ताजा अपडेट »

धरहरा पुनर्निर्माणको काम ७८ प्रतिशत सम्पन्न, म्याद थप्ने तयारी

विहीबार, ०१ बैशाख २०७९, १७ : ११
4 Shares

काठमाडौं । धरहरा पुनर्निर्माणको काम अझैँ सकिएको छैन । गत वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका साथ धरहराको उद्घाटन गर्नुभएको थियो । तर, उद्घाटन भएको एक वर्ष बित्न लाग्दासमेत धरहरा पुनर्निर्माणको काम अझैँ सकिएको छैन । जसका कारण सर्वसाधारणको रहर चढ्ने ईच्छा पूरा हुन सकेको छैन । तर, त्यही धरहरा पुनर्निर्माण नसकिएपछि अहिले म्याद थपको प्रकृया अघि बढाइएको छ ।

पुनर्निर्माणको जिम्मेवारी लिएको ठेकेदार कम्पनी रमन कन्ट्रक्सनले समयमा काम पूरा गर्न नसक्दा अहिले घरहरा पुनर्निर्माणको म्याद थप्न लागिएको हो । जसको समय यही चैत्र मसान्तमा रहेकाले म्याद थपको प्रकृया अघि बढेको छ । अहिलेसम्म धरहरा पुनर्निर्माणको काम भौतिकतर्फ ७८ प्रतिशत काम सम्पन्न भएको रमन कन्ट्रक्सनका आयोजना प्रबन्धक सञ्जय नकर्मीले बताए।

रमन कन्ट्रन्सले अब डेढ वर्षको म्याद थपिदिए पुनःनिर्माणको सम्पूर्ण काम सकिने जनाएको छ । कन्ट्रक्सनका आयोजना प्रबन्धक नकर्मीका अनुसार आगामी डेढ वर्षका लागि म्याद थप गर्न सहरी विकास मन्त्रालयलाई पत्र पठाइएको छ ।

‘धरहरा पुनर्निर्माणको काम सम्पूर्ण रुपमा सक्न अझै डेढ वर्ष लाग्छ । त्यसैले हामीले डेढ वर्षका म्याद थपिदिन आग्रह गरेर पत्र पठाएका छौँ। उताबाट डेढ वर्ष त थप्न सकिन्न भनेर जवाफ पठाउनुभएको छ ,’नकर्मीले भने‘ त्यो भन्दा कम समय थप्न सकिने आशय आएको छ । ’ यद्यपि सर्वसाधारणले भने दशैँमा धरहरा चढ्न पाउने गरी निर्माण कार्यसञ्चालन गरिरहेको नकर्मीको भनाइ छ । ‘सर्वसाधारणले दशैँमा धरहरा चढ्न पाउने गरी निर्माण कार्य गरिरहेका छौँ,’ उनले भने ‘तर, बाहिरका अन्य काम सम्पन्न गर्न धेरै समय लाग्ने भएर डेढ वर्ष म्याद थपको माग गरिएको हो । ’

गत वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका साथ धरहराको उद्घाटन गर्नुभएको थियो । तर, उद्घाटन भएको एक वर्ष बित्न लाग्दासमेत धरहरा पुनःनिर्माणको काम अझैँ सकिएको छैन । जसका कारण सर्वसाधारणको रहर चढ्ने ईच्छा पूरा हुन सकेको छैन ।
यस्तै शहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाई ९ आवास तथा भवन० का आयोजना उपनिर्देशक कोषनाथ अधिकारीले म्याद थपको विषयमा कुराकानी भइरहेको बताउनुभयो । ‘रमन कन्ट्रक्सनले म्याद थपको लागि लामो समम माग गरेको छ । तर, त्यति लामो समय म्याद थप गर्न सकिने अवस्था छैन । दशैँसम्म काम सक्न आग्रह गरेका छौँ,’ अधिकारीले भने ।

तेस्रो पटकको म्याद थपको समय यही चैत्र मसान्तमा सकिने भएकाले म्याद थपको गृहकार्य भइरहेको उनी बताउँछन् । तर,म्याद थप गर्नुको कारण माग गरिएको अधिकारीको भनाइ छ । ‘धरहरा पुनर्निर्माणको काम सक्न चैत्र मसान्तसम्मका म्याद दिइएको थियो । तर नसकिएकाले म्याद थप्नुपर्ने भएको छ,’अधिकारीले भने ‘कन्ट्रक्सनको कमजोरीले म्याद थप्नुपर्ने देखिए हर्जनासहित म्याद थप गर्न सकिन्छ । दशैँसम्म म्याद थप्ने कि भन्ने छ तर निर्णय भएको छैन ।’

के के छन् बाँकी काम रु

धरहराको उत्तर–पश्चिमतर्फ म्युजियम राख्ने योजनानुसार हाल निर्माण कार्य चलिरहेको छ । पुनर्निर्माण भएको धरहराअघि केही संरचना सम्पन्न गर्न बाँकी नै रहेको प्रबन्धक नकर्मीले बताए । त्यस्तै, टुँडिखेलदेखि खिचापोखरी हुँदै जाने सडक, ल्यान्डस्केपिङ्, बगैँचा ,पार्किङलगायत पूर्वाधार निर्माण गर्न बाँकी नै रहेको नकर्मीको भनाइ छ । साथै, स्थानीयले कुल देवताको पुजा गर्ने ठाउँ र सुन्धारामा पानीको व्यवस्थापनको काम पनि बाँकी रहेको छ । ‘पुरानो धरहरा खुल्ला राख्ने वा अन्य विकल्प प्रयोग गर्ने भन्ने निष्कर्ष निस्किएको छैन यसकारण पनि काममा ढिलाई भएको छ,’ नकर्मी भन्छन् ‘सुन्धारामा पानी कहाँबाट ल्याउने र निष्कासन कसरी गर्ने भन्ने पनि टुङ्गो लागेको छैन ।’ विष्णु पाण्डेय /गोरखापत्र

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।