरोध गरिएको उनले बताए । “हामीसंग अहिले नया आकस्मिक भवन पनि छ, अर्को तर्फ करिब १ सय २० शैया सञ्चालन गरि रहेको अवश्था छ ।” न्यौपानेले भने “यद्दपी अहिले पनि अस्पतलमा स्वास्थ्यकर्मि र कर्मचारीको कमि छ तै पनि जे जति छौ त्यतिबाट नै बढी भन्दा बढी सेवा दिन तत्पर छौं ।”

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा