ताजा अपडेट »

जब टिपरसँग यात्रुवाहक बस ठोक्कियो...

बुधबार, ३० चैत्र २०७८, १९ : ३०
4 Shares

तनहुँ ।   तनहुँमा बुधबार दिउँसो लहरेपिपलबाट ग १ ख ३७४६ नम्बरको यात्रुवाहक बस दुलेगौँडा बजारतर्फ आइरहेको थियो । शुक्लागण्डकी नगरपालिका–८ लालिमस्थित ठुलढुंगामा यात्रुवाहक बसविपरीत दिशाबाट आइरहेको ग १ क ३९४० नम्बरको टिपरसँग ठोक्किएर दुर्घटना भयो ।  

सडकमा दुर्घटना भएको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरे । इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक ज्ञानबहादुर खड्का नेतृत्वको टोली दुर्घटनास्थलमा तत्कालै पुग्यो । दुर्घटनास्थल पुगेसँगै प्रहरीले सबैभन्दा पहिले टिपर चालकलाई नियन्त्रणमा लियो । प्रहरीसँगै नेपाल रेडक्रस सोसाइटी तनहुँको टोली पनि दुर्घटनास्थलमा पुग्यो । प्रहरी र रेडक्रसको टोलीले दुर्घटनामा घाइते भएका यात्रुहरूको उद्धार थाल्यो । सडक छेउमा त्रिपाल विछ्याएर उद्धार गरेकालाई राखियो । घाइतेहरू ऐया र आथ्थु गर्दै चिच्याउँदै थिए । त्रिपालमै राखेर घाइतेहरूको पूर्व प्राथमिक उपचार गरियो । स्थानीय तीनवटा एम्बुलेन्सको सहयोगमा घाईतेहरूलाई दुलेगौँडा बजारमा रहेको तनहुँ सेवा हस्पिटलमा पुर्‍याइयो ।

हस्पिटलमा ल्याएपछि घाइतेमध्ये दुई जनाको मृत्यु भयो । चारजना गम्भीर घाइते भए ।  पाँचजना सामान्य घाइते भए । तिमध्ये दुई जना सामान्य घाइते उपचारपश्चात डिस्चार्ज भए । दुर्घटनामा घाइतेको मृत्यु भएपछि आक्रोशित स्थानीयले टिपरमा आगजानीको प्रयास गरे । प्रहरी प्रशासन मुर्दावादको नारासमेत लगायो केहीबेर आक्रोशित भिडले । प्रहरीमाथि हातपातसमेत भयो । प्रहरीले सशस्त्र प्रहरी बलको सहयोगमा भिडलाई नियन्त्रणमा लियो । जिल्ला प्रशासन कार्यालयमा दुई पक्षबीच भएको वार्तामा घाइते र मृतक परिवारलाई उचित क्षतिपुर्ति दिने सहमति भयो । त्यसपछि क्रेनको सहायताले टिपरलाई हटाएर सडक सुचारु गरियो ।

बुधबार दिउँसो ठुलढुंगामा भएको यो दुर्घटना वास्तविक हाेइन, गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौँडाले सडक दुर्घटना व्यवस्थापन नमुना अभ्यास गर्दाको दृश्य थियो । वार्षिक कार्य योजनाअनुसार अभ्यास गरेको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द अधिकारीले बताए । बर्सेनि एक पटक प्रदेशको कुनै एक जिल्लामा यस्तै नमुना अभ्यास गर्दै आइरहेको उनले बताए । सर्वसाधरणमा सचेतना फैलाउनलाई नमुना अभ्यास गर्ने गरेको उनले बताए ।

‘दुर्घटनामा उद्धार गर्नलाई फिल्डमा पर्ने समस्याहरू, हामीले गर्नपर्ने समन्वयको पाटो र के कस्ता समस्याहरू रहन्छन् भनेर नियमन निकायलाई समेत सहभागी गराएर जानकारी गराउँछौँ । सर्वसाधरणलाई पनि दुर्घटना हुँदा कसरी उद्धार गरिन्छ ? के-के साधान र स्रोतको प्रयोग गरिन्छ भनेर देखाउनलाई नमुना अभ्यास हुन्छ’, उनले भने ।

सो अवसरमा बोल्दै गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे विकले दुर्घटनामा घाइतेको उद्धारमा प्रहरीले खेल्ने भूमिका प्रशंसनीय रहेको बताए । सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या बर्सेनि बढिरहेको उनले बताए । सवारी चालकले सवारी नियमको पालन नगर्दा अधिकांश दुर्घटना हुने गरेको उनको भनाइ छ । ‘मान्छेको जीवन सवारीमा चढेपछि चालकको हातमा हुन्छ । चालकले बडो जिम्मेवारीपूर्ण ढंगबाट चलाउनुपर्छ’, उनले अगाडि थप्दै भने, ‘कहिलेकाहिँ चालकले मदिरा सेवन गरेर चलाइदिने, जिम्मेवार नभइकन हेलचक्रयाइँ गरेर चलाइदिँदा सवारी दुर्घटनामा थुप्रैको ज्यान गएको छ ।’ 

सवारी चालकलाई लाइसेन्स लिँदाको बखतमा परीक्षा लिएझैँ बेलाबखतमा तालिम दिन जरुरत रहेको मन्त्री विकले औँल्याए । उनले सवारीको गति जति कम भए दुर्घटनाको सम्भावना उति नै कम हुने उल्लेख गरे । दुर्घटना भएपछि उद्धारमा प्रहरीसँगै सर्वसाधरणले पनि भूमिका खेल्नुपर्ने मन्त्री विकको भनाइ छ ।-न्युज कारखाना
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।