ताजा अपडेट »

तिलोत्तमाकी अमृता मृत्यु प्रकरण : घर बन्यो तनाबग्रस्त, माइती पक्षको प्रदर्शन जारी

शुक्रबार, ०२ बैशाख २०७९, ११ : ४४
10 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ जानकीनगरकी २९ वर्षीया अमृता टण्डन (खत्री) को मृत्यु बारेमा आज पनि बिरोध प्रदर्शन भएको छ । अमृताको बुधबार राति शंकास्पद मृत्यु भएपछि उनका माईती पक्ष तथा आफन्तले परिवारबाटै हत्या भएको भन्दै कारबाहीको माग गरेका छन् । कारबाही माग गर्दै उनको घरअगाडि प्रदर्शनहुँदा सो क्षेत्र तनावग्रस्त बनेको छ ।

बिरोध प्रदर्शनमा सम्भावित दुर्घटना रोक्नका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । बुधबार जानकीनगरमै माइती घरमा रहेकी अमृतालाई श्रीमान् प्रेम टण्डनले पटक पटक फोन गरेर घरमा बोलाएको एक घण्टा नबित्दै उनको मृत्यु भएको माइती पक्षको दाबी छ ।अमृतालाई परिवारकै सदस्यले हत्या गरेर छिमेक र प्रहरी कसैलाई खबर नगरी विष सेवन गरेको बहाना बनाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्याएको माइती पक्षको आरोप छ ।

अस्पताल पुर्याउँदा चिकित्सकले अमृताको पहिल्यै मृत्यु भइसकेको जानकारी गराएकाले उक्त घटना हत्या नै भएको अमृताका छिमेकी दाजु लक्ष्मण शर्माले दाबी गरे । ‘बुधबार करिब राति साढे ८ बजेसम्म अमृता माईतमै थिइन्, ज्वाईले तीन पटकसम्म फोन गरेर घर आउने भए आऊ नभए छोरालाई जे पनि हुनसक्छ भनेपछि घर गएकी थिइन् ।’–माइती पक्षले भने ।

घटनाको विवरण सुनाउँदै शर्माले भने ‘घर गएपछि साढे ९ बजे मलाई बचाऊ भनेर दाइलाई म्यासेज गरेकी रहिछ, दश नबज्दै मृत्यु भएको खबर आयो ।’ छोरीलाई घरमा सासु, ससुरा, श्रीमान्ले धेरै पहिलादेखि नै गालीगलौज र यातना दिंदै आएको अमृताकी आमा सावित्रा खत्रीले बताइन् । अमृताको सात वर्षअघि प्रेम विवाह भएको थियो । पटकपटक यातना पाएपछि गत भदौमा वडा कार्यालयमा निवेदन दिएपछि आइन्दा मिलेर बस्ने सहमति भएको थियो । मृतकका ५ वर्षीय छोरा छन् ।

मृतकका श्रीमान्, सासु र ससुरालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बताए । घटनाको सत्यतथ्य छानविन गरी दोषिमाथि कडा कारबाहीको माग गर्दै माईती पक्षले ईलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।