ताजा अपडेट »

बुटवल उपमहानगर उपप्रमुखमा कुँवरको दावी

आइतबार, ०४ बैशाख २०७९, १६ : ४०
2 Shares

बुटवल । स्थानीय तह निर्वाचन नजिकिँदैछ । आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि आचारसंहिता लागू भइसकेको छ । ५ वर्षको नेतृत्वका लागि हुने निर्वाचनका लागि विभिन्न दलहरुबाट उम्मेद्वार छनौट प्रक्रिया चलिरहेको छ ।

संघीय गणतान्त्रिक पद्धतिको दोस्रो नेतृत्वका लागि यतिबेला महिला नेतृहरु सक्रिय रुपमा अग्रसर छन् । संविधानतः हरेक स्थानीय तहमा उपप्रमुख महिला अनिवार्य गरेको छ । सोही अनुसार गत निर्वाचनमा अधिकांश तहमा महिलाहरु उपप्रमुख छन् । ती मध्ये हाल केहीले प्रमुखमा इच्छा प्रकट गरेका छन् । त्यसैगरी कैंयौं नयाँ महिला नेतृहरुले उपप्रमुखमा इच्छा तथा दावी गरेका छन् । यसै क्रममा देशकै ध्यान केन्द्रित हुने बुटवल उपमहानगरको प्रमुख र उपप्रमुखमा महिलाहरुको दावी रहेको छ । ती मध्ये मधुकला कुँवरको उपप्रमुखमा दावी रहेको छ । लामो समयदेखि नेकपा एमालेमा रहेर सकृय राजनीति गर्दै आएकी कुँवर शैक्षिक तथा समाजसेवीका रुपमा पनि परिचित छन्

को हुन् कुँवर ?
विद्यार्थीकाल अर्थात् २०४५ सालदेखि सक्रिय राजनीतिमा रहँदै आएकी कुँवर बुटवल–१३ बेलबासकी स्थायी बासिन्दा हुन् । स्वास्थ्य तथा शारीरिक शिक्षामा स्नाकोत्तर (एम.एड.) गरेकी कुँवरले प्रध्यापकका रुपमा लामो समयदेखि शिक्षण पेशा पनि गर्दै आएकी छन् । शिक्षा पेशा, समाजसेवीसँगै राजनीतिमा पनि राम्रो छवि बनाएकी कुँवर उपमहानगरको विकास, सुशासन तथा समृद्धिका लागि आफ्नो इच्छाअनुसार दावी गरेको बताउँछिन् ।

दर्जन बढी विभिन्न संघसंस्थामा आवद्ध भई काम गर्दै आएकी कुँवरलाई नेतृत्वको राम्रो र लामो अनुभव छ । वार्ड, नगर हुँदै अखिल नेपाल महिला संघ रुपन्देहीको अध्यक्ष समेत भएर नेतृत्व गरेकी कुँवर शिक्षा र राजनीतिसँगै सञ्चार तथा स्वास्थ्य क्षेत्रमा पनि आवद्ध छिन् । उनी नयाँ गाउँ उच्च मावि, महिलाहरुद्वारा सञ्चालित रेडियो मुक्ति, रेडियो लुम्बिनी, गौतमबुद्ध सामुदायिक मुटु अस्पताल लगाएतका दर्जनौं संघसंस्थाहरुमा आवद्ध रहि आएकी छन् ।

उनका श्रीमान अधिवक्ता कृष्ण बहादुर कुँवर पुर्व गा.वि.स.अध्यक्ष हुन् । उनका एक छोरा एम.बि.एस. अध्ययन गरी निजि पेशा गर्दैछन्, एक छोरा इन्जिनियर, छोरी नेपालबाट एम.फिल., एल.एल.बी.समेतको अध्ययन पूरा गरी हाल अष्ट्रेलियामा अध्ययनरत छिन् भने बुहारी बैंकर हुन् । पहिल्यैदेखि राजनीति र समाज सेवा गर्दै आएको र आगामी दिनमा सिङ्गो उपमहानगरको विकासमा काम गर्ने आफ्नो लक्ष्य रहेको उनी बताउँछिन् ।

‘राजनीति र समाजसेवा आय आर्जनका लागि हुनु हँुदैन ।’ भन्ने उनको मान्यता रहेको बताउँछिन् । उनी भन्छिन् ‘राजनीति निःस्वार्थ भावनाले गर्ने पवित्र कार्य हो । त्यसको लागि पहिला आफू तयार हुन पर्दछ । अध्यापन, समाजसेवा, राजनीतिक सक्रियता, पारिवारिक वातावरण, आर्थिक अवस्था लगाएत सबै पक्षबाट अब म पूर्ण समय उपमहानगर र यहाँका जनताका लागि दिन सक्छु भन्ने लागेर नै मैले मेरो पार्टीको तर्फबाट उपप्रमुखमा दावी गरेकी छु ।’

‘महिलालाई उपप्रमुख दिने नीति छ । तर, महिला भएर मात्रै भन्ने पक्कै होइन, म बुटवल बासी सामु परिचित छु । मैले अवसर नपाउने कारण र कमजोरी के छ र ?‘ उनले प्रतिप्रश्न गरिन् । पार्टीले आफ्नो योग्यता, दक्षता, अनुभव, क्षमता र योग्दानको मूल्यांकन गर्दै अवसर दिनुपर्ने उनको आग्रह छ । ‘मेरो योग्यता,नेतृत्वको अनुभव, समाज र पार्टीप्रतिको योग्दानको मूल्यांकन गर्दै पार्टीले अवसर दिएमा उपमहानगरसँगै पार्टीको पनि साख बढ्नेगरी काम गर्नेछु । यद्यपी उपप्रमुखको उम्मेदवार छनौटमा पार्टीको निर्णय सहर्ष स्विकार्दै आफ्नो दायित्व पूरा गर्नेछु ।’ उनले भनिन् ।

कुंवरसँगै उपमेयर पदको उमेद्वारका लागि वर्तमान वडाअध्यक्ष टंक पराजुली, खेमप्रसाद लुईटेल, ज्ञानु केसी र कल्पना थापाको नामलाई समेत एमाले बुटवल नगर कमिटि तथा जिल्ला कमिटिले सिफारिस गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।