ताजा अपडेट »

गठबन्धन दलबीच जुटेन सहमति

शनिबार, ०३ बैशाख २०७९, २० : २२
6 Shares

धनगढी ।  कैलालीमा चुनावी तालमेलका लागि गठबन्धन दलबीच छैठौं पटक बसेको बैठक पनि निष्कर्ष विहीन बनेको छ । केन्द्रमा पाँच दलीय गठबन्धनमै रहेको जसपा भने कैलालीमा गठबन्धनबाट बाहिरि सकेको छ । 

शनिबार बसेको चार दलबीचको बैठकमा सबै दलले आआफ्नो अडान कायमै राखेपछि सहमति जुट्न नसकेको हो । चुनावी तालमेलका लागि शनिबार बसेको बैठकमा नेपाली कांग्रेसले जिल्लाका १३ मध्य १०, नेकपा माओवादीले ६ र एकीकृत समाजवादीले चार स्थानीय तहमा दाबी गरेको थियो ।

कांग्रेसले यसअघि पालिका तोकेर आफ्नो दाबी भने गरेको थिएन । तर, शनिबार भने १३ मध्य धनगढी उपमहानगरपालिका सहित १० पालिका आफूले पाउनु पर्ने भन्दै दाबी गरेको हो ।
 
यसैगरी नेकपा माओवादी केन्द्रले पनि यसअघि दुई (कैलारी गाउँपालिका र भजनी नगरपालिका)मा मात्रै दाबी गर्दै आएकोमा शनिबारको बैठकमा भने ६ पालिकामा दाबी गरेको छ । 

एकीकृत समाजवादीले यसअघि पाँच पालिकामा दाबी गर्दै आएकोमा शनिबार चार पालिकामा दाबी गरेको बैठकमा सहभागि राष्ट्रिय जनमोर्चाका कैलाली अध्यक्ष जगतराज जोशीले बताए । 

उनका अनुसार जिल्ला तहबाट भागबण्डाको कुरो नमिलेपछि दलहरूको दाबीसहितको विवरण गठबन्धनको प्रदेश समितिमा पठाउने निर्णय गरिएको छ ।-न्युज कारखाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।