ताजा अपडेट »

बाघ हेर्न लुम्बिनीको बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटक बढे

सोमबार, ०५ बैशाख २०७९, १३ : ४०
22 Shares

काठमाण्डौं । अहिले बाघ देखिने मौसम रहेकाले लुम्बिनी प्रदेशको बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यो मौसममा निकुञ्ज घुम्दा बाघ देखिने सम्भावना बढी हुन्छ । विदेशी पाहुनाले निकुञ्ज घुम्ने क्रममा बाघ देखेर फर्केका कारण खुसी देखिएको नेचर गाइड अनुराम चौधरीले बताए । “यो मौसममा प्रायः पर्यटकको जङ्गली जनावर हेर्ने इच्छा पूरा हुन्छ”, चौधरीले भने । 

बाघकै कारण पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा बर्दिया राष्ट्रिय निकुञ्ज परेको छ । निकुञ्जको मुख्य क्षेत्रमा घुम्ने तथा जङ्गल हिँड्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए । 

“चालू आर्थिक वर्षको हालसम्म नौ हजार बढी पर्यटकले निकुञ्ज घुमिसकेका छन्”, प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भने, “जसमध्ये सात देशका पर्यटकले निकुञ्ज घुमेका छन् ।”
    
आन्तरिक पर्यटकको सङ्ख्या पनि बढेको छ । कोभिड–१९ महामारीका कारण गत आर्थिक वर्षमा जम्मा आठ हजार पर्यटकले निकुञ्ज घुमेका थिए । चालू आवको चैत महिनासम्म १० हजारभन्दा बढी पर्यटकले निकुञ्ज घुमेका छन् । -रासस
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।