ताजा अपडेट »

गुल्मेली सम्पर्क समाज रुपन्देहीद्वारा तिलोत्तमामा सराय नाच प्रदर्शन

शनिबार, २६ चैत्र २०७८, २१ : ४३
6 Shares

बुटवल । गुल्मेली सम्पर्क समाज रुपन्देहीले सराय नाच प्रदर्शन गरेको छ । समाजले शनिबार रुपन्देहीको तिलोत्तमास्थित वनवाटिकामा एक समारोहकाबीच सराय नाच प्रदर्शन गरेको हो । समाजका अध्यक्ष डा. नारायणप्रसाद पन्थको अध्यक्षता , प्रदेश सभासद तथा पूर्व मन्त्री लिला गिरीको प्रमुख आतिथ्य , तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेको विशिष्ट आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा २०७९ को क्यालेन्डरसमेत विमोचन गरिएको थियो।

कार्यक्रममा पञ्चबाजाको साथमा रोचक सराय नाच प्रदर्शन गरिएको थियो। प्रमुख अतिथि एवम् विशिष्ट अतिथिले सराय नाचेर सराय नाचको कार्यक्रमको उद्घाटन गरेका थिए ।उक्त कार्यक्रममा समाजका संस्थापक अध्यक्ष तथा संरक्षक ई. हिराबहादुर भलामी, सल्लाहकारहरू टिकाराम घिमिरे, ऋषि भण्डारी , खिमानन्द भट्टराई तथा समाजका सिनपा. शाखा भैरहवाका अध्यक्ष केशव ज्ञवाली लगाएतले बोल्दै जिल्लाबासीहरुबीचको एकता र सद्भावसँगै परम्परा र संस्कृतिको जगेर्नामा पनि ध्यान दिनुपर्ने बताए ।

प्रमुख अतिथि गिरीले गुल्मेली समाजको बुझौँ हाम्रो ‘रिती र थिती, जोगाऔं हाम्रो गौरवमय संस्कृति’को नारा लिएर स्थापना भएको यस समाजको स्थापनाको १७ औं वसन्त पार गर्दा निकै परिपक्क संस्थाका रुपमा स्थापित भएको भन्दै खुशी व्यक्त गरे ।

विशिष्ट अतिथि घिमिरेले गुल्मेली समाजले रचनात्मक कार्यसम्पादन गरेकै कारण तिलोत्तमानगरको महत्त्वपूर्ण पर्यटकीय स्थान भएको गुल्मेली गुरुयोजना रहेको शृङ्गेश्वरधाम र अब उद्घाटनको क्रममा रहेको ज्येष्ठ नागरिक मिलनकेन्द्र तथा गुल्मेली समाजको अगुवाइमा स्थापना भएको रेसुङ्गा अलौकिक वचत तथा ऋण सहकारी संस्थाको तिलोत्तमानगरपालिकाको गहना भएको बताउँदै प्रशंसा गरे ।

समाजले वृहत वनभोज कार्यक्रमको आयोजना गरी विभिन्न कार्यक्रम गरेको हो । गुल्मीबाट रुपन्देहीमा आई स्थायी र अस्थायी रूपमा बसोबास गरिरहेका गुल्मेली दाजुभाई तथा दिदीबहिनीबीच आपसी सम्बन्ध प्रगाढ बनाउँदै एक अर्काबीच परिचय आदानप्रदान गर्ने उद्देश्यले वनभोज कार्यक्रम आयोजना गरिएको वनभोज कार्यक्रमका संयोजक तथा संस्थाका प्रथम उपाध्यक्ष कृष्णप्रसाद भण्डारीले बताए ।

वनभोज कार्यक्रममा गुल्मेली सराय नाच प्रदर्शन, गुल्मेलीको पहिचान झल्किने क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम राखिएको संस्थाका अध्यक्ष डा. नारायणप्रसाद पन्थले बताए ।
कार्यक्रमको सञ्चालन महासचिव कृष्णप्रसाद पोखरेल तथा सहजीकरण सचिव पुरुशोत्तम पाण्डेले गरेका थिए भने सराय नाचको संयोजन सल्लाहकार यज्ञश्वर मरासिनी तथा सहकोषाध्यक्ष अर्जुन कुँवरले गरेका थिए ।

उक्त कार्यक्रममा होराइजन जी. बी. एस स्कुल तथा होराइजन कलेज ड्राइभरटोलका भाइबहिनीहरूले विभिन्न रोचक नृत्य प्रस्तुत गरेका थिए भने कवि सरु ज्ञवालीलगायतले कविता वाचनसमेत गरेका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।