ताजा अपडेट »

लुम्बिनीमा महेन्द्र स्तम्भ, संरक्षणको अभावमा जिर्ण हुँदै

सोमबार, २१ चैत्र २०७८, १५ : ०८
2 Shares

भैरहवा । लुम्बिनी बिकास कोष भित्र मायादेवी मन्दिर भन्दा थोरै दक्षिण तर्फ छ महेन्द्र स्तम्भ । वर्तमान लुम्बिनीको परिकल्पनाको होस्टेमा हैसे थप्ने तत्कालीन राजा महेन्द्रले स्थापना गरेको उक्त स्तम्भ लुम्बिनी बिकास कोषको ध्यान नपुग्दा जिर्ण हुदै गई रहेको छ ।

मायादेवी मन्दिरको दक्षिण तर्फ रहेको महेन्द्र स्तम्भ केही बर्ष पहिला सम्म लुम्बिनी पुग्ने पर्यटकहरुको लागी आकर्षको केन्द्र तथा बिश्रामस्थल हुने गरेको थियो । आधुनिक लुम्बिनी बन्नु अघि पर्यटकहरु मायादेवी मन्दिर परिक्रमा गरे पछि त्यहि स्तम्भको वरिपरि निर्माण भएको कुर्सीमा बसेर थकाई मार्ने गरेका थिए ।

तर लुम्बिनी विकसित हुदै गएपछि राजा महेन्द्रले बनाएको उक्त स्तम्भ कोषको नजरबाट ओझेल हुदै गयो । र अहिले पुरानो एवम जिर्ण भई ढल्ने अवश्थामा पुगेको छ । स्तम्भमा जडान भएका संगमरमरहरु फुस्किरहेका छन, कुर्सीहरु पनि टुटफुट भएका छन् । विक्रम संवत २०२० बैशाख २५ गते बैशाख शुक्ल पुर्णिमा बुद्धजयन्तीको अवसर पारेर स्तम्भको उद्घाटन गरिएको थियो । तत्कालीन राजा महेन्द्रले लुम्बिनीको विकासमा महत्वपूर्ण भूमिका खेलेको कारण उनकै सम्झनामा सो स्तम्भ निर्माण गरि स्थापना गरिएको थियो ।

लुम्बिनी बिकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मेत्तेय) का अनुसार लुम्बिनीलाई लुम्बिनी बनाउन सुरुवातमा मुख्य भूमिका खेल्ने २ पात्र संयुक्त अधिराज्य महासंघका तात्कालिन महासचिव उथान्त र तात्कालिन राजा महेन्द्र हुन । उथान्तले लुम्बिनीलाई अन्तराष्ट्रिय शान्ति केन्द्र र पर्यटकीय केन्द्रको रुपमा विकास गर्नुपर्छ भनेर अवधारणा ल्याएका थिए । अवधारणामा सहमति जनाएर बलियो समर्थन दिने पात्र तात्कालिन राजा महेन्द्र नै थिए ।

उथान्तको विशेष पहल र सक्रियताले बौद्ध राष्ट्रहरुबाट कोष बृद्धि गरी लुम्बिनी अन्तराष्ट्रिय सहयोग समिति निर्माण भई प्रांरम्भिक कामहरु युनडिपी मार्फत अगाडि बढाइएको थियो । यसको निरन्तरता सरकारले नै दिएको थियो । राजा महेन्द्रले पनि विशेष चासो राख्ने र बेला बेलामा सवारी गर्ने भएकोले सम्झना स्वरुप २०२० सालमा स्तम्भ सहित बरिपरि बस्न मिल्ने गरी संरचना बनाइएको थिए । ६ दशक अघि लुम्बिनीमा खासै पर्यटक पनि घुम्ने नआउने र घुम्ने ठाँउ पनि खासै नभएकोले मायादेवी मन्दिरुको दक्षिण पश्चिममा रहेको बगैचा नजिक महेन्द्र स्तम्भ तयार भएको थियो । तात्कालिन राजा महेन्द्रकै स्मरणमा बनाइएको स्तम्भ सहितको संरचनालाई विकास कोषले ५८ वर्ष देखि वास्ता नगर्दा ऐतिहासिक संरचना ओझेलमा छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख समेत रहेका स्थानिय मनमोहन चौधरीले कोष भित्र रहेको स्तम्भ भएको कारण नगपालिकाल कार्यालयले त्यसको मरम्मत सम्भार गर्न नपाएको बताए । उनले सुरुमा त्यहा बुद्ध आदर्श मावि रहेको र त्यही राजा महेन्द्रद्वारा स्थापित स्तमभ पनि रहेको बताए । स्तम्भ जिर्ण हुनुमा प्रोफेसर केन्जो टाङ्गेले बनाएको गुरुयोजना पनि जिम्मेवार छ । गुरुयोजना अनुसार नै उक्त स्तम्भ अहिले मायादेवी मन्दिरको दक्षिणी भागमा परेको छ । यता तर्फ पर्यटकहरुको आगमन हुदैन ।

गुरुयोजना निर्माण भई संयुक्त अधिराज्य महासंघले लागु गरेपछि तत्कालिन सरकारले स्वीकृत गर्दा पनि यो संरचना पछाडी परेको महशुश गरे । उनले गुरुयोजनाको काम अघि बढाउदा अहिले विकास कोष भएको भवन क्षेत्रमा नयाँ लुम्बिनी ग्राम भएको क्षेत्रमा विस्थापित गर्नुपर्छ भनी पनि रिर्पोटमा उल्लेख गरेका थिए । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले राजा महेन्द्रद्वारा निर्माण गरिएको स्तम्भ संरक्षणका लागि प्रयास भइरहेको बताए । पुरानो धरोहरको रुपमा रहेको स्तम्भलाई त्यो ठाँउमा जिर्णोद्वार गर्न र पार्कको रुपमा सुन्दर बनाउनका लागि प्रक्रिया अगाडि बढेको उनले बताए ।

मायादेवी मन्दिरमा सम्राट अशोकले स्थापना गरेको अशोक स्तम्भलाई मात्रै लुम्बिनी बिकास कोषले संरक्षण गरेको र आफ्नै देशका राजाले स्थापना गरेको महेन्द्र स्तम्भलाई वेवास्ता गरेको भन्दै लुम्बिनीका स्थानियहरु अहिले कोष प्रति रुष्ट रहेका छन् ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा