ताजा अपडेट »

मधेशमा कांग्रेस नेता शेखर पक्षको निर्णय : गठबन्धन अस्वीकार

विहीबार, २४ चैत्र २०७८, २१ : १५
2 Shares

महोत्तरी । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले मधेश प्रदेशमा गठबन्धनका विरुद्ध जाने निर्णय गरेको छ ।

मधेश प्रदेशका नेता तथा कार्यकर्ताको मागलाई मध्यनजर गरेको भन्दै आज एक बैठक बसी संस्थापन पक्षको निर्णयलाई अस्वीकार गर्ने निर्णय गरेको हो ।

बर्दिबासस्थित गौतम होटेलमा बसेको बैठकले संस्थापन पक्षले संस्थापन इतरलाई भेदभाव गरेर अगाडि बढेको निष्कर्ष निकालेको छ ।

कांग्रेसले गठबन्धन नगरी एक्लाएक्लै लड्नुपर्ने कोइराला पक्षको जोड छ । 'यदि गठबन्धन गरेता पनि निर्णयको अधिकार तल्लो तहलाई दिनुपर्छ,' कोइराला पक्षधर नेता विनोद खनालले भने ।

बैठकमा ८ वटै जिल्लाका कोइराला पक्षधर नेताले संस्थापन पक्षले अन्याय गरेको बताएका छन् । चुनावी छलफलमा समेत संस्थापन इतरलाई सहभागी नगराई गोप्य छलफल गरेको नेताहरूको आरोप छ ।

'हामीलाई पाखा लगाएर नेपाली कांग्रेस अगाडी बढे आसन्न निर्वाचनमा ठूलो घाटा बेहोर्नुपर्छ,' प्रदेशका भौतिक पूर्वाधार मन्त्री तथा नेपाली कांग्रेसका नेता रामसरोज यादवले भने ।

संस्थापन इतर कांग्रेस प्यानलकै केन्द्रीय सदस्य चन्द्रमनी यादवले पनि संस्थापन पक्षले आफूहरूलाई पाखा लगाएर अगाडी बढेको गुनासो गरे ।

नेपाली कांग्रेसको अहिलेको स्तरलाई हेर्दा गठबन्धनको जरुरी नभएको बताउँदै नेता यादवले पहिलो चरणमा आफूहरूको निर्णयलाई सुझावकोरुपमा पेस गर्ने बताए ।

मधेश प्रदेश संस्थापन इतर कोइराला पक्षले निर्णयलाई अटेर गरे चुनावमा एक्लै लड्ने संकेत गरेको छ ।

स्थानीय तहमा समेत एक्लै लड्ने बताउँदै नेता रामसरोज यादवले संस्थापन पक्षले जबरजस्त गर्न खोजेको आरोप लगाए ।- विशाल बस्नेत/न्युज कारखाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।