ताजा अपडेट »

सुन्दर सुदुरपश्चिम, डिएर दिपायल–डोटी ! (फोटोफिचर)

सोमबार, २१ चैत्र २०७८, २० : ५५
71 Shares

यो हो दिपायल ! सुन्दर दिपायल–डोटी मेरो गाउँ, मेरो सहर । म जन्मेको, हुर्केको, पढेको, जान्ने बुज्ने मान्छे बनेको ठाउँ हो यो । आफ्नो ठाउँ सबैलाई प्यारो लाग्छ नै, त्यस्तै मलाई पनि। भाषा संस्कृति जस्ता थुप्रै कुरामा सिंगो सुदुर पश्चिमलाई नै प्रतिनिधि गर्ने ठाउँ हो यो, त्यस्तै प्राकृतिक सुन्दरताको बयान कति, अनेकौं छन् ।

पहाडको उपत्यकाको रुपमा रहेको यो सुन्दर ठाउँको बीचमा दार्चुलामा रहेको अपि हिमालबाट बझाङ्ग हुँदै बग्दै आएको सुन्दर सेती नदी रहेको छ । जो तल गएर कर्णालीमा जोडिन पुग्छ । यही सेती नदीले दिपायलको थुप्रै बस्तीहरु वारपार पारेको छ । वारी डोटी जिल्लाकै ब्यापारिक केन्द्रको रुपमा स्थापित पिपल्ला बजार, त्यसको माथि राजपुर । पारी दिपायल गाउँ र गाउँ बस्तीको टुप्पामा रहेको छ,डोटी जिल्लाको एक मात्र सुन्दर विमानस्थल ।

त्यस्तै उत्तरतिर डाडाँमा रहेको छ सिलगढी र सिलगढी माथि सुन्दर बगलेक अनि नजिकै शान्तिनगर । डोटीको इतिहास पल्टाउने हो भने यो एउटा सिंगो राज्य हो । यसको प्रमाण स्वरुप तत्कालिन दरबार अर्थात् कोटको थोरै संरचना अझै देख्न सकिन्छ,जसलाई अहिले कोट भैरबको नामले चिनिन्छ ।

इतिहासमा डोटी एउटा पश्चिमी नेपालको न्यायालय पनि थियो । जहाँ पश्चिम नेपाल जस्तै मुगु, जुम्ला आदि ठाउँबाट न्याय पाउन डोटी पुग्न पथ्र्यो । तत्कालिन सुदुर पश्चिम विकास क्षेत्रको राजधानी समेत रहेको यो ठाउँ अहिले भने डोटी जिल्लाको सदरमुकाममा मात्रै सिमित रहेको छ ।

नेपाल कै सुन्दर स्थान जसलाई भू–स्वर्गको रुपमा चिनिने खप्तड, यही बाटो भएर जाने गरिन्छ । विभिन्न धार्मिक स्थल, संस्कृति जस्ता थुप्रै विशेषता र सुन्दरता बोकेको ठाउँ हो, सुन्दर सुदुर पश्चिमको सुन्दर दिपायल डोटी । प्रत्यक्ष अनुभूति गर्न पक्कै घुम्न आउनु होला है त ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।