ताजा अपडेट »

बुटवलको धागो कारखानासहित सरकारी सम्पत्ति विक्री गर्ने तयारीमा सरकार

बुधबार, ३० चैत्र २०७८, १७ : ३७
6 Shares

बुटवल । सरकारले बुटवलको धागो कारखानासहित अन्य विभिन्न सरकारी संस्थानहरु विक्रि गर्ने तयारी गरेको छ । मुलुक चरम आर्थिक संकटमा गइरहेको समयमा सरकारले संस्थानहरुको अस्तित्वनै समाप्त हुने गरी सम्पत्ति विक्री गर्ने योजनामा रहेको छ ।

बुटवल धागो कारखाना र हेटौंडा कपडा उद्योगलाई एउटै प्योकजमा राखेर बिक्रि गर्ने तयारी भईरहेको छ । बुटवल धागो कारखानालाई पब्लिक प्राइभेट पार्टनरशीप (पीपीपी) मोडलमा चलाउन नसकिए कारखाना बिक्री गर्न सक्ने अध्ययन समितिको सिफारिसलाई आधार मानेर कारखाना निजीकरण गर्न लागिएको स्रोतले बताएको छ ।

उद्योग मन्त्रालयका सह–सचिव चन्द्रकला पौडेलको संयोजकत्वमा अर्थ मन्त्रालयका सह–सचिव रमेशकुमार केसी, अर्थकै कानुन सह–सचिव पाराश्वर ढुंगाना र अर्थकै उप–सचिव गगनबहादुर विक सदस्य रहेको बन्द रहेका सार्वजनिक संस्थान र उद्योग सञ्चालनको मोडालिटी सिफारिस गर्न गठित कार्यदलले सरकार आफैँले चलाउन नसके त्यस्ता संस्थान र उद्योगहरु नीजिकरण गर्न सुझाव दिएको थियो।

सोही सुझावलाई टेकेर अर्थ मन्त्रालय अहिले संस्थानहरु बिक्रिको तयारीमा जुटेको खुलेको हो। अध्ययन कार्यदलको सुझाव अनुसार अर्थले पहिलो चरणमा ६ वटा संस्थानहरु बिक्रि गर्ने छ।

नेपाल ओरिन्ड म्याग्नेसाइट प्रा.लि.को नाममा रहेको जग्गा सरकारको नाममा ल्याएर कम्पनी खारेज गर्न सकिने प्रस्ताव अध्ययन समितिले गरेको थियो। तर, अर्थ मन्त्रालयले यसलाई निजीकरण गर्ने तयारी सुरु गरेको छ । उक्त कम्पनीको सञ्चित नोक्सानी ४ अर्ब ५८ करोड छ ।

गोरखकाली रबर उद्योगमा भएका भौतिक सम्पत्ति भने बोलकबोलमा बिक्रि गर्न लागिएको छ । जनकपुर चुरोट कारखाना सम्भव भए निजी क्षेत्रलाई जग्गा भाडामा लगाएर चलाउन दिने र त्यो सम्भव नभए सम्पूर्ण सम्पत्ति नै बिक्रिको चलखेल सुरु भएको छ ।

विराटनगर जुटमिल्सलाई संग्रहालय बनाउन कार्यदलले सुझाव दिएको भएपनि निजी क्षेत्रका व्यवसायीहरु यो जुटमिल्स खरिद गर्न इच्छुक देखिएकाले यो पनि बिक्रि गर्ने दाउमा अर्थ मन्त्रालय तात्तिएको छ। यति मात्रै नभई, व्यक्तिलाई यो उद्योग बिक्रि गर्दा यसको अस्तित्व नै नरहने अवस्था आउन सक्ने जोखिम छ ।

प्रधान मन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा अर्थमन्त्री रहेका जनार्दन शर्माले सरकारी संस्थानहरु विक्रि गर्ने प्रस्तावलाई अघि बढाउने पक्षमा उभिएका छन् ।

नेपाली काँग्रेसमाथि सरकारी संस्थानहरु निजीकरण गरेर देशका उद्योगहरु बिक्रि बितरण गरेको आरोप लगाउने माओवादी केन्द्रकै नेता अर्थमन्त्री बनेपछि सरकारी उद्योग तथा कलकारखाना बेचबिखनमा लागेका हुन् । शर्मा पछिल्लो समय आर्थिक गतिबिधी, आर्थिक संकट र गभर्नर महाप्रसाद अधिकारीको निलम्वनका विषयमा बिवादीत बन्दै आएका छन् ।

सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले आयातमा गरिएको कडाईले राजश्व प्रभावित हुन सक्ने भएकाले सार्वजनिक संस्थानहरु बेचेर ११ खर्ब ८० अर्बको राजश्व लक्ष्य प्रभावित हुन नदिने तर्फ मन्त्रालयले सोचिरहेको खुलासा गरिदिएका थिए ।

‘सार्वजनिक संस्थानहरू पब्लिकमा बिक्री गर्ने लगायतका केही इनोभेटिभ आइडियाबारे पनि तयारी भइरहेको छ त्यसकारण इम्पोर्टले राजश्वमा पार्ने समस्याले धेरै असर गर्दैन ।’ अर्थसचिव मरासिनीले भने,

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।