ताजा अपडेट »

श्रम बजारमा आवश्यकताअनुसार तालिम सञ्चालन गर्न रुपन्देहीका सरोकारवालाको जोड

मंगलबार, २२ चैत्र २०७८, १९ : २९
4 Shares

भैरहवा । भैरहवा गल्लामण्डीकी मोमीना खातुनका श्रीमान १५ वर्षदेखि वैदेशिक रोजगारको सिलसिलामा बाहिर थिए । कोभिडको समयमा घर आएका उनि कोभिड साम्य भए लगत्तै फेरी वैदेशिक रोजगारीमा फर्किए । तर, १५ वर्ष विदेश बसिसकेको भएपनि उनि ठगिए र अहिले वैदेशिक रोजगारी बिभागमा पठाउने मुद्दा लडिरहेका छन् । १ हजार १ सय तलब तोकेर बिदेश गएका उनले ८ सय मात्र पाएपछि न्यायको लागि सुरक्षित आप्रवासन (सामी) परियोजनाको सहयोगमा विभाग मार्फत मुद्दा लड्दै छन्।

मोमीनाका श्रीमान मात्र हैन, बैदेशिक रोजगारीमा जाने अधिकांश नेपालीहरु यसैगरी ठगिएका छन् । सामी परियोजनाकी परियोजना संयोजक सीता पन्थ भण्डारीका अनुसार बिदेश जानुभन्दा पनि गार्हो विदेशका फर्कनु रहेको छ । उनले परियोजनाको आप्रवासी श्रोत केन्द्रमा १ सय १५ वटा यस्ता केशहरु जम्मा भएको बताईन ।

पैसा लिएर विदेश नपठाएको, काम, तलबमा समस्या, मृत्यु अथवा बिरामी, नेपाल फर्कन चाहने, भिजिट भिषामा समस्या, जेल तथा उद्दार एवम सम्पर्कविहिन हुने जस्ता समस्या लिएर श्रोत केन्द्रमा सेवाग्राहीहरु आउने गरेको उनले बताईन ।
मंगलबार भैरहवामा परियोजनाको अर्ध बार्षिक समिक्षा कार्यक्रममा बोल्दै पन्थले बिदेश जाने युवायुवती अहिले पनि उपयुक्त सीप नलिई बिदेश जादा दुख पाउने गरेको बताईन । सहि सूचना र सहि सीपको अभावमा बैदेशिक रोजगारमा जाने नेपालीहरु बढी समस्यामा पर्ने गरेको उनको भनाई थियो ।

बैदेशिक रोजगारीमा रहेका वा त्यहाँबाट फर्किएका युवाहरु प्रमाणविहिन अवश्थामा रहेको कारण उनिहरुको मुद्दा सहजीकरणमा कठिनाई आउने गरेको उनको भनाई छ । यस्ता बिदेश जाने युवा युवतीका लागी परियोजनाले सूचनामा पहुँच, सीप÷तालिमको लागी सहजीकरण, न्यायमा सहजीकरण, मनोसामाजिक परामर्शको सिफारिस एवम् वित्तीय साक्षरता कक्षाहरु सञ्चालन गरि आएको बताइन्।

कार्यक्रममा बोल्ने वक्ताहरुले स्थानीय तहहरुले आफ्ना नागरिकलाई सके सम्म रोजगार दिने र नसके सीपमा दक्ष बनाउनु पर्ने धारणा राखे । बुटवल उपमहानगरपालिकाकी उप–प्रमुख गुमादेवी आचार्यले बुटवल उपमहानगरपालिको श्रम बजारको आवश्यकता अनुसार सीप दिन सुरु गरेको बताईन । उनले स्वदेशमै आवश्यक रहेको जनशक्ति र त्यस सम्बन्धि सीप पहिचान गरि सो सम्बन्धि तालीम दिन सके बैदेशिक रोजगारको समस्या धेरै हदसम्म कम हुने धारण राखिन ।

यस्तै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख एकराज विश्वकर्माले पालिकाहरुले “एक पालिका एक सीप” को अवधारणामा अगाडि बढ्नु पर्ने बताए । उनले युवाहरुलाई रोजगार दिने जिम्मा स्थानिय तहकै भएको र सोही अनुसार कार्यक्रमहरु बनाउनु पर्ने बताए ।

“पराम्परा पेशा ब्यवसायबाट नै मनग्यै आम्दानी गर्न सकिन्छ ।” विश्वकर्माले भने “यसैमा क्षमता अभिवृद्धि एवम नया जनशक्तिलाई आकर्षित हुने किसिमले कार्यक्रमहरु ल्याए स्वरोजगार बनाउन सकिन्छ ।”

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका, बुटवल उपमहानगर पालिका र कञ्चन गाउँपालिकामा सञ्चालित परियोजनाले १ सय १५ वटा केसहरु मध्ये २९ वटा समस्या समाधान गरेको जनाएको छ ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको अर्धबार्षिक समिक्षामा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, कञ्चन गाउँपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्री, सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्ले, तिलोत्तमा नगपालिका उपप्रमुख जागेश्वरी चौधरी लगायत परियोजना रहेको पालिकाहरुको प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।