ताजा अपडेट »

कोभिडपछि जुर्मुराउँदै नेपाली चलचित्र, धमाधम प्रदर्शनको मिति घोषणा

शुक्रबार, २५ चैत्र २०७८, ०८ : ४०
8 Shares

काठमाडौं। कोरोनाले ठप्प बनाएको क्षेत्रहरु विस्तारै लयमा फर्किएका छन् । सिनेमा हलमा चलचित्र प्रदर्शनमा आउने क्रम जारी नै छ । कोरोना संक्रमणको तेस्रो लहरको महामारीको प्रभाव न्यून भएसँगै नेपाली फिल्मको रिलिज मिति घोषणा पनि भइरहेका छन् ।

फिल्म वितरक करण श्रेष्ठका अनुसार कोरोनाकालमा धेरै चलचित्र बने र थन्किए । कुनै चलचित्र पूरै हलमा प्रदर्शन हुन सकेन । बीचमै रोक्नुपरेको थियो । कोरोनाका कारण रोकिएको नेपाली चलचित्र जस्तै ‘चपली हाइट‘ र ‘कठ्पुतली’ फेरि प्रदर्शनमा आए पनि सोचेजस्तो कमाई गर्न सकेनन् । दर्शकहरुले पुन प्रदर्शनमा आएका यी चलचिहरुलाई पत्याएनन् । त्यसपछि ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनमा आयो । श्रेष्ठका अनुसार यस फिल्मले चलचित्र क्षेत्रमा नयाँ माहोल बनायो । यो फिल्मले दर्शहरुलाई हलसम्म तान्न सफल भयो ।

कोरोनापछि फाल्गुन १३ गते ‘म यस्तो गीत गाउँछु’ प्रदर्शनमा आएको पहिलो नयाँ चलचित्र हो । कोरोनाका कारण घरमै थन्किएका दर्शकहरुलाई ‘म यस्तो गीत गाउँछु’ ले सिनेमा हलमा तान्न सफल भएको थियो । पुःन प्रदर्शनमा आएका चलचित्रले भन्दा ‘म यस्तो गीत गाउँछु २’ उत्कृष्ट कमाई गर्ने चलचित्र बन्यो ।

यस लगतै अरु चलचित्रहरु प्रदर्शनमा आउन सुरु भयो । ‘लप्पन छप्पन’, ‘आकासे खेती’ र ‘चिसो एष्ट्रे’ प्रदर्शन भयो । तर यी चलचित्रले सोचे जस्तो कमाई गर्न नसकेको फिल्म वितरकहरुको भनाई छ ।

नेपाली चलचित्र हिन्दी चलचित्रको मारमा पर्ने गरेको श्रेष्ठको भनाई छ । उनी भन्छन्, ‘चिसो एष्ट्र’ दर्शकले धेरै मन पराउनुभयो तर हिन्दी चलचित्र ‘आरआरआर’ प्रदर्शनमा आएपछि चिसो एष्ट्रेको व्यापार घटेको हो ।’ उनका अनुसार चललचित्रका कथा सन्देशमूलक हुनुपर्छ । ‘कथा राम्रो हुनेबित्तिकै दर्शक सिनेमा हलसम्म पुग्छन्’, उनी भन्छन्, चिसो एष्ट्रले चलचित्रमार्फत परिवर्तन ल्याउन खोजेको छ ।’

यस्तै, ‘ए मेरो हजुर ४’ नयाँ वर्षलाई लक्षित गरेर प्रदर्शनमा ल्याउने तयारीमा छ । यस बाहेक ‘मन्त्र’ ९वैशाख १५ गते०, ‘लक्का जवान’ ९वैशाख २३ गते०, ‘लाइफ इन एलए’ ९जेठ ६ गते०, प्रेमगञ्ज ९भदौ ३ गते० ‘चिसो मान्छे’ ९असार ३ गते० दशैंमा ‘छक्का पञ्जा ४’, तिहारमा ‘परस्त्री’ चलचित्र प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म वितरक किरण श्रेष्ठले जानकारी दिए ।
नेपाली फिल्मका निर्माता, निर्देशकले वितरकसँग सेट गरेको नेपाली फिल्मको रिलिज क्यालेन्डर यस्तो छ ।

ए मेरो हजुर ४
झरना थापाको निर्देशनमा बनेको चलचित्र ‘ए मेरो हजुर ४’ आगामी वैशाख १ मा प्रदर्शनमा आउने भएको छ । सञ्जय लामाको छायांकन रहेको फिल्मलाई सुनिलकुमार थापाले निर्माण गर्नुभएको हो । चलचित्रमा अभिनेता अनमोल केसी र सुहाना थापालाई देख्न सकिन्छ ।

मन्त्र
सौगात मल्ल अभिनित फिल्म ‘मन्त्र’ आउँदो १६ वैशाखबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ । हिमाली भेगको प्रेमकथामा आधारित फिल्ममा सौगातसँगै दीया पुनको अभिनय हेर्न सकिनेछ ।
खिलबहादुर गुरुङको निर्देशनमा बनेको यस चलचित्रमा बुद्धि तामाङ, नमिता घिसिङ, वीरबहादुर लामा, पासाङ टी शेर्पालगायत अन्य कलाकारको अभिनय छ । कार्यकारी निर्मातामा देवेन्द्र मानन्धर र निर्मातामा रविराज कार्की, सुरेश कार्की र शुभ श्रेष्ठ छन् । यस्तै, चलचित्रमा साम्तेन भुटियाको कथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन, मित्र डी गुरुङको सम्पादन र सुजिल कर्माचार्यको संगीत रहेको छ ।

लक्का जवान
हाँस्य कलाकार शिवहरि पौडेलको निर्देशनमा तयार पारिएको चलचित्र ‘लक्का जवान’ वैशाख २३ मा सिनेमा हलमा प्रदर्शनमा आउने तयारीमा छ । दिलीप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, सुशील पोखरेल, सरोज खनाल, अनुसुयषा श्रेष्ठ, सुरेन्द्र केसी, जयनन्द लामा, सविता गुरुङ, यमन श्रेष्ठ, विमला गिरीलगायतका कलाकारहरूको अभिनय रहेको फिल्मले पाका उमेरका मानिसहरूको कथा देखाइएको छ । फिल्ममा वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ अतिथि भूमिकामा देखिनुहुनेछन् ।

ध्रुव दत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुतिमा किरण केसी, दिलीप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माताका रहेको फिल्म ‘लक्का जवान’ को सह–निर्मातामा सुशील अर्याल, राजाराम पौडेल, राज केसी, सुरेन्द्र केसी, दिपेन्द्र खनियालगायत हनुहुन्छ । ‘आमा बंगलामुखी फिल्म प्रोडक्सन’ को ब्यानरमा बनेको ‘लक्का जवान’ स्वदेशसँगै विदेशमा पनि प्रदर्शनमा आउने भएको छ ।

‘लाइफ इन एलए’
अमेरिका र नेपालमा छायांकन गरिएको चलचित्र ‘लाइफ इन एलए’ जेठ ६ गतेबाट सिनेमा हलमा आउने भएको छ । सुर्य एन श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्रको गीतमा त्रिकोणात्मक प्रेमकथालाई प्रस्तुत गरिएको छ ।

यो चलचित्रमा गौरव पहारी, वुद्दि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकको साथमा जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको अभिनय छ । ब्यास इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई ब्यास बिस्सुले निर्माण गरेका हुन् । संसार अञ्जान सुवेदी कार्यकारी निर्माता रहेको चलचित्रमा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्माताको रुपमा छन् ।

प्रेमगञ्ज
‘प्रेमगञ्ज’ युनिटले भिडियोमार्फत ३ भदौमा प्रदर्शनमा आउने घोषणा गरेको हो । परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको फिल्ममा बेनिशा हमाल, तेज गिरी, सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, नरेश पौडेल, रश्मि भट्ट, गीता अधिकारीलगायतका कलाकारको अभिनय छ ।

स्पट व्यायका रूपमा लामो समय काम गरेका राजु फुयालको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा सञ्जय लामाको छायांकन रहेको छ ।

चिसो मान्छे
निर्देशक दीपेन्द्र के खनालको फिल्म ‘चिसो मान्छे’ आगामी असार ३ गते सिनेमा हलमा प्रदर्शन हुने भएको छ । चलचित्रमा श्रम बेच्न मलेसिया पुगेका नेपाली कामदारको मृत्यु भएपछि उनको शव नेपाल ल्याउन गरिएको संघर्ष देखाइएको छ ।

छक्का पञ्जा ४
नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा ४’ तिहारमा रिलिज हुने तयारीमा रहेको फिल्म वितरक किरन श्रेष्ठले जानकारी दिए। ‘छक्का पञ्जा’ सिरिजलाई दीपाश्री निरौलाले निर्देशन गर्दै आएका छन् । चलचित्रमा दीपाश्री निरौलासँगै दीपकराज गिरी, केदार घिमिरे, जीतु नेपाल र अन्य कलाकारको अभिनय देख्न सकिन्छ ।

परस्त्री
निर्देशक सुरज पाण्डेको निर्देशनमा बनेको परस्त्री आउँदो वर्ष ६ कात्तिकमा रिलिज हुने तयारीमा रहेको छ । नेपाली र हिन्दी गरी दुई भाषामा निर्माण गरिने फिल्म डिएस डिजिटलको व्यानरमा निर्माण गरिएको हो । फिल्ममा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिशा क्षेत्री, अशान्त शर्मालगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।-सनम महर्जन/गोरखापत्र

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।