ताजा अपडेट »

बुटवल उपमहानगरः २२ वर्षे विरासत जोगाउन एमालेबाट राना वा भट्टराई ?

बुधबार, २३ चैत्र २०७८, ०७ : १४
4 Shares

बुटवल ।  स्थानीय तहको निर्वाचनको मिति नजिकिंदै जाँदा मेयरका आकांक्षीहरुले आन्तरिक भेटघाटलाई तीव्र बनाउन थालेका छन् । लुम्बिनी प्रदेशका १०९ पालिका मध्ये बुटवल उपमहानगरपालिकामा यतिबेला धेरैको चासो देखिएको छ । यो नगरमा २२ वर्षदेखि एमालेले एकतर्फी कब्जा जमाउँदै आएको छ । 

बलियो संगठन भएको हिसाबले पनि बुटवलमा एमालेले चुनाव सहजै जित्ने आंकलन गर्न थालिएको छ । मेयरका लागि एमालेबाट बाबुराम भट्टराई र गोपाल रानामध्ये एकले टिकट पाउने संभावना बढेको छ । दुवै नेताले जिल्लादेखि केन्द्रसम्म लविङ तीव्र पारेका छन् । 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धन गरेर चुनाव लड्दा पनि एमालेले एक्लै बाजी मारेको थियो । एमाले बुटवल उपमहानगर कमिटीका निवर्तमान अध्यक्ष बाबुराम पन्थी भन्छन्, ‘बुटवलमा एमालेको संगठन बलियो छ, जुनसुकै गठबन्धन आएपनि एमालेले सहजै चुनाव जित्छ ।’

भट्टराई र रानामा को बलियो ?
अघिल्लो निर्वाचनमा पनि मेयरको दौडमा रहेको बाबुराम भट्टराईले आफू १३ वर्षको हुँदादेखि नै राजनीतिप्रति चासो राख्न थालेका थिए । पार्टीका नेताहरु भूमिगत कालमा उनी बसेकै भाडाको घरमा आउने जाने क्रम चल्दा उनमा पार्टीमा काम गर्ने इच्छा बढ्दै गयो । फलस्वरुप २०३६ सालदेखि उनी कम्युनिष्ट पार्टीमा आवद्ध भए । लामो समय उनले व्यवसाय सेक्टरमा रहेर काम गरे भने पार्टीको जिल्ला कमिटी हुँदै हाल प्रदेश कमिटी सदस्य छन् । नेपाल औषधि व्यवसायी संघका पूर्वराष्ट्रिय अध्यक्ष भट्टराईले पार्टीको केन्द्रीय स्वास्थ्य विभागमा रहेर पनि काम गरे । 

२०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका भट्टराई २०६२/६३ सालको आन्दोलनमा आकस्मिक राहत कोषका संयोजक थिए । त्यतिबेला संकलन गरिएको रकममध्ये बचत रकम केही समय अघि बुटवलको कोरोना अस्पताललाई प्रदान गरिएको थियो । त्यस्तै उनले बुद्धिजीवी परिषदमा रहेर पनि काम गरे । भट्टराई ३५ वर्षको उमरमै औषधि व्यवसायी संघको लुम्बिनी प्रदेश अध्यक्ष बनेका थिए ।  पार्टीमा धेरैले उनलाई बौद्धिक व्यक्तित्व भनेर चिन्ने गर्छन् । सबैसँग सन्तुलित व्यवहार गर्ने भएकाले विपक्षीको मत तान्न सक्ने क्षमता पनि भट्टराईमा रहेको पार्टीका कतिपय नेताहरु बताउँछन् ।                                   

गोपाल राना बुटवलका प्रतिष्ठित होटल व्यवसायी हुन् । मणिग्रामस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट र बुटवलको ड्रिम इन्टरनेशनलका सञ्चालक रहेका राना पार्टीका निवर्तमान जिल्ला उपसचिव र हालका प्रदेश कमिटी सदस्य हुन् । त्यस्तै उनी होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य समेत हुन् । युवा र जनजाती क्षेत्रबाट बलिया उम्मेदवारको रुपमा उनलाई चर्चा गरिएको छ । एउटा तप्काले भने भट्टराईलाई नै मेयरमा अगाडि सार्ने गरी भूमिका खेलिरहेको छ ।

बाबुराम भट्टराई

अघिल्लो निर्वाचनमा एमालेबाट शिवराज सुवेदी नगर प्रमुखमा विजयी भएका थिए । उनले कांग्रेसका खेलराज पाण्डेलाई २४ सय मतान्तरले मात्र पराजित गरेका थिए । त्यसबेला माओवादीको करिब ३५ सय मत थपिँदा कम मतको अन्तरमा विजयी भएको र अहिले माओवादीका धेरै नेता कार्यकर्ता नेकपा विभाजनपछि एमालेमा आएको र अहिले एमालेको मत गत निर्वाचनभन्दा धेरै हुने एमालेका बुटवलका नेता बाबुराम पन्थी बताउँछन् ।

बुटवलमा २०७४ सालको निर्वाचनयता १३ हजार भन्दा बढी मतदाता थपिएका छन् । ती थपिएका मत आगामी निर्वाचनका लागि निर्णायक बन्ने देखिएको छ । “कार्यकर्तापंक्तिमा बौद्धिक व्यक्तित्वलाई टिकट दिनुपर्ने मत धेरै छ, तर थपिएका मतदाताबारे पनि अध्ययन भैरहेको छ”–एमालेका एक युवा नेताले भने । भट्टराई पार्टी पंक्तिमाझ बौद्धिक व्यक्तित्वका रुपमा परिचित छन् भने उनको सन्तुलित भूमिकालाई धेरैले मन पराउने उनलाई नजीकबाट चिन्नेहरु बताउँछन् ।  यी दुईमध्ये एकले टिकट पाए एमालेका लागि चुनाव सहज हुने एमाले युवा नेता ध्रुव आचार्य बताउँछन् । 

कांग्रेसमा भने अघिल्लो निर्वाचनमा पराजित खेलराज पाण्डे दोहोरिने सम्भावना बलियो छ । उनी अहिले पार्टीको बुटवल नगर सभापति छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष रहेका कांग्रेस क्षेत्रीय सभापति हरि लम्सालले पनि मेयरको दाबी गरेका छन् । 

बुटवल एमाले उपाध्यक्ष विष्णु पौडेलको गृहनगर रहेको र कांग्रेस नेता बालकृष्ण खाँणले पनि यहाँको चुनावलाई प्रतिष्ठाको विषय बनाएकाले आगामी निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।    

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।